Free songs
Home / सम्पादकीय / हिमाली उत्पादनको परीक्षण थाल्ने कि ?

हिमाली उत्पादनको परीक्षण थाल्ने कि ?

भौगोलिक बनोटमा निकै मिलेको छ प्रदेश नम्बर पाँच। तराईको मर्चवारदेखि हिमालको मैकोटसम्म यही प्रदेशमा पर्दछन्। हिमाली क्षेत्र बहुमूल्य जडीबुटी र अर्गानिक कृषि उत्पादनका लागि निकै महत्वपूर्ण मानिन्छ तर अहिलेसम्म यसको आवश्यक परीक्षण र बजारीकरण हुन सकिरहेको छैन। प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वका खर्कहरुमा यतिबेला गोठालाहरुको लाम छ। उनीहरुले यार्सागुम्बाजस्तो बहुमूल्य जडीबुटी उत्पादन हुने बुकी पाटनमा गाईभैसी र भेडाबाख्रा चराउने गर्दछन्। जसबाट नेपालमा मात्रै होइन, विश्वमै उत्कृष्ट अर्गानिक दूग्धजन्य पदार्थ उत्पादन गर्ने सम्भावना रहे पनि अहिलेसम्म त्यसको कुनै परीक्षण हुन सकिरहेको छैन। यो हिमाली क्षेत्रमा स्थानीय गाई पनि प्रशस्त पाल्ने गरिएको छ तर गाईको दूध र गहुँतको परीक्षण अहिलेसम्म गरिएको छैन।

स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने यसअघि नै वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ। रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका थिए। त्यसो त सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक गरेको थियो भने अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिइसकेको छ। भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ। तर, बहुमूल्य जडीबुटी खाएर हुर्केका नेपालको हिमाली क्षेत्रका गाईवस्तुको दूध र गहुँतको अध्ययन हुन सकेको छैन।

प्राचीन ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै स्थानीय गाईको गोरसलाई पवित्र मानेको हुनसक्छ। नेपाल पूर्वीय सभ्यताको केन्द्र भए पनि थप वैज्ञानिक खोजी र पुष्टिमा लाग्न नसक्दा आफ्नै अगाडि बहुमूल्य उत्पादन हुँदाहुँदै पनि खेर गइरहेको छ। हामीले नेपालमा गाईलाई पवित्र त मान्यौं तर त्यसलाई धार्मिक कृत्यमा दानको साधन मात्र बनायौं। पश्चिमाहरुले भने यही गाईको गहुँतबाट औषधि उत्पादन गरेर विश्वभरि पठाउन थालिसकेका छन्। पूर्वीय दर्शनले ज्ञान दियो, पश्चिमाहरुले त्यसैलाई विज्ञान बनाए। हामीले ज्ञानलाई मन्त्रका ऋचा र दानमै सीमित गयौं तर पश्चिमाहरुले खोजी गरेर ‘पेटेन्ट राइट’ लिइरहेका छन्। अब हामीले कसैलाई गाली गरेर वा कसैको इष्र्या गरेर मात्रै पुग्दैन, वैज्ञानिक अनुसन्धानका लागि पहल थाल्नुपर्छ।

कम्तिमा हिमाली क्षेत्रको उत्पादनको अर्गानिक मात्रा मात्रै परीक्षण गर्ने ब्यवस्था मिलाइयो भने यसले मानव स्वास्थ्यमा सकारात्मक योगदान पुयाउने छ भने स्थानीयवासीको जीवनस्तर पनि सुधार्ने छ। अहिले यार्सागुम्बा खाएका गाईभैसीबाट उत्पादित घीउ छ सय रुपैयाँ किलोमा बिक्री भइरहेको छ जबकि बजारमा डेरीबाट निकालेको घीउ नै एक हजार किलोमा बिक्री हुन्छ। यो हिमाली क्षेत्रको दूध घीउलाई गुणस्तर मापन गरेर सोही क्षेत्रमा उत्पादन, प्रशोधन र ब्राण्डिङ गर्ने हो भने निकै महंगोमा बिक्री गर्न सकिने सम्भावना छ। त्यसका लागि आधारभूतरुपमा स्थानीय तहले पहल लिनु आवश्यक छ भने अनुसन्धान केन्द्रकै रुपमा स्थापित गर्न प्रदेश र संघीय सरकारले योजना अघि सार्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top