Free songs
Home / सम्पादकीय / स्वस्थ बन्न जीवनशैली बदलौं

स्वस्थ बन्न जीवनशैली बदलौं

अस्ति आइतवार सेप्टेम्बर २९ का दिन संसारभर विश्व मुटु दिवस मनाइयो। यो दिवस मनाउनुको उद्देश्य मुटुरोगका कारण
ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको सत्यतालाई बाहिर ल्याइ आममानिसलाई जागरुक बनाउनु र बच्ने उपाय सिकाउनु नै हो। नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आइएको छ। बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको संख्या बढ्दै गएको छ। विश्वमा हरेक वर्ष मुटु सम्बन्धी रोगका कारण १७ लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक हुने गरेको छ। नेपालमा भने अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको बताइन्छ। एकातिर मुटु रोग बढ्दो अवस्थामा छ भने अर्कोतिर यहाँका विपन्न तथा ग्रामीण क्षेत्रका नागरिक आर्थिक अभाव र विकटताका कारणले उपचार पाउनबाट बञ्चित भएका छन्। नेपालमा नागरिकलाई सहज हुने ठाउँमा मुटु रोग उपचार सेन्टर नहुँदा पनि देशभरका नागरिक काठमाडौं पुगेरउपचार गराउन बाध्य छन्।

मुटु हाम्रो शरीरको एकदमै महत्वपूर्ण अङ्ग हो। हाम्रो शरीरमा धेरैजसो अङ्गहरु दुईवटा छन् तर मुटु यस्तो अङ्ग हो जुन एउटा मात्रै छ। मुटु चार मिनेट मात्रै बन्द हुने हो भने हाम्रो जीवन समाप्त हुन्छ। मुटुले हाम्रो शरीरमा रक्तसञ्चार गर्ने काम गर्छ। मस्तिष्कमा चार मिनेटभन्दा बढी समयसम्म रक्त सञ्चार भएन भने सबैभन्दा पहिला हाम्रो मष्तिष्क मृत्युको अवस्था आउँछ अथवा बे्रन मर्छ। त्यसैले गर्दा मुटु जीवन रहुञ्जेल कहिल्यै पनि नरोकिने अङ्ग हो। नागरिकले पनि यसरी नै बुझ्नुपर्ने हुन्छ।

विकसित देशमा मुटुरोगको संक्रमण बिस्तारै घट्दैछ भने हाम्रो जस्तो विकासोन्मुख देशमा यो भयानक हिसाबले बढ्दैछ। मानिसको मृत्यु जति मुटुरोगका कारण भएको छ त्यति अरू कुनै कारणबाट भएको छैन। त्यसैले मुटुरोगका बारेमा व्यापक सचेतना आवश्यक छ। मुटुरोग यसरी बढ्नुको कारण पत्ता लगाई सोही अनुसार कहाँ कसले के गर्नुपर्ने हो सोही अनुसार काम गर्नु जरुरी छ। मुटुरोग बढ्ने कारणको चर्चा हुँदा धुम्रपान गर्नु, उच्च रक्तचाप नियन्त्रण नहुनु, उच्च मधुमेह नियन्त्रण नहुनु, रगतमा चिल्लो पदार्थको मात्रा बढी हुनु, बढी चिल्लो र गुलियो खाने बानी हुनु, व्यायाम नियमित नगर्ने, फलफूल हरियो तरकारी आवश्यक मात्रामा नखाने, शरीरको तौल बढेकोप्रति वेवास्ता गर्ने र तनावग्रस्त जीवनशैलीलाई लिने गरिन्छ। त्यस्तै मुटुरोग बंशाणुगत कारणबाट पनि हुने गर्छ। वंशबाट आउने वंशाणुगत कारणलाई हामीले केही गर्न नसकौंला तर अरू सबै कारणलाई भने नियन्त्रण गर्न सकिन्छ। यो हाम्रो आफ्नै हातमा छ।

हामीहरुले केही कुरामा ध्यान दिने हो भने मुटु रोगबाट बच्न सकिने विज्ञहरुले बताउँदै आएका छन्। नियमित शारीरिक व्यायम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, ३५ वर्षभन्दामाथिकाले सुगर र कोलेस्ट्रोलको मात्रा नियमित चेकजाँच गरेर यी कुरालाई नियन्त्रणमा राख्न सकिए मुटु रोगको जोखिम कम गर्न सकिन्छ। त्यस्तै मुटुलाई स्वस्थ राख्न खानपानमा सुधार, व्यायाम, ध्रुमपान मद्यपानलाई तिरस्कार गर्न सकियो भने पनि मुटु रोगको जोखिमबाट बच्न सकिन्छ। आफैले जीवनशैली परिवर्तन गरेर स्वस्थता हासिल हुने कुरामा नागरिकहरु जागरुक हुन पनि जरुरी छ। प्रत्येक व्यक्ति र घरपरिवारले यी कुरालाई अनुशरण हुनु जरुरी छ। त्यस्तै स्वास्थ्य संस्थाका नियमित क्रियाकलापहरुमा मुटु रोगबाट बच्ने उपायकाबारे सूचना प्रवाह गर्ने, सचेतिकरणका अभियान चलाउन पनि उत्तिकै जरुरी छ। त्यस्तै मुटु रोगको सहज उपचार सेवालाई सबै नागरिकको पहुँचसम्म पु¥याउन सरकारी तत्परता अति आवश्यक छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top