Free songs
Home / समाचार / प्रमुख समाचार / प्रजिअ आफै सडकमा:अति भएपछि राजमार्गमा रातो माटोको टालो

प्रजिअ आफै सडकमा:अति भएपछि राजमार्गमा रातो माटोको टालो

दशरथ घिमिरे

देउखुरी, राजमार्गमा बढेको खाडलमा टालो हाल्दा हाल्दै बजेट सकियो। बीचमै रोकियो टालो हाल्ने काम। नर्तीबाट शुरु भको टालो हाल्ने काम सुन्डबरीसम्म पुग्यो। तर सुन्डबरीबाट त्यो काम बजेट अभाव भएको भन्दै रोकियो। हरेक दिन राजमार्गमा खाडल थपिदै गएका छन्। मृत्यु मार्ग बनिरहेको छ पूर्व–पश्चिम राजमार्ग। खाडलमा परेर दैनिकजसो सवारी दुर्घटना भइरहेका छन्। शुक्रवार भने राजमार्गमा फरक दृश्य देखियो। विहान ९ बजेदेखि नै नर्तीदेखि अर्जुन खोलासम्मको राजमार्गमा बढेका खाडल पुर्न अभियान नै चल्यो।

एक सय बढी जनशक्ति यिनै खाडल पुर्न कस्सियो। कसैको हातमा फरुवा छ। कसैको हातमा बोरा। अनि टिप्परबाट रातो माटो र गिट्टी ओसार्दै खाडल पुरिदै छ। त्यसपछि रोलरले माटो र गिट्टी दाबेर लेबल मिलाउछ। यस्तो कार्य शुक्रवार राजमार्गमा दिनभरि चल्यो। राजमार्गमा खाडल पुर्ने, मर्मत गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयको हो। तर सम्बन्धित निकायले प्रभावकारी रुपमा ध्यान नदिदा शुक्रवार भने सुरक्षा निकायले राजमार्गको खाडल पुरेका छन्।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल आफै राजमार्गमा बढेका खाडल पुर्न फिल्डमा खटिनुभएको हो। ‘राजमार्गमा बढेका खाडल पुर्ने जिम्मेवारी सडक कार्यालयको हो। तर समयमा काम हुन सकेन। दुर्घटना बढ्यो। खाडलमा परेर हुने तत्कालको दुर्घटना रोक्न रातो माटो र ग्राभेलले खाडल पुरेका छौं’– प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो– ‘ठूला खाडलहरु पुरिएका छन्। यसले तत्कालको समस्या समाधान गर्छ। दीर्घकालीनरुपमा समस्या समाधान गर्न अलकत्राले पिच गर्नैपर्छ।’

अलकत्राको टालो हाल्न नसके पनि सुरक्षा निकायले रातो माटोले खाडल पुरेका हुन्। ‘राजमार्गमा खाडल बढेर दुर्घटनाको जोखिम उच्च छ। केही हदसम्म दुर्घटना कम गर्न माटोको टालो हाल्नुपरेको हो’– वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले भन्नुभयो– ‘राजमार्गमा दुर्घटना हु‘दा धेरैको अकालमा ज्यान जाने, अंगभंग हुने समस्या छ।’

जिल्लाभरका निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले राजमार्गमा परेका खाडलमा रातो माटो हालेर पुरेका हुन्। सडक कार्यालयका कर्मचारीसमेत रातो माटोले टालो हाल्ने कार्यमा सहयोग गरे। एक सय बढी मानिस परिचालन गरेर प्रमुख जिल्ला अधिकारीले राजमार्गमा बढेका खाडल पुर्ने कार्यको नेतृत्व लिनु भएको हो। ‘धेरै पटक आवाज उठाइयो। कसैले सुनेन। प्रमुख जिल्ला अधिकारी ठूलो टोली लिएर राजमार्गमा खटेको देख्दा खुशी लाग्यो’– दीपक परियारले भन्नुभयो– ‘खाडल पर्दा बित्तिकै पुर्ने परिपाटी भएमा यस्तो दुःख हुने थिएन।’

यता राजमार्गमा टालो हाल्न ठेक्का लगाइएको बजेट सकिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीले जानकारी दिनुभएको छ। शान्ति निर्माण सेवा एण्ड ट्रेडर्सले राजमार्गमा बढेका खाडलमा टालो हाल्न ८० लाखको ठेक्का पाएको थियो। बर्खा अघि र बर्खा पछि काम गर्दा बजेट सकिएको दाबी गरिएको छ।

निजामती दिवसको सन्दर्भ

निजामती सेवा दिवस २०६७ को अवसरमा जिल्ला प्रशासन कार्यालय दाङ, निजामती कर्मचारीहरुको आधिकारिक टे«डयुनियन दाङ, नेपाल निजामती कर्मचारी युनियन (संघ), नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दाङ, लमही नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको सहभागितामा खाल्डाखुल्डी पुर्ने अभियान चलाइएको हो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top