Free songs
Home / सम्पादकीय / खुला दिसामुक्त राष्ट्र कार्यान्वयनको चुनौती

खुला दिसामुक्त राष्ट्र कार्यान्वयनको चुनौती

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सरकारले एक कार्यक्रम गरी खुला दिसामुक्त राष्ट्र घोषणा गरेको हो । दक्षिण एशियामा नेपाललाई पहिलो खुला दिसामुक्त देश घोषणा गरिएको छ । सन् २०११ देखि नेपालमा यो अभियान शुरू भएको थियो । शुरूमा कास्की जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । सन् २०३० सम्म नेपाललाई पूर्णसरसफाइ राष्ट्र बनाउने लक्षका साथ खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको हो । देशभरि ५६ लाख ६० हजार दुई सय १४ घरमा शौचालय बनेको सरकारको तथ्यांक छ । यही तथ्यांकका आधारमा सरकारले देशलाई नै खुला दिसामुक्त घोषणा गरेको जनाएको छ । यो घोषणा आफैमा चुनौतीपूर्ण अवसर हो । मुलुक सभ्यताको हिसाबले एक चरण अगाडि बढेको छ तर यसको कार्यान्वयनमा अहिले नै विश्वास गरिहाल्ने अवस्था छैन । यसको कार्यान्वयनका लागि सरकारलाई शंकाको सुविधा दिंदै कमजोरी आंैल्याउन र समस्या समाधान गर्न आम नागरिकले सहयोग गर्नुपर्छ ।

सरसफाइ सभ्यताको सूचक हो । त्यति मात्र होइन, यो मानव स्वास्थ्यको आधार पनि हो । कुनै बेला विकासको परम्परागत धारणा थियो । विकास भन्नेबित्तिकै भौतिक विकास मात्र बुझिन्थ्यो । तर सन् १९७० को दशकपछि विश्वमा विकासको प्रवृत्ति बदलियो । भौतिक र मानवीय विकासलाई समग्रमा विकास भन्न थालियो । भौतिक विकासबिना मानवीय विकास सम्भव नहुने र मानवीय विकासबिना भौतिक विकास दिगो नहुने निष्कर्षसहित दुबै विकास सँगसँगै अगाडि बढाउन विश्व समुदाय सहमत भयो । सोहीअनुसार मानव विकास सूचकांकको अवधारणा अघि सारियो भने मानव विकासलाई विकासको प्रमुख एक पक्ष मान्न थालियो । औसत आयु, प्रतिव्यक्ति आय र साक्षरतालाई मानव विकास सूचकांकको आधार मानियो । जसअनुसार आयु बढाउन मानिसको स्वास्थ्य अवस्था बढाउनुपर्ने निष्कर्षसहित त्यसका लागि सरसफाइलाई महत्वपूर्ण अंगको रुपमा लिइयो । विश्वभरि सरसफाइका लागि अभियानहरु चले । यही क्रममा नेपालमा पनि खुला दिसामुक्त अभियान चलाइयो ।

नेपालमा सन् २०११ मा खुला दिसामुक्त अभियान चलाइएको हो । झण्डै एक दशकको अनवरत प्रयासपछि मुलुक नै खुला दिसामुक्त भएको छ । दक्षिण छिमेकी मुलुक भारत संसारकै फोहोर देशमध्ये एक मानिन्छ । खुला शौचलाई धर्मको रुपमा लिने करोडौं मान्छे अहिले पनि भारतमा छन् तर पनि भारत खुला दिसामुक्त घोषणाको तयारीमा छ । यो एउटा सामाजिक जागरणको अभियान हो । सबै सूचक पूरा गरेर घोषणा गर्नुपर्छ, यो पनि ठीक छ तर घोषणा गरेर दबाब सिर्जना गरी कतिपय सूचक पछि पूरा गर्न पनि सकिन्छ । फोहोरका कारण मानव जीवनमा के कस्ता समस्या सिर्जना हुन्छन्, हामीले भोग्दै आएका छौं । केही वर्षअघि खुला शौचका कारण जाजरकोटमा एक वर्ष चार सयको ज्यान गयो । गत वर्ष दाङकै शान्तिनगरमा पनि फोहोर पानीका कारण एक हजार पाँच व्यक्ति विरामी परे । त्यसैले सरसफाइको अभियान कुनै लहर वा लहड मात्रै होइन, यो मानव जीवनसँग जोडिएको सवाल पनि हो ।

दाङमा यो अभियान नमूनाकै रुपमा अघि बढेको हो । नेपालमै बाह्रौं गाविसको रुपमा तत्कालीन ढिकपुर गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको थियो । विद्यालय र बालबालिको अगुवाइमा थालिएको अभियानबाट दाङमा सरसफाइको जागरण विस्तार गरिएको थियो । त्यसपछि यो जिल्लाब्यापीरुपमा विस्तार भयो । कमाण्डोफोर्सलगायतका नयाँ–नयाँ अभ्यासद्वारा दाङमा यो अभियानले पूर्णता पाएको हो । कतिपय सवालमा सेवा रोक्नुपर्ने र बल प्रयोग गर्नुपर्ने अवस्था पनि नआएको होइन । राम्रोका लागि केही समय अप्रिय निर्णय लिन पनि सरोकारवाला तयार हुनुपर्छ भन्ने यो अभियानले सिकाएको पाठ हो । अहिले सरसफाइ अभियान रोकिएको छ । जनप्रतिनिधिले शासन सत्ता हातमा लिइसकेपछि घोराही उपहानगरलगायतका केही स्थानीय तहमा सरसफाइको क्षेत्रमा नमूना काम भए पनि धेरै पालिका यसमा पछि परेका छन् । अब सन् २०३० सम्म मुलुकलाई नै खुला दिसामुक्त राष्ट्र बनाउने हो भने फेरि गाउँहरु जाग्नुपर्छ र देश जाग्नुपर्छ । यो एउटा सभ्यता र मानव स्वास्थ्यसँग जोडिएको अभियान भएकाले सबैले आफ्नै अभियानको रुपमा चलाउनुपर्छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top