Free songs
Home / सम्पादकीय / युवा दिवसको सार्थकता

युवा दिवसको सार्थकता

हरेक वर्ष झै यस वर्ष पनि अगस्ट १२ का दिन देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। दाङमा पनि विभिन्न स्थानमा सरकारी तथा गैरसरकारी संस्थाहरुले संयुक्त रुपमा दिवसीय कार्यक्रमको आयोजना गरेर युवाका सवालहरुबारे चर्चा गर्ने काम गरे। खासगरी संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालिएको हो। राष्ट्रसंघकै घोषणाअनुसार हरेक वर्षको १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ। नेपालले सन् २००४ देखि यो दिवस मनाउन थालेको हो।

प्रत्येक वर्ष युवा दिवसलाई सार्थक बनाउन विशेष नाराका साथ युवा केन्द्रित मुद्दा तथा त्यस सम्बन्धी विभिन्न कार्यक्रमहरु हुँदै आएका छन्। यस वर्ष ‘शिक्षामा रुपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन’ नाराका साथ युवा दिवस मनाइएको छ। यस्ता दिवसले समुदायमा युवाको भूमिका बढाउन तथा समाजका आवश्यकता पूरा गर्नका लागि उनीहरुको योगदानलाई बढावा दिन सकारात्मक सन्देश त प्रवाह गर्छन् नै तर मुख्य कुरा राज्यका नीति तथा व्यवहारले युवाको आवश्यकता संबोधन गर्न सकेका छन् कि छैनन् भन्ने नै हो।

सामान्यतया शारीरिक र मानसिक विकासका दृष्टिले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई युवा भन्ने चलन छ। यो जनसंख्याको सबैभन्दा सक्रिय, ऊर्जावान र गतिशील समूह पनि हो। संसारभर युवाको परिभाषा उमेरका आधारमा फरक–फरकरूपमा गर्ने गरिएको पाइन्छ। नेपालका सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरेको छ। नेपालको कुल जनसंख्यामध्ये यो उमेरको जनसंख्यालाई हेर्दा कूल एक करोड छ लाख युवा रहेको देखिन्छ। कूल जनसंख्याका हिसाबले हेर्दा ४० दशमलव ३५ प्रतिशत यो समूहमा पर्छन्। यीमध्ये ३६ प्रतिशतभन्दा बढी युवाहरू अर्धबेरोजगार रहेका छन्। नेपालबाट वर्षेनि पाँच लाख ३८ हजार युवाहरू रोजगारीका लागि विदेशिने गरेका छन्। यो दर हेर्दा लगभग प्रतिदिन एक हजार पा“च सयको हाराहारीमा युवाहरू विदेशिने गरेको तथ्यांकले देखाउँछ। जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्या रहेको, अत्यधिक ऊर्जावान जनसंख्याभित्र पर्ने यो समूहलाई बाहिर पलायन हुनबाट जबसम्म रोक्न सकिँदैन, तबसम्म मुलुकले गति लिन सक्दैन। भनिन्छ, आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन्। उनीहरूलाई उचित शिक्षा, दीक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृिद्धमा सरिक गराउनु आजको आवश्यकता हो।

त्यसो त युवाको क्षेत्रमा सरकारले केही नगरेको भन्न पनि मिल्दैन। युवाको कामकै लागि भनेर २०६५ सालमा सरकारले युवा तथा खेलकुद मन्त्रालयको स्थापना ग¥यो। मन्त्रालयको स्थापनासँगै राष्ट्रिय युवा नीति तर्जुमा गरी युवा विकास र परिचालनका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आए। युवाका क्षेत्रमा काम गर्ने गरी राष्ट्रिय युवा परिषद् ऐन २०७२ ल्याइयो। राष्ट्रिय युवा नीति २०७२ ल्याइयो। यसैका आधारमा युवा तथा खेलकुद मन्त्रालय मातहत रहने गरी २०७२ मा राष्ट्रिय युवा परिषद्को स्थापना गरियो। अहिले परिषदका शाखाहरु देशका सबै जिल्लामा स्थापना भइसकेका छन्। युवा स्वरोजगार कार्यक्रम, गरिबी निवारण मन्त्रालयमार्फत जाने कार्यक्रम, श्रम मन्त्रालय, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय समेतबाट कहीं सोझै त कतै इकाई गठन गरेर युवाका नाममा कार्यक्रम भइ पनि रहेका छन्। तर पनि युवाहरुको विदेश पलायन रोकिन सकेको छैन। युवाहरुलाई स्वदेशमै सुखद भविष्यको सपना पूरा गर्न सकिने वातावरण दिन सकिएको छैन।
स्वरोजगारका सीपमूलक तथा व्यावसायिक कार्यक्रमहरू सञ्चालन गरी प्रतिदिन १५ सयका दरले विदेसिने गरेका युवालाई स्वदेशमा काम गर्ने वातावरण बनाउने विषय सम्बद्ध सबैको पहिलो प्राथमिकता बन्नुपर्छ। अहिले मुलुकमा तीन तहका सरकार छन्। अधिकारसम्पन्न स्थानीय तह छन्। स्थानीय सरकारले आफ्ना आवश्यकताका आधारमा कानुन बनाएर काम गर्नसक्ने अवस्था छ। यस्तोमा युवालाई आफ्नै ठाउँमा गरिखाने वातावरण बनाउने कुरालाई प्राथमिकता दिनुपर्छ। तिनवटै तहका सरकारले युवालाई विकासको साझेदारी र परिवर्तनका संवाहकको रुपमा आत्मसात गर्दै उनीहरुको ऊर्जा र सिर्जनशीलतालाई देश विकाससँग जोड्न सक्नुपर्छ। युुवा दिवस मनाउनुको सार्थकता पनि यसैमा छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top