Free songs
Home / सम्पादकीय / आत्महत्या रोक्न एकीकृत प्रयासको खाँचो

आत्महत्या रोक्न एकीकृत प्रयासको खाँचो

आज आत्महत्या रोकथाम दिवस। हरेक वर्ष १० सेप्टेम्बरका दिन विश्वभर आत्महत्या रोकथाम दिवस मनाइन्छ। यो दिवस मनाउनुको उद्देश्य आत्महत्या रोकथामका लागि आमरुपमा सचेतना अभिबृद्धि तथा प्रभावकारी काम गर्न सरोकारवालाको ध्यानाकृष्ट गर्नु हो। सन् २००३ देखि विश्वभर यो दिवस मनाउन शुरु गरिएको हो। सन् २०११ सम्म संसारका ४० देशमा मात्र मनाइने आत्महत्या रोकथाम दिवस अहिले संसारका लगभग सबै देशमा मनाइन्छ। सन् २००३ मा पहिलो पटक आत्महत्या रोकथाम दिवस मनाउँदा विश्व स्वास्थ्य संगठनले आत्महत्यालाई रोक्न सकिन्छ भन्ने नारा दिएको थियो। यो वर्ष अर्थात् सन् २०१९ का लागि विश्व स्वास्थ्य संगठनले आत्महत्या रोकथामका लागि सँगसँगै काम गरौं भन्ने नारा दिएको छ। आत्महत्या रोकथाममा सबैको सहकार्य नाराका साथ नेपालमा आज यो दिवस मनाइदैछ। यी नाराको सन्देश आत्महत्या रोकथाम गर्न सबै मिलेर काम गर्नुपर्ने आवश्यकताबोध गराउँदै सम्बद्ध सबै पक्षलाई आह्वान गर्नु हो।

आत्महत्याका सन्दर्भमा विश्व स्वास्थ्य संगठनले देखाउने गरेका तथ्यांक भयावह छन्। विश्वमा प्रतिवर्ष आठ लाख मानिसले आत्महत्या गर्छन्। त्यस्तै विश्वमा मानिस मर्ने अनेक कारणहरूमध्ये आत्महत्या प्रमुख १५ औं कारणमा पर्छ। नेपालकै तथ्यांक हेर्दा पनि स्थिति चिन्ताजनक नै छ। वर्षेनि करिब पा“च हजारले आत्महत्याका कारण ज्यान गुमाउँछन्। दैनिक औसत ११÷१२ जनाले आत्महत्या गर्छन्। यसले प्रत्येक दुई घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको देखाउँछ। विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने मुलुकमध्ये नेपाल सातौं मुलुकमा पर्दाे रहेछ। महिलाको आँकडालाई हेर्दा त तेस्रो स्थानमा पर्न आउँछ। नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा पाँच हजार एक सय २४ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७४÷०७५ मा पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए। दाङको कुरा गर्ने हो भने जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७५÷०७६ मा दुई सय सात जनाले आत्महत्या गरेका थिए। जुन निकै ठूलो आँकडा हो।

मान्छेले आत्महत्या किन गर्छन् ? यकिन कारण भन्न नसकिए पनि पारिवारिक कलह, गरिबी, प्रेममा धोका, व्यावसायिक असफलता, आर्थिक लेनदेन, मानसिक रोग, उदासीनता, लागूऔषधको प्रयोग दीर्घरोग, हिंसालगायतका कारणले आत्महत्या गरेको देखिने गरेको छ। आत्मसम्मानमा आँच आउने परिस्थितिमा व्यक्तिले आफैलाई सिध्याउने निर्णय गर्न पुगेको देखिन्छ। शारीरिक, मानसिक, सामाजिक तथा व्यावहारिक अनेक कारणहरुले व्यक्तिलाई आत्महत्यासम्म पुग्ने अवस्था आउने गरेको छ। आर्थिक, सामाजिक कारणले कैयौंले आत्महत्याको दुःखद बाटो समातेका हुन्छन्। आत्महत्याको प्रयास अथवा आत्महत्या नै गर्नेमध्ये ९५ प्रतिशत व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक समस्या हुन्छ भन्ने कुरा अध्ययनहरूले देखाएका छन्। त्यसमध्ये धेरैजसो व्यक्तिहरूमा आत्महत्याको कारण उदासीनता वा डिप्रेसन हुने गर्दछ। बाँकी पाँच प्रतिशत व्यक्ति भने कहिलेकाहीँ एक्कासी तनावपूर्ण अवस्थामा पनि आत्महत्याको प्रयास गर्दछन्। यो मानसिक रोगले नभएर अचानक हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ।

आफैलाई सिध्याउने अवस्थासम्म व्यक्तिलाई पु¥याउने हाम्रा सामाजिक तथा अर्थराजनीतिक मूल्यमान्यता पनि कम दोषी छैनन्। आत्महत्या रोकथामको चर्चा गरिरहँदा यी सबै पक्षहरुमा व्यापक बहस हुनु जरुरी छ। त्यस्तै आत्महत्या रोकथामका लागि तत्काल यसलाई अपराधको रुपमा हेरेर मात्र सम्भव छैन। आत्महत्या व्यक्ति स्वयंका कारणले मात्र होइन, सामाजिक, शारीरिक तथा मानसिक समस्याले निम्त्याउँछ भन्ने कुरा सबैले मनन गर्नु जरुरी छ। आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नु जरुरी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top