Free songs
Home / सम्पादकीय / बैंकिङ सुरक्षाका लागि थप संवेदनशीलताको खाँचो

बैंकिङ सुरक्षाका लागि थप संवेदनशीलताको खाँचो

सात वर्षअघि दाङको तुलसीपुरस्थित एक बैंकमा लुटपाट भयो। बैंक अफ काठमाण्डुको तुलसीपुर शाखामा झण्डै दुई करोड लुटपाट भयो। नाटकीयढंगबाट भएको भनिएको उक्त लुटपाट अन्ततः बैंककै क्यासियरको योजनामा भएको पुष्टि भयो। उनले लामो समयदेखि बैंकभित्र गर्दै आएको ठूलो अनियमितता लुकाउन लुटपाटको योजना बनाएर आफन्त र साथीभाइलाई प्रयोग गरी त्यो काम गरेका थिए। अन्ततः उनी कानुनबाट बच्न सकेनन्। अहिले फेरि दाङमा धेरैलाई झस्काउने घटना भएको छ। रकमका हिसाबले उतिबेलाको तुलनामा अहिले नौ गुणा बढी अर्थात झण्डै १९ करोड हिनामिना भएको भनिएको छ। वेष्टर्न विकास बैंकबाट मर्ज भएर बनेको देवः विकास बैंकका नारायणपुर शाखा प्रबन्धक समीर बुढाथोकीले ३५ जना नक्कली ऋणी खडा गरी उक्त रकम हिनामिना गरेको अभियोग लागेको छ। आफूलाई फाइदा हुने गरी नक्कली ऋणी खडा गर्ने तथा सम्बन्धित व्यक्तिलाई थाहै नदिइ एउटै व्यक्तिका पाचवटासम्म बैंक खाता खोलेर रकम आफै निकाल्ने गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।

यो घटनाको विस्तृत अध्ययन हुन बाँकी छ। तर प्रारम्भिक अनुसन्धानबाट खुलेको तथ्यबाट पनि के भन्न सकिन्छ भने यो बैंकिङ क्षेत्रको ठूलो घटना हो। यसअघि वेष्टर्न बैंक रहँदै हिनामिना भएको र बैंक मर्जसँगै तथ्य खुलेको प्रहरीको भनाइ छ। म्यानेजरले बैंकको शाखाबाट कर्जा स्वीकृति नगराइ ऋण प्रवाह गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ। यो सरासर बैंकिङ क्षेत्रको विकृति हो। पछिल्लो समयमा आमनागरिकको आर्थिक कारोबार बढेसँगै बैंकिङ कारोबार पनि निकै बढेको छ। सरकारले नै हरेक नागरिकलाई बैंकसँग जोड्ने नीति लिएको छ। हरेक नागरिकलाई बैंक खाता खोल्नका लागि प्रोत्साहन गर्ने सरकारको नीति छ। यो पनि मानवीय विकासअन्तर्गत नै पर्दछ। बैंक आधुनिक अर्थ प्रणालीका अंग हुन्। हरेक नागरिकलाई आधुनिकतासँग जोड्न जरुरी नै छ। तर पनि उनीहरुले बैंकमा जम्मा गरेको रकमको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्छ।

अहिले बैंकहरु आधुनिक सूचना प्रणालीबाट चलिरहेका छन्। यसले एकातिर सूचना प्रविधिका अपराधीहरुबाट बैंकिङ सूचना ह्याक गर्ने खतरा बढिरहेको छ। ह्याकरहरुले ठाउँठाउँमा एटिएम मेशिनहरुको दुरुपयोग गरी पैसा निकाल्ने काम पनि गरिरहेका छन्। अर्कोतिर बैंक क्षेत्रमै प्रवेश गरेका गलत मनोवृत्ति भएका मानिसहरुका कारण पनि बैंकिङ क्षेत्रमा असुरक्षा छ। दाङमा भएका दुईवटा घटनाबाट पनि के बुझ्न सकिन्छ भने बैंकहरु असुरक्षित छन् भने आफ्नै कर्मचारीका कारण छन्। हरेक बैंकले सूचना प्रविधिको प्रयोग गरेका छन् र आफ्नै सफ्टवेयर प्रयोग गरिरहेका छन्। दाङको पछिल्लो घटनाबाट सामान्य मानिसले पनि प्रश्न गर्ने ठाउँ रहेको छ– एक दर्जन जति शाखामा सीमित रहेको बैंकमा एउटा शाखाका प्रमुखले मात्रै यतिधेरै रकम कसरी हिनामिना गर्न सक्छन् ?

बैंक, अस्पताल, विद्यालय सेवामूलक उद्योग हुन्, जसले राम्रो गर्दा उनीहरुलाई नै बढी जस जान्छ। बैंकमा हुने मुनाफा बैंक सञ्चालकले नै बाँड्ने हो तर बैंक डुब्दा त्यसको मार आमसेवाग्राहीले पनि ब्यहोर्नुपर्छ। यो अवस्थामा बैंक सञ्चालकहरुले बैंक चलाउनु सामान्य व्यवसायजस्तो मात्र ठान्नु हुँदैन। अपराधशास्त्रको सिद्धान्त यो पनि हो कि अपराध कसले ग¥यो यो त कारवाहीको दायरामा गइ नै हाल्छ, अपराध किन र कसरी भयो भन्ने अझ महत्वपूर्ण हुन्छ, जसको सही खोजीबाट आगामी दिनमा हुन सक्नेअपराध रोक्न सकिन्छ। दाङको बैंकिङ क्षेत्रमा पटकपटक कर्मचारीबाटै यति ठूलो गडीबडी किन भइरहेको छ ? यो आमबैंकिङ क्षेत्र र सुरक्षा अधिकारीहरुको खोजीको विषय हो। एउटा बैंकमा हुने गडीबडीबाट अरु बैंकले पनि आफूभित्रको विकृति हटाउने आधारको रुपमा शिक्षा लिनु जरुरी छ, ता कि आमनागरिकको सम्पत्तिको जिम्मा लिइसकेपछि त्यसको सुरक्षा गर्ने जिम्मा उनीहरुकै हो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top