Free songs
Home / सम्पादकीय / सकारात्मक शुरुवात

सकारात्मक शुरुवात

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको १७ महिनापछि संसदभित्रका सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाएर छलफल गर्नुलाई सकारात्मक शुरुवातको रुपमा लिनुपर्छ। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलको नेतृत्व तहबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत महत्वपूर्ण उपलब्धिको रक्षाका लागि एकताबद्ध हुने प्रतिबद्धता व्यक्त गरिनुले यसखालको छलफलको थप औचित्य पुष्टि भएको छ। राष्ट्रिय महत्वका साझा सवालमा सबै राजनीतिक शक्तिहरुबीच यसखालको खुला र सौहाद्र्रपूर्ण छलफल गर्ने परिपाटीलाई आगामी दिनमा अझ विस्तारित गरेर लैजान सक्नुपर्छ। यसबाट बलियो राष्ट्रिय एकता निर्माण गर्ने आधार तयार हुन्छ।

प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा निकै गम्भीर र सन्तुलितरुपमा प्रस्तुत हुनुभयो भने प्रतिपक्षी नेताहरुले मर्यादितढंगले प्रधानमन्त्रीप्रति गुनासो, आलोचना वा असन्तुष्टि पोख्ने काम गर्नुभयो। दुई तिहाई बहुमतप्राप्त सरकारलाई काम गर्न कसैले रोक्न वा अवरोध गर्न सक्दैन। तर सरकारको गति र कामगराइप्रति असन्तुष्टि बढ्दै जाँदा प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिने गरी त्यस्तो वातावरण निर्माण गर्नेतर्फ अगाडि बढ्नुलाई सकारात्मक मान्नुपर्छ।

संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि कम्तिमा हिजोका आन्दोलनकारी शक्तिहरु एक ठाउँमा भेला भएर छलफल गर्ने वातावरण सिर्जना हुनु राष्ट्रिय सहमतिका दृष्टिले समेत महत्वपूर्ण कदम हो। यसबाट मुलुकलाई पछाडि फर्काउन चाहना राख्ने सीमित व्यक्ति वा समूह पक्कै पनि हतोत्साहित भएका छन्। मुलुकको संविधान र संवैधानिक प्रणाली, राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकताको रक्षा, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयहरुमा राष्ट्रिय सहमति कायम गर्ने वातावरण निर्माण गर्न यसखालको छलफल परिणाममुखी र फलदायी बन्न सक्छ। त्यसैले यसखालको सम्वादलाई निरन्तरता दिइराख्न आवश्यक छ।

सर्वदलीय बैठकले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नसमेत सुझाएको छ। विप्लवसँग बेलैमा वार्ता नगरे यसमा पुनरुत्थानवादी शक्तिहरुले खेल्न सक्ने सबै दलहरुको साझा बुझाइले विप्लव नेतृत्वको नेकपामाथि वार्ताको दबाब बढ्ने स्थिति बनेको छ। बैठकले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका बाँकी काम तत्काल टुंग्याउनुपर्ने सुझाव दिएको छ। अन्यथा यसमै टेकेर विदेशी शक्तिहरुले खेल्ने ठाउँ पाउने कुरामा सचेत रहनुपर्ने विषय पनि बैठकमा उठेको थियो। समग्रमा दुई तिहाई बहुमत प्राप्त सरकारलाई महत्वपूर्ण मुद्दामा राष्ट्रिय सहमतिमार्फत् अगाडि बढ्न आगामी दिनमा अझ सहज हुने वातावरण बनेको छ।

प्रधानमन्त्री ओलीमाथि पार्टीभित्र र बाहिरबाट एक्लै अगाडि बढ्न खोजेको आरोप लागेको छ। सरकारले गर्ने काम कारवाही र विभिन्न नियुक्तिहरुलाई लिएर चर्को विरोध हुँदै आएको थियो। विशेष गरेर प्रमुख प्रतिपक्षले संवैधानिक अंग र न्यायालयमा भइरहेको नियुक्तिप्रति असन्तुष्टि प्रकट गर्दै आएको थियो। अब प्रमुख प्रतिपक्षी दलको नेताको उपस्थितिमा गरिने निर्णयहरु समन्वयात्मक र सन्तुलितढंगले गर्नुपर्ने दबाब आगामी दिनमा सरकारमाथि पर्ने नै छ। दुई तिहाई बहुमतप्राप्त सरकार राज्य सञ्चालनका यावत विषयहरुमा निर्णय गर्न स्वतन्त्र भए पनि राष्ट्रिय महत्वका साझा सवालमा सबैलाई साथमै लिएर हिंड्नुपर्ने हुन्छ। प्रधानमन्त्री ओलीको आगामी यात्राको संकेत पनि हो यो।

वर्तमान सरकार गठन भएको झण्डै डेढ वर्षलाई फर्केर हेर्दा राज्य सञ्चालनमा कहीं न कहीं समस्या भएको प्रधानमन्त्रीले समेत महसुस गर्न थाल्नुभएको आभाष पछिल्ला घटनाक्रमहरुबाट हुन्छ। सरकारको कार्यकाल अझै तीन वर्षभन्दा बढी नै भएकोले विगतको समीक्षा गर्दै परिणाममुखी र देखिने गरी काम गर्न चर्को दबाब परेको छ। यसका लागि पार्टीभित्र र बाहिर, सदनभित्र र बाहिर चारैतिर अनुकूल वातावरण निर्माण गर्न आवश्यक हुन्छ। प्रधानमन्त्रीले आफू उपचारका लागि विदेश जानुअघि सर्वदलीय बैठक डाकेर विश्वासको वातावरण निर्माण गर्न पहल थाल्नुभएको छ। यसलाई सकारात्मकरुपमा नै बुझ्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top