Free songs
Home / सम्पादकीय / नेपालले आफ्नो हितलाई केन्द्रमा राख्नुपर्छ

नेपालले आफ्नो हितलाई केन्द्रमा राख्नुपर्छ

चिनिया दूतावासले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीहरुले नेपालको विकासमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आह्वान गरेका छन्। यसैगरी विभिन्न कार्यक्रमहरुमार्फत विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्ने काम बेला–बेलामा भइरहेको छ। तर पनि विदेशी लगानी नेपालमा यथोचितरुपमा भित्रिन नसकेको अवस्था छ। कर्मकाण्डी शैलीको बोलावटबाट विदेशी लगानी भित्रिन नसक्ने कुरा जो कोहीले पनि बुझ्न सक्ने विषय हो।
नेपालको विकासमा चिनिया चासो निर्विवादरुपमा छ। विश्वको सबैभन्दा ठूलो आर्थिक शक्ति बन्ने दौडमा अगाडि बढेको चीनबाट नेपालले प्रशस्तै फाइदा लिन सक्ने सम्भावना छ। तर नेपालले विगतमा भएका सहमतिलाई कार्यान्वयनमा लैजाने कामलाई प्राथमिकतामा राख्न नसक्दा चिनियाँ पक्ष त्यति विश्वस्त बन्न नसकिरहेको अवस्था छ। त्यसैले विश्वासको वातावरण बलियो बनाउने गरी नेपाली पक्ष लाग्न सक्नुपर्छ।

आगामी असोजको अन्तिम साता चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुने सम्भावना छ। लामो प्रतीक्षापछि चिनिया उच्च नेतृत्वले नेपाल भ्रमण गर्न लागेकोले यो भ्रमण हाम्रा लागि महत्वपूर्ण अवसर हुन सक्छ। हिंजो आइतवारदेखि चिनिया परराष्ट्र मन्त्री वाङ यीले शुरु गर्नुभएको नेपाल भ्रमण राष्ट्रपति सीको प्रस्तावित भ्रमणलाई सफल र फलदायी बनाउने उद्देश्यका साथ भएको हो। चिनियाहरु राम्रो तयारी र योजना बनाएर मात्र काममा हात हाल्छन् भन्ने कुरालाई हामीले गहिरो गरी बुझ्न जरुरी छ। नेपालले विगतको जस्तो योजना बनाउने, सहमति गर्ने तर कार्यान्वयनमा नलैजाने प्रवृत्ति अब कम्तिमा दोहो¥याउनु हुँदैन। यसलाई नसच्याउँदासम्म विश्वासको वातावरण निर्माण हुन सक्दैन।

दुई वर्ष अगाडि नेपाल र चीनबीच भएको ‘बेल्ट एण्ड रोड एनिसिएटिभ’ (बीआरआइ) को समझदारीपत्रमा हस्ताक्षर भए पनि यससम्बन्धी कार्यादेश र कार्ययोजना तय भएको थिएन। चिनिया परराष्ट्रमन्त्रीको भ्रमणको अवसरमा यससम्बन्धी ठोस योजना तय हुने आशा गरिएको छ। बीआरआइअन्तर्गत छनोट भएका नौवटा परियोजनाहरुको लगानीको स्वरुप तथा कार्यादेश वाङ यीको भ्रमणका क्रममा निश्चित हुने भएको छ। यसले चिनिया पक्षलाई नेपालप्रति विश्वस्त बन्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

चिनिया दूतावासले शनिवार आयोजना गरेको कार्यक्रम र आइतवार चिनिया परराष्ट्रमन्त्रीको आगमनले नेपाल चीनको उच्च प्राथमिकतामा रहेको प्रष्ट हुन्छ। चिनिया राष्ट्रपतिको भ्रमणको पूर्वतयारीका रुपमा परराष्ट्रमन्त्रीको नेपाल आगमन भएकोले नेपाल र चीनबीच राज्यस्तरमा हुने र गरिने महत्वपूर्ण विषयहरु मन्त्रीस्तरीय भ्रमणमा नेपालले खुलस्त र प्रष्टरुपमा राख्न सक्नुपर्छ। चिनिया राष्ट्रपतिको भ्रमण छोटो अवधिका लागि हुने भएकोले पनि यसो गर्नु जरुरी छ। दक्षिणको छिमेकीबाट नाकाबन्दीको पीडा भोगेकोले नेपाल र चीनबीच भएको व्यापार र पारवहन सन्धिलाई कार्यान्वयनमा लैजान जरुरी छ। बरु चिनिया पक्षलाई नेपालमाथि परेको अप्ठेरो र जटिलताबारे विश्वस्त गराएर सहुलियत र सुविधा प्राप्त गर्ने कुरामा विशेष आग्रह गर्न सक्नुपर्छ। कतिपय अवस्थामा नेपालले लिनुपर्ने र लिन सकिने सहयोग समेत प्राप्त गर्न नसकेको देखिन्छ।

नेपाल एक चीन नीतिप्रति सधैं प्रतिबद्ध रहँदै आएको छ। चीनको स्वाधीनता, राष्ट्रिय अखण्डताप्रति सदैव सम्मान राख्दै उसको राष्ट्रिय सुरक्षाप्रति संवेदनशील रहेकै कारण चीन नेपालको भरपर्दो मित्र बन्न सकेको छ। तीब्र आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढिसकेको चीनबाट नेपालले ठूलो लाभ लिनसक्नेढंगले कुरा अगाडि बढाउन सक्नुपर्छ। नेपालले विशेष गरी प्रविधि, पर्यटन र लगानीको क्षेत्रमा ठोस योजना प्रस्तुत गर्न आवश्यक छ। विज्ञान र प्रविधिको क्षेत्रमा चीनले गरेको प्रगतिबाट नेपालले धेरै सिक्ने ठाउँ छ। यसैगरी संसारकै ठूलो आर्थिक केन्द्र र सर्वाधिक जनसंख्या भएकोले चिनिया पर्यटकहरुलाई नेपाल भिœयाउन सकिएमा यहाँको पर्यटन क्षेत्रले छलाङ मार्न सक्छ। सरकारी र निजी क्षेत्रबाट थुप्रै चिनिया लगानी नेपालमा भिœयाउन सकिने सम्भावना छ। त्यसैले चिनिया परराष्ट्रमन्त्रीसँग नेपाली पक्षले राष्ट्रिय हितलाई केन्द्रमा राखेर ठोस र मूर्तढंगले आफ्नो कुरा राख्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top