Free songs
Home / सम्पादकीय / चाडपर्वमा यातायात व्यवस्थापन

चाडपर्वमा यातायात व्यवस्थापन

नेपालीहरुको महत्वपूर्ण चाड दशैं शुरु भइसकेको छ। भोलि फूलपाती भिœयाएपछि औपचारिकरुपमा दशैं शुरु हुनेछ। जसका लागि देशका विभिन्न स्थानमा घर फर्कने क्रम शुरु भएको छ। हवाइ र स्थल यातायातका टिकट केही दिनअघि नै बुक भइसकेका छन्। जसले गर्दा खासगरी राजधानी काठमाडौंबाट जिल्ला फर्कने यात्रुका लागि सकस देखिएको छ। दशैंलगत्तै अर्को महत्वपूर्ण पर्व तिहार पनि आउने भएकाले अब कम्तिमा एक महिनासम्म सार्वजनिक यातायात व्यवस्थापनको सवाल निकै महत्वपूर्ण मान्ने गरिन्छ। सबै यात्रुलाई गन्तव्यमा पु¥याउन सहज यातायात ब्यवस्थापन पहिलो आवश्यकता हो। त्यस्तै यात्रा सुरक्षित गराउनु अर्को आवश्यकता हो। चाडपर्वको बेलामा आवागमन सघन हुने र धेरै यात्रु राख्दा दुर्घटना बढ्ने गर्दछन्। यो खतरालाई मध्यनजर गरी सुरक्षित यातायातका लागि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था गर्नु आवश्यक छ। यही बेलामा अन्य क्षेत्रमा मूल्यबृद्धि गरिएजस्तै यातायातमा पनि भाडा बढी लिने, यात्रुलाई गन्तव्यमा नपु¥याउनेलगायतका समस्या रहन्छन्, यसमा पनि सबै पक्ष गम्भीर हुन जरुरी छ।

नेपालमा सार्वजनिक सेवामुखी नभई नाफामुखी मात्रै भएको यात्रुहरुको गुनासो रहने गर्दछ। व्यवसायलाई सेवामुखी बनाउन सेवाग्राहीलाई सम्मान गर्ने वातावरण सिर्जना गरिनुपर्छ। ग्राहक आफ्ना लागि होइन, मेरा लागि आएको हो भन्ने भावना हरेक सेवाप्रदायकहरुले देखाउनुपर्छ। होटल, ब्यापार, यातायातलगायत हरेक सार्वजनिक क्षेत्रमा सेवामैत्री ब्यवहार चाहिन्छ। आजको प्रतिस्प र्धाको जमानामा सेवाग्राहीले जोबाट पनि सेवा लिन सक्छ। त्यसो त यातायात क्षेत्रमा सिण्डिकेटको अन्त्य भइसकेको छ। पुराना समितिहरु सबै कम्पनीमा रुपान्तरण भइसकेका छन्। जुन कम्पनीले जुन रुटमा पनि गाडी सञ्चालन गर्न पाउने सुनिश्चितता भएको छ। सरकारले गरेको यो महत्वपूर्ण परिवर्तन हो। यो आर्थिक वर्षदेखि समितिहरु नवीकरण नगरिएपछि समितिहरु प्रालिमा बदलिएका छन्। संस्थाको नाम र स्वरुप बदलिनु ठूलो कुरा होइन, यसको मर्म सेवामा देखिनुपर्छ। सरकारले साँच्चिकै यातायात क्षेत्रको सिण्डिकेट हटाएको हो भने यसपटकको चाडपर्वमा विगतको भन्दा प्रभावकारी यातायात ब्यवस्थापन गर्न पहल गर्नैपर्छ।

दुर्घटना न्यूनीकरण गर्न र यात्रुमैत्री सेवाका लागि प्रहरीले विभिन्न अभियान चलाउँदै आएको छ। स्वयं यातायात प्रालिहरुले पनि केही न केही गतिविधि गर्दै आएका छन्। तर ब्यवसायीमा एउटा सोच के रहन्छ भने चाडपर्वको बेला नै धेरै यात्रु पाइने बेला हो र यहीबेला कमाउनुपर्छ। ब्यवसाय गर्दा कमाउनुपर्छ र ब्यवसायको पनि सिजन अवश्य हुन्छ तर क्षमताभन्दा बढी यात्रु चढाएर कमाउने सोचबाट अब यातायात व्यवसायी मुक्त हुनुपर्छ। भएको सिटभन्दा बढी यात्रुलाई लामो दूरीमा यात्रा गराउनुहुँदैन। ग्रामीण क्षेत्रमा पनि त अझ छतमा यात्रु चढाउने समस्या पनि उत्तिकै छ। प्रहरी इकाई नजिक पुग्दा यात्रु ओराल्ने र अरु ठाउँबाट छतमा यात्रु चढाउने पुरानो समस्या हो। प्रहरीले पनि हिडिरहेका यात्रु छतमा चढेका हुन् भन्ने थाहा पाएकै हुन्छ तर देखे नदेखेजस्तो गर्छ, यो समस्या अब हटाउनु जरुरी छ।

पूर्वी नेपालमा यो समस्या कम छ। प्रायः पूर्वतिर यात्रु सचेत हुन्छन्, ब्यवसायी जिम्मेवार हुन्छन् र सरकारी निकाय सतर्क हुन्छ। तर जति पश्चिम गयो, उति धेरै यातायात क्षेत्रमा बेथिति छ। चाडपर्वको बेलामा सबैलाई घर पुग्नुपर्ने हुन्छ। त्यसैले यात्रुले चाहिनेभन्दा बढी लचकता देखाएर यात्रा गर्छन्। जब समस्या आउँछ, त्यसपछि मात्रै यात्रु आत्तिने गर्दछन्। यात्रु स्वयं पनि आफूले पाउने सेवाप्रति सचेत हुनुपर्छ। अन्य वस्तुको पूरा तिर्दा पूरै सामान पाइन्छ तर गाडीमा पूरै भाडा तिर्दा पनि उभिएर यात्रा गर्नुपर्ने कारण के ? यसको एउटा कारण यात्रु सचेत नहुनु पनि हो। शहरी क्षेत्रमा सयौं गाडी चलेका छन्, दर्जनौं प्रालि खुलेका छन्, यो बेलामा यात्रुले आफूलाई जुन गाडीमा सहज हुन्छ, त्यसमै यात्रा गर्ने बानीको विकास गर्नुपर्छ। कम्तिमा एउटा प्रालिले नमूना सेवा दियो भने बाँकीमाथि पनि दबाब सिर्जना हुन्छ र सार्वजनिक यातायात व्यवस्थित हुन्छ। यसको शुरुवात अहिलेकै चाडपर्वबाट गरिनु आवश्यक छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top