Free songs
Home / सम्पादकीय / समृद्धिको आधार पर्यटन

समृद्धिको आधार पर्यटन

नेपाल सुनको डल्ला हो तर हामीले फलाम पनि बनाउन सकिरहेका छैनौं। प्रकृति र संस्कृति दुबैले भरिपूर्ण देश प्रायः कमै हुन्छन् तर नेपाल छ। प्राकृतिक र सांस्कृतिक विविधता हाम्रो पहिचान हो, थोरै मेहनत गर्ने हो भने यो समृद्धिको आधार पनि हो। प्राकृतिकरुपमा हिमाल, तालतलैया, वन पाखा र नदीहरुको मनोरम संगम हो नेपाल। सांस्कृतिकरुपमा दुई धर्मको त केन्द्र नै हो नेपाल। पूर्वीय दर्शन र हिन्दू धर्मको केन्द्र हो भने नेपालमै जन्मेका शान्तिका प्रतीक गौतम बुद्धले अघि सारेको दर्शन अहिले संसारभरि बुद्ध धर्मको रुपमा स्थापित भइसकेको छ। धार्मिकरुपमा दुई धर्मको केन्द्र हो भने जातीयरुपमा नेपालमा १२५ वटा जाति छन्, जसमा ६१ वटा जनजाति मात्रै छन्। हरेक जातिका आफ्नै संस्कृति छन्। धेरै जातजातिका त आफ्नै भाषा र धर्म पनि रहेका छन्। त्यसो त मूर्त संस्कृति हेर्ने हो भने पनि नेपालमा विभिन्न कालखण्डमा यस्ता कलाकौशल निर्माण गरिएका छन्, जसले संसारको ध्यान सजिलै तान्ने गर्दछन्।

यसरी समग्रमा प्रकृति र संस्कृतिको धनी देश पर्यटन प्रबद्र्धनका हिसाबले संसारभरिकै पाहुनाघर बन्नुपर्ने हो तर हामीले गर्नुपर्ने जति पर्यटन प्रबद्र्धन गरिसकेका छैनौं। हुन त नेपाल लामो समयसम्म राणाकालीन अन्धकारमा रह्यो। त्यसमा बन्द ब्यवस्था थियो, पर्यटन प्रबद्र्धनको कुनै योजना बन्ने कुरै भएन। त्यसपछि तीस वर्षसम्म रहेको निरंकुश पञ्चायती व्यवस्थाले पनि यसतर्फ खासै ध्यान दिन सकेन। नेपाली जनताको ठूलो संघर्षपछि खुला लोकतान्त्रिक व्यवस्था त स्थापना भयो तर लगातारको राजनीतिक अस्थिरताले गर्दा पर्यटन प्रबद्र्धनलाई देश विकासको आधार बनाउन सकिएन। हामी यति पछि पर्नुमा यो पृष्ठभूमिले अवश्य काम गरेको छ तर अब यो बहानाले पुग्नेवाला छैन। हामीसँगै स्वतन्त्रता प्राप्त गरेका भारत र चीन संसारका विश्व शक्तिसम्पन्न राष्ट्र बन्दै गरेको अवस्थामा अब हाम्रो प्रगतिको बाधक देखाउन कुनै पनि बहाना कामयावी छैनन्। त्यसैले अब निशर्त र कुनै बहानाबिना समृद्धिको यात्रामा हिड्नुपर्नेछ, त्यसको एउटा आधार पर्यटन नै हो।

हामीले भर्खरै विश्व पर्यटन दिवस पनि मनाएका छौं। अब वर्षको एक दिन पर्यटनमाथि छलफल गरेर पुग्दैन, हामीले पर्यटन प्रबद्र्धनलाई दैनिक जीवनसँग जोड्नुपर्छ। त्यसका लागि पूर्वाधार निर्माण नै मूल आधार हो। हामीले भएका सम्पदाको प्रचार पनि गर्नुपर्छ तर पर्याप्त सम्पदा भए पनि प्रचार आफै पनि हुन्छ। अन्तर्राष्ट्रियस्तरमा पर्याप्त प्रचार पनि हुन सकिरहेको छैन, यो साँचो हो तर त्योभन्दा पनि बढी हामीले पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनुपर्छ। पर्याप्त पूर्वाधार विकास हुने भने हो देशभित्रै आन्तरिक पर्यटकको संख्या पनि बृद्धि भइरहेको छ। नेपालमा पर्यटन संस्कृतिको विकास हुँदैछ। हरेक वर्ष चाडपर्वको बेला आन्तरिक पर्यटकको संख्या धेरै देखिने गरेको छ।

हामीले तेस्रो मुलुकबाट त ल्याउनुपर्छ नै, सबैभन्दा धेरै चीन र भारतबाट पर्यटक भिœयाउने योजना बनाउनुपर्छ। यी दुबै मुलुकमा एक÷एक अर्ब बढी जनसंख्या छ। एक प्रतिशत मात्रै हाम्रो देशमा आउँदा पनि दुबै देशबाट दुई करोड पर्यटक नेपाल आउँछन्। त्यसो त दुबै देशका नागरिकलाई आकर्षित गर्ने आधार पनि प्रशस्त छन्। त्यसका लागि चीनदेखि लुम्बिनीसम्म रेलमार्ग निर्माण गर्ने हो भने बुद्ध धर्मावलम्बी पर्यटकको बाढी नै लाग्नेछ। त्यस्तै भारतबाट पशुपतिसम्मको रेलमार्ग बनाउन सकियो भने भारतबाट हिन्दू धर्मावलम्बीहरु पनि ठूलो मात्रामा ल्याउन सकिने छ। अहिले पनि पर्यटक नआएका होइनन् तर हामीले उनीहरुलाई पर्यटन मानेर खर्च गराउने क्षमता नै विकास गरेका छैनौं। सामान्य उदाहरण हेर्दा भारताबाट दाङको बाटो हुँदै स्वर्गद्वारी जाने पर्यटक वर्षमा एक लाख बढी आउने गर्दछन् तर खै तिनीहरुबाट दाङले लिएको ? कम्तिमा उनीहरुलाई नेपालको सिमानाबाट पर्यटक बसको माध्यमबाट ल्याएर कम्तिमा एक रात चौघेराको मन्दिरमा, अर्को रात स्वर्गद्वारीमा वास वसाउने, अर्को रात पुनः चौघेरा ल्याएर राख्ने र अर्को दिन भारतीय सीमासम्म छाड्ने व्यवस्था गर्ने अनि जहाँ बस्छन्, त्यहाँ उनीहरुलाई खानबस्न खर्च गर्ने गरी कार्यक्रम बनाउने हो भने स्थानीय पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुग्ने छ। मुख्य कुरा हाम्रो सोच र योजना हो। वस्तुसंगत योजना, त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति र पूर्वाधार विकास पर्याप्त लगानी गर्ने हो भने हाम्रो समृद्धिको आधार पर्यटन बन्ने निश्चित छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top