Free songs
Home / सम्पादकीय / पछाडि फर्कन असम्भव

पछाडि फर्कन असम्भव

अहिले केही व्यक्ति वा समूह हिन्दू राज्य फर्काएर त्यसकै आडमा राजसंस्था पुनस्र्थापना गर्ने ध्याउन्नमा लागेको जस्ता समाचारहरु आइरहेका हुन्छन्। समाजमा विभिन्न सोचाइका मानिसहरु रहने भएकाले त्यसखालको पुरातनपन्थी सोच वा विचार राख्ने व्यक्ति वा समूह पाइनुलाई अस्वाभाविक मानिहाल्न हुँदैन। नयाँ संविधान घोषणा गर्न नदिने एउटा तत्व त्यही बेला हतोत्साहित भएको हो। त्यसपछिका दिनमा भएका आन्दोलन र गडबडी क्रमशः आफै सेलाउँदै गएका हुन्। अन्ततः स्थानीय, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन सम्पन्न भएर सरकार गठन हुनु संविधान कार्यान्वयनका दृष्टिले महत्वपूर्ण उपलब्धि हासिल भएको छ। यो यथार्थलाई स्वीकार गर्दै संवैधानिक प्रक्रियाबाट अगाडि बढ्नु सबैको कर्तव्यभित्र पर्दछ। यसमा कसैले गडबडी गर्छ भने खबरदारी गर्ने निकाय पनि छन्। अदालत छ, प्रेस छ, नागरिक समाजका विभिन्न अंगहरु छन्। अन्तिम फैसला गर्ने जनता छन्। त्यसका लागि आवधिक निर्वाचनसम्म कुर्ने धैर्य भने राख्नैपर्ने हुन्छ।

इतिहासमै लामो अन्तरालपछि दोस्रो पटक गठन भएको दुई तिहाई बहुमतप्राप्त सरकारबाट जनताले धेरै अपेक्षा राख्नु स्वाभाविक छ। यसअघि नौ महिनाकै भए पनि कम्युनिष्ट पार्टीको अल्पमतको सरकार देखिसकेका जनताले बढी आशा गर्नु जायज कुरा हो। यहाँनेर सरकारमा बस्नेहरुले आफूहरुले जनअपेक्षा अनुरुप काम गर्न नसकेको कुरालाई हार्दिकताका साथ स्वीकार गर्न सक्नुपर्ने हुन्छ। यो भनेको विगतका त्रुटि सच्याएर, सुधार गर्दै आफू पनि सच्चिएर जाने कुरा हो। विगतलाई फर्केर हेर्दा सुशासन कायम गर्ने कुरामा सरकार कहीं न कहीं चुकेकै देखिएको छ। निर्मला पन्तको बलात्कारपछिको हत्या र त्यस विषयमा सरकारका जिम्मेवार व्यक्तिहरुले बोलेका अभिव्यक्तिहरुलाई आमनागरिकले अशोभनीय ठानेका छन्। त्यस्तै कम्युनिष्ट पार्टीको सरकारले किसानलाई मलखाद उपलब्ध गराउन नसक्नु लज्जास्पद कुरा हो। भ्रष्टाचार नियन्त्रण गर्ने काम हुन सकेको छैन, बरु यो बढ्दै गएको छ।

यी कमजोर पक्ष हुँदाहुँदै पनि विकास निर्माणका काममा सरकार अलि बढी चनाखो हुन खोजिरहेको छ। विगतका बेथिति अन्त्य गर्ने कुरामा पनि अग्रसरता देखाएको छ। संविधानअनुरुप कानुन निर्माण गर्ने कामले पनि गति लिएको छ। बिडम्बना नै भन्नुपर्छ नेपाली समाजको चरित्र र मनोदशा कहिलेकाहीं विचित्रढंगले प्रकट हुने गर्छ। परम्परामा टाँस्सिएर बस्न मन पराउँछ, नयाँमा जान चाहँदैन। विधि र प्रक्रियाको पालना गर्न धौ मान्ने प्रवृत्ति छ। हाम्रो समग्र समाजको, राजनीतिको, व्यूरोक्रेसीको मानसिकतामा परिवर्तन नआउँदासम्म मुलुक बन्दैन। जताकतै कामचोर, ठग प्रवृत्तिले जरो गाडेर बसेको छ। मानिस आफूप्रति नै इमानदार बन्न सकिरहेको छैन। मानिसको सोच बदल्ने काम कसैको एक्लो प्रयासले मात्र सम्भव हुँदैन।

थुप्रै कमी कमजोरीका बाबजुद पनि हामीले अपनाएको प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन। अहिले कसैले चाहेर कोही पछाडि फर्कन सम्भव छैन। राजतन्त्र पुनस्र्थापनाको सपना देख्नेहरुले नारायणहिटी दरवार हत्याकाण्डलाई एक पटक सम्झन सक्नुपर्छ। ज्ञानेन्द्रको अधिनायकवादी शासनसत्ता र उनका छोरा पारसको उद्दण्डतालाई नेपाली जनताले अझै भुल्न सक्दैनन्। त्यसैले धर्मको आडमा राजनीति गरेर विस्तारै राजतन्त्र ब्युँताउनेहरुको सपना कदापि पूरा हुन सक्दैन। मरिसकेको मानिस वा संस्थालाई ब्युताउने कुराको कुनै वैज्ञानिक आधार हुँदैन। यसखालको टुनामुना प्रवृत्ति देखाएर केही समय भ्रम छर्न मात्र सकिन्छ। यस्ता कुरामा सरकार र राजनीतिक दलहरुले सचेतता अपनाउन सक्नुपर्छ। अहिलेको सत्तारुढ दलले नसके प्रतिपक्षी दलहरु आउन सक्छन्। नयाँ दलहरु जन्मन सक्छन्। सबै काम विधि र प्रक्रिया अनुरुप हुनुपर्छ। लोकतन्त्रको विशेषता भनेकै यही हो। यस विपरीत पछाडि फर्कने सोच्न राख्नु अल्पबुद्धि मात्र हो।
राणा शासनकाल, पञ्चायतकाल, निरंकुश वा संवैधानिक राजतन्त्रकाल, विगतका कुनै पनि शासन प्रणाली पुनस्र्थापना गर्ने विचार राख्नु भनेको अवैैज्ञानिक र रुढीवादी सोच हो। विज्ञानसम्मत, वस्तुवादी, यथार्थवादी दृष्टिकोण भएको सचेत नागरिकले यस्ता गलत कुराको कल्पना गर्न सक्दैन। तर नेपाली समाजभित्र सानो संख्यामा परम्परावादी चरित्र देखिन्छ। यदाकदा यस प्रकारका प्रतिगामी सोचाइहरु सतहमा आउनुका पछाडि यस्तै चरित्रले काम गरेको हुन्छ। अहिलेको एक्काइसौं शताब्दीमा वंशको आधारमा शासक छान्ने प्रणालीको चाहना राख्नु भनेको विज्ञानविरोधी र प्रतिगामी सोच मात्र हो। यस्तो सोचाइ काम लाग्दैन। पछाडि फर्कन विल्कुलै सम्भव छैन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top