Free songs
Home / सम्पादकीय / आँखा अस्पतालको सफलता

आँखा अस्पतालको सफलता

दाङमा धेरै हुनुपर्ने काम भएका छैनन्, यसमा आवश्यक चर्चा र बहस पनि हुने गरिरहेको छ। तर, कतिपय क्षेत्रमा खास चर्चा नभएर पनि धेरै काम भइरहेका छन्, जसको पनि अब चर्चा गर्नु जरुरी छ। दाङमा रहेर साविक राप्तीका लाखौं नागरिकलाई सेवा दिइरहेको एउटा संस्था हो राप्ती आँखा अस्पताल। जसले राप्ती क्षेत्रको अन्धोपन निवारणमा निकै ठूलो भूमिका निर्वाह गरिरहेको छ। शुरुमा तुलसीपुर रक्षाचौरबाट मात्रै सेवा दिइरहेको यो अस्पताल लमही र बहादुरगञ्जमा मात्रै विस्तार भएको छैन, यसले राप्ती क्षेत्रमा लाखौं जनतालाई अन्धोपनबाट बचाएको छ। त्यसो त यस क्षेत्रको अन्धोपनकै दरमा कमी ल्याइदिएको छ। आँखा गुमाएका हजारौंलाई उज्यालो धर्ती देखाएको छ भने हजारौंलाई त्यसको खतराबाट जोगाएको छ। अहिलेसम्म २५ लाख बढीको आँखा उपचार गरिसकेको यो संस्थालाई अझै प्रभावकारी बनाउने र यसका सेवा गाउँ–गाउँमा पु¥याउने काममा सरकारले आवश्यक सहयोग गर्नु जरुरी छ।

नेपालमा पहिलोपटक सन् १९८० र ८१ मा अन्धोपन सर्वेक्षण गरिएको थियो। जसमा नेपालभरि ०.८४ प्रतिशतमा अन्धोपन देखिएको थियो। नेपालको दरभन्दा राप्ती क्षेत्रको अन्धोपनको दर बढी देखिएको थियो। नेपालभरि ०.८४ प्रतिशतमा अन्धोपन देखिएकोमा राप्तीमा मात्रै ०.८७ प्रतिशतमा अन्धोपन बढी देखिएको थियो। यो समस्या विकराल बन्दै जाने देखिएपछि सुदूरपश्चिमको सेती र महाकालीका बासिन्दालाई लक्षित गरी नेपाल नेत्रज्योति संघसँग मिलेर गेटा आँखा अस्पताल स्थापना गरिेयो। त्यस्तै सन् १९८६ मा नेपाल नेत्रज्योति संघअन्तर्गत राप्ती आँखा अस्पताल स्थापना गरिएको थियो। शुरुमा नर्वेजियन सरकार र नर्वेका नागरिकले स्थापना गरेको गैरसरकारी संस्थाले अस्पताल सञ्चालनको पूरै सहयोग ब्यहोरे पनि अहिले सेवा क्षेत्र र विरामीको संख्या बढ्दै गएपछि यसको आर्थिक स्रोत देशभित्रै खोज्नुपर्ने दायित्व बढेर गएको छ।

अहिले दातृ निकायले ३० प्रतिशत सहयोग मात्रै गरिरहेका छन् भने देशभित्रै विभिन्न स्रोत खोजेर ७० प्रतिशत खर्च जुटाउनुपर्ने अवस्था छ। नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत अहिले यसको सेवा क्षेत्र पनि विस्तार भएको छ। घोराही, सल्यान, रुकुमपश्चिम, रुकुमपूर्व र सुलीचौरमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ भने कृष्णनगर र कोइलाबासमा पनि सेवा पु¥याइएको छ। सेवाक्षेत्र विस्तारका क्रममा रुकुमपूर्वमा नयाँ प्रयोग पनि गरिएको छ। रुकुमपूर्वको सिस्ने गाउँपालिकाले सम्पूर्ण खर्च आफै ब्यहोरेर यही अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरेको छ। सिस्नेले गरेको यो एउटा नयाँ प्रयोग हो। यो प्रयोग राप्ती आँखा अस्पताल र सिस्ने गाउँपालिकाका लागि मात्रै होइन, सम्पूर्ण स्थानीय तहका लागि सिक्नलायक काम पनि हो। यसरी नै हरेक पालिकाले आफ्नै बजेट र यस्तै स्थापित संस्थाको प्राविधिक सहयोगमा स्वास्थ्य सेवालाई गाउँ–गाउँसम्म लैजानसक्छन् भन्ने यो राम्रो उदाहरण हो।

खुशीको कुरा के छ भने राप्ती क्षेत्रमा अहिले अन्धोपन ०.१३ प्रतिशत मात्रै छ। सन् २०१० मा गरिएको अन्धोपन सर्वेक्षणले राप्तीमा ०.१३ मा अन्धोपन भएको देखाएको थियो। यो सर्वेक्षण गरिएको पनि झण्डै दश वर्ष भइसकेकाले यो संख्या पनि अहिले घटेको हुनसक्छ। ३० वर्षको बीचमा राप्तीको अन्धोपन ०.७४ प्रतिशत घट्नु निकै ठूलो उपलब्धि हो। त्यसका लागि राप्ती आँखा अस्पतालको ठूलो भूमिका छ। २५ लाख बढी राप्तीवासीको उपचार तथा एक लाख ६० हजारको मोतीबिन्दु उपचार सानो संख्या होइन। अब अन्धोपनलाई शून्यमा झार्ने प्रणसहित यो संस्थालाई थप आत्मनिर्भर बनाउने दिशातिर सरकारी योजनाको खाँचो छ। संघ, प्रदेश र स्थानीय सरकारले यसमा ध्यान दिनु जरुरी छ। स्थानीय सरकारले चाहे केही गर्न सक्छन् भन्ने सिस्ने गाउँपालिकाले देखाइसकेकाले पनि त्यसबाट सिक्दै बाँकी स्थानीय तह, प्रदेश र संघीय सरकारले आँखा उपचार तथा जनचेतनाका लागि आवश्यक कार्यक्रम बनाउन जरुरी छ। त्यसो त नेपाल सरकारले २०६७ सालमै स्वास्थ्य नीति बनाउँदा हरेक स्वास्थ्य संस्थाभित्र आँखा उपचार कार्यक्रम पनि समावेश गर्ने एकीकृत नीति अघि सारेकाले हरेक स्वास्थ्य संस्थाभित्र आँखा उपचार तथा आँखा सुरक्षाको चेतना अघि बढाउनु आवश्यक छ। आँखा छ त जीवन छ, आँखा छैन केही पनि छैन भन्ने मान्यताका साथ सबै तहका सरकारले यसमा ध्यान दिनु जरुरी भइसकेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top