Free songs
Home / सम्पादकीय / डेंगुको जोखिमप्रति सतर्क बनौं

डेंगुको जोखिमप्रति सतर्क बनौं

३० वैशाखमा सुनसरीको धरानमा देखिएको डेंगु रोग अहिले देशभरि फैलिएको छ। यही रोगबाट एक मन्त्रीसहित ६ हजार बढी विरामी परेका छन्। चितवनमा मात्रै एक हजार बढी विरामी फेला परेका छन्। यसकै कारण तीनजनाको निधन भइसकेको छ। यो रोग नियन्त्रणबाहिर जाने खतरा पनि उत्तिकै छ। विगतमा डेंगु देखिए पनि एक महिनाभित्र हराउने गरेकोमा अहिले भने चार महिनासम्म कम भएको छैन अझ बढिरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका आधा जनसंख्या डेंगुको जोखिममा रहेको जनाएको छ। जलवायु परिवर्तनका कारण लामखुट्टेलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज हुँदा डेंगु फैलिने क्रममा रहेको उसको भनाइ छ। विश्वभरि झण्डै तीन अर्ब ९० करोड जनसंख्या यसमो जोखिममा रहेको छ। नेपालमा पनि सन् २००४ मा पहिलोपटक देखिएको डेंगु अहिले विस्तार हुँदै पहाडी जिल्लामा समेत पुगिसकेको छ। विश्वलाई हरेक वर्षजस्तो नयाँ–नयाँ रोगले चुनौती दिएकोमा अहिले इबोला भाइरसभन्दा डेंगु बढी चुनौतीपूर्ण बनेको विज्ञहरुको भनाइ छ।

गत वर्ष भारतमा मात्रै एक लाख जनता यो रोगबाट संक्रमति थिए। यही क्रम बढ्ने हो भने नेपालमै यो वर्ष दश हजार बढी प्रभावित हुने देखिएको छ। त्यसैले यसको रोकथाम अहिलेको राष्ट्रिय आवश्यकता बनेको छ। सर्वप्रथम सन २००४ मा नेपालमा यसको पहिचान गरिएको थियो। त्यसपछि सन् २००६ मा ९ वटा जिल्लामा विस्तार भएको यो रोग लामखुट्टेको विस्तारसँगै देशब्यापी विस्तार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो रोगलाई महामारीकै रुपमा लिने निष्कर्षसमेत निकालिसकेको छ। यो रोगको कारक तत्व डेंगु भाइरस हो, जसका चारवटा प्रजाति छन्। पोथी लामखुट्टेको टोकाइबाट एक संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछ। रोग लागेपछि धेरै टाउको दुख्ने, आँखाको गेडी तथा टाउकाको पछिल्लो भाग दुख्ने, शरीरमा साना साना बिबिरा निस्कने, मुख, नाक, गि“जाबाट रक्तश्राव हुने, हाडजोर्नी तथा मांशपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, रक्तश्राव हुने, शरीरमा नीलडाम देखा पर्ने, बेहोश वा अचेत हुने, बढी थकाइ लाग्ने एवं बेचैन हुने आदि लक्षण देखापर्ने गरेका छन्।

यस्ता लक्षण देखा पर्नेबित्तिकै विरामीलाई अस्पताल पु¥याएर उपचार शुरु गर्ने व्यवस्था मिलाउनु जरुरी छ। त्यसका लागि स्वयं विरामी, परिवार, छिमेकी र समुदाय जागरुक हुनु आवश्यक छ भने सरकारले देशभरिकै स्वास्थ्य संस्थामा उचित उपचारको व्यवस्था गर्नु आवश्यक छ। रोग जाँचका लागि सरकारले पनि केही सहज बनाएको छ। यसअघि यो रोगको जाँचका लागि आरडिटी किट आवश्यक पर्ने भनिएकोमा अब सामान्य रगत जाँचबाट पनि यो रोग पत्ता लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। चिकित्सकहरुको सल्लाहअनुसार व्हाइट ब्लड सेल काउन्ट, प्लेटलेट काउन्ट र हेमाटोक्रिट परीक्षण गरी रोगको निदान तथा उपचार गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसरी सामान्य रक्तजाँच जुनसुकै ल्यावमा पनि हुने भएकाले शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आवश्यक छ।
मूलतः डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै ठूलो उपचार हो। त्यसका लागि आफू बसेको ठाउँ सफा राख्नेदेखि समुदायमा सचेतना जागृत गर्ने काम पनि उत्तिकै जरुरी छ। बेला–बेलामा सरकारले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाउने गर्दछ। अहिले यो अभियान निकै सान्दर्भिक बनेको छ। सामान्य लापरवाहीले समुदायमा यो रोगको महामारी फैलने खतराप्रति आम नागरिक सचेत हुनुपर्ने आवश्यकता छ। लामखुट्टे अत्यधिक हुने ठाउँमा सरसफाइ र लामखुट्टे मार्ने अभियानदेखि संक्रमणको खतरा देखिएका ठाउँमा निःशुल्क शिविर सञ्चालन गरेर पनि यसको जोखिम न्यूनीकरण गर्नु पर्दछ। त्यसका लागि स्थानीय सरकारहरुले ध्यान दिनु जरुरी छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top