Free songs
Home / सम्पादकीय / वैदेशिक रणनीतिप्रति सतर्कताको खाँचो

वैदेशिक रणनीतिप्रति सतर्कताको खाँचो

नेपाल भौगोलिक हिसाबले पनि सामरिक महत्वको देश हुँदै आएको छ। हाम्रो इतिहास गौरवपूर्ण नै छ। साम्राज्यवादी मुलुकहरुको हस्तक्षेप र औपनिवेशको हावाहुण्डरी चलेको बेलामा पनि नेपाल सार्वभौम मुलुकको रुपमा रहनसक्यो। यो बेलामा एकातिर जनताको वीरतापूर्ण संघर्षको धारा थियो भने अर्कोतिर बेलायतसँग झुक्ने शासकीय प्रवृत्ति नभएको होइन। त्यतिबेलाको सन्दर्भमा बेलायतसँग कायम गरिएको सम्बन्धलाई पनि कूटनीतिकै रुपमा हेर्न सकिन्छ किनकि कम्तिमा मेचीमहाकालीको सिमानामै भए पनि नेपालको अस्तित्व कायम रहन पुग्यो। आधुनिक नेपालको शुरुवात भएयता राष्ट्रवादलाई सधंै सौदावाजीको अस्त्र मात्रै बनाइयो। कतिले राष्ट्रवाद र प्रजातन्त्रलाई विपरीत तत्वको रुपमा स्थापित गर्न पनि नखोजेका होइनन्। जनताको अधिकारको कुरा गर्दा राष्ट्रवाद ओझेलमा पर्ने र राष्ट्रवादको कुरा गर्दा प्रजातान्त्रिक अधिकार अपहरण गर्ने समस्या निरन्तर चलिरह्यो। जसले गर्दा राष्ट्रवाद र प्रजातन्त्रलाई फरक–फरक धाराको रुपमा स्थापित गरियो। यसकै लुकामारीमा देश लामो समयसम्म अन्धकारमा रहन बाध्य भयो। सोझो अर्थमा भन्दा एउटा धाराको नेतृत्व राजाले गरेजस्तो देखिने र अर्को धाराको नेतृत्व राजनीतिक दलहरुले गरेजस्तो देखिने अवस्था बन्यो। अब राजनीतिकरुपमै एउटा धाराको अन्त्य भइसकेपछि स्वतः यी दुई मान्यताको पनि अन्त्य भएको छ। अब मुलुक राष्ट्रवाद र जनताको लोकतान्त्रिक अधिकारलाई एउटा पाटोमा अघि बढाउने युगको शुरुवात भएको छ, अहिले बिभिन्न शक्तिकेन्द्रहरुको चालबाजीबाट बच्न निकै सावधानी र सतर्कतापूर्वक अघि बढ्नुपर्ने बेला आएको छ।

सोभियत संघको विघटनसँगै विश्वमा पूँजीवादी विचार राख्नेहरुको बर्चश्व स्थापित हुनपुग्यो। उनीहरुले इतिहासको अन्त्य भएको, विश्व एकल ध्रुवीय बनेकोलगायतका बिश्लेषण गर्न थाले। यसमा केही सत्यता पनि देखिन्थ्यो तर पछिल्लो समय विश्व कुनै सन्दर्भमा बहु र कुनै सन्दर्भमा दुई ध्रुवीयजस्तो देखिने गरेको छ। अहिले पनि विश्व राजनीति र अर्थतन्त्रको नेतृत्व पूँजीवादीहरुले नै लिइरहेका छन् तर पछिल्लो समयमा उदाएको चीनसँग उनीहरु निकै त्रसित हुन थालेका छन्। जसले गर्दा पश्चिमा मुलुकहरु चीनलाई घेराबन्दी गर्न भारत र नेपालजस्ता सामरिक महत्व बोकेका देशको भूमि प्रयोग गर्न चाहन्छन्। वैचारिक मान्यताका हिसाबले भारत पूँजीवादी कित्तामै भए पनि पश्चिमाहरु उसँग पनि पूर्ण विश्वस्त छैनन्। कुनै बेला पश्चिमाहरु दक्षिण एशियासम्बन्धी नीति निर्माण र कार्यान्वयनमा भारतको भर पर्ने अवस्था थियो। अब त्यो स्थिति पनि कमजोर बन्दै गएपछि पश्चिमाहरु फरकढंगको गठबन्धन बनाउने प्रयत्नमा देखिन्छन्। खासगरी अमेरिकाले बेला–बेलामा चीन बिरोधी गठबन्धन अघि सारेर नेपाल, भारतलगायतका देशलाई पनि प्रयोग गर्न चाहन्छ। चाहे विमस्टेक सन्दर्भको होस्, चाहे त्यो इण्डो प्यासेफिकको सैन्य अभ्यासको सवालमा होस्, अमेरिकाले लागु गर्न खोजेको रणनीति प्रष्ट नै छ।

नेपालमा अहिले बामपन्थी सरकार छ। देशभित्र जनजीविकाका सवालमा बामपन्थी सरकारले गर्नुपर्ने जति काम गर्न सकिरहेको छैन, यसको पर्याप्त आलोचना पनि भइरहेको छ। तर, मुलुकको सार्वभौमिकता र स्वाभीमानका पक्षमा जुन निर्णय लिंदै आएको छ, यो निकै सकारात्मक छ। सरकारले घोषितरुपमै कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा भाग नलिने घोषणा यसअघि नै गरिसकेको छ। अहिले भर्खरै नेपाल भ्रमणमा आएका चीनका विदेशमन्त्रीसँग पनि सत्तारुढ दलका नेताहरुले यसप्रकारको प्रतिबद्धता व्यक्त गरेका छन् र त्यसपछि पनि यसमा निरन्तर अडान लिंदै आएका छन्, यो सकारात्मक छ। केही समयअघि भेनेजुयला प्रकरणमा पनि नेपालको मतलाई विवादास्पद बनाउन खोजिएको थियो। नेपाल, भारत, चीनलगायतका देशहरुले यसमा समान धारणा बनेपछि पश्चिमा धेरै खेल्न पाएनन्। अहिले पुनः चीनप्रतिको नेपालको धारणालाई लिएर विवाद सिर्जना गर्न खोजिएको छ। यसमा पनि दृढताका साथ आफ्नो अडान कायम राख्नुपर्छ। भूगोलले देश सानो ठूलो हुनसक्छ तर सार्वभौमिकताका हिसाबले संसारका सबै देशहरु समान हुन्, कुनै पनि देशको विदेश नीति अन्य देशले निर्देशित गरेर होइन, आफै निर्माण गर्न सक्छौं र त्यसमा हामी अडिग छौं भनेर नेपालले स्पष्ट सन्देश दिइरहेको छ, यो दृढता कायम राख्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top