Free songs
Home / सम्पादकीय / सामुदायिक वनको सफलता

सामुदायिक वनको सफलता

नेपालमा अभूतपूर्वरुपमा सफल भएको कार्यक्रम हो सामुदायिक वन। अधिकारसम्पन्न र लोकतान्त्रिक विधिबाट राष्ट्रिय सम्पदाको संरक्षण र सदुपयोग गर्ने जिम्मा जनतालाई दिने हो भने उनीहरुले कसरी सफलता प्राप्त गर्दारहेछन् भन्ने एउटा गतिलो उदाहरण हो सामुदायिक वन। ‘हरियो वन, नेपालको धन’ भन्ने मान्यताका साथ वनको उपयोग लामो समयदेखि गरिदै आएको भए पनि संरक्षण र उपभोग दुबै हिसाबले अघि बढाउने नीति भने सामुदायिक वन कार्यक्रमबाट मात्रै शुरु गरिएको हो। अहिले मुलुकभरि २२ हजार दुई सय ६६ सामुदायिक वन उपभोक्ता समूहले २२ लाख ३७ हजार छ सय ७० हेक्टर क्षेत्रको वन व्यवस्थापन गरिरहेका छन्। मुलुकमा रहेको कुल वन क्षेत्रमध्ये ३७ प्रतिशत सामुदायिक वन रहेको छ। सामुदायिक वनमा आबद्ध घरधुरी २९ लाख सात हजार आठ सय ७१ रहेका छन् भने सन् २०३० सम्ममा कुल वन क्षेत्रको ४२ प्रतिशत वन क्षेत्र सामुदायिक वनका रूपमा हस्तान्तरण गर्ने लक्षका साथ काम भइरहेको छ।

विगत तीन वर्षदेखि नेपालमा सामुदायिक वन दिवस मनाउन पनि थालिएको छ। सोहीअन्तर्गत हिजो मात्रै देशभरि चौथो सामुदायिक वन दिवस मनाइएको छ। नेपालमा सामुदायिक वन संरक्षण र संवद्र्धनमा सहयोग पु¥याउन भन्दै २०७३ सालदेखि हरेक वर्ष साउन २५ लाई सामुदायिक वन राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको छ। नेपालमा पहिलो सामुदायिक वन सिन्धुपाल्चोकको ठोकर्पा सामुदायिक वन क्षेत्रलाई २५ साउन २०३० मा पञ्चायती वनको रूपमा समुदायलाई हस्तान्तरण गरिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको छ। सामुदायिक वनकै इतिहास हेर्दा २०४० सालमा दाङमा, २०४२ सालमा अछाममा र २०४३ सालमा काभ्रेमा पञ्चायती वनका रूपमा समुदायलाई वन हस्तान्तरण गरेको पाइन्छ। २०४६ सालमा बनेको वन विकास गुरुयोजनाले सामुदायिक वनलाई प्राथमिकतामा राख्यो भने वन ऐन २०४९ जारी भएपछि वनको सम्पूर्ण जिम्मा समुदायलाई दिन थालिएको हो।

समुदायले वन व्यवस्थापन गर्न थालेपछि अभूतपूर्वरुपमा नेपालमा वन क्षेत्र फैलिएको छ। त्यति मात्र होइन, यो स्थानीय समुदायको आयआर्जनको आधार पनि बनेको छ। भन्न चाहि“ नेपालको धन भन्ने तर सीमित टाठाबाठाहरुले वन सम्पदा कब्जा गर्ने र पुनः वन क्षेत्र विस्तार गर्नेतर्फ ध्यान नदिने अवस्थालाई भत्काएर सामुदायिक वन कार्यक्रमले समुदायका हरेक घरधूरीको समान स्वामित्व र अपनत्वसहित वन संरक्षण र उपभोगको योजना अघि सारेपछि वन क्षेत्र संरक्षणमा नयाँ आयाम शुरु भएको थियो। वन, वातावरण, जैविक विविधता, सिमसार, जलाधार, वन्यजन्तु एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा सामुदायिक वनले ठूलो भूमिका निर्वाह गरेको छ। जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण र दिगो विकास लक्ष प्राप्तिमा सामुदायिक वनहरूले ठूलो योगदान पु¥याइरहेका छन्।

मलुकको राजनीतिक परिवर्तनसँगै जनता थप शक्तिसम्पन्न भएका छन्। संविधानको अधिकारसहित बलिया स्थानीय तह बनेका छन्। स्थानीय सरकार अब जनताको सबैभन्दा नजिकको अभिभावक हो। जनताको दैनिक सुखदुःखका कामदेखि उनीहरुको जीवनस्तर सुधार्ने दायित्व अब स्थानीय तहकै काँधमा आएको छ। मुलुकको राष्ट्रिय अभिभारा समृद्धि बन्न पुगेको छ। एकातिर स्थानीय सरकार शक्तिशाली बनेको अवस्था र अर्कोतिर मुलुकले आर्थिक समृद्धिको अभिभारा बोक्दै गरेको यो अवस्थामा अब मुलुकको समृद्धि र जनताको सम्पन्नताका लागि प्राकृतिक स्रोतसाधनको संरक्षण र प्रयोग महत्वपूर्ण बन्न पुगेको छ। त्यसैले नेपालमा निकै प्रभावकारीरुपमा सञ्चालन भइरहेको सामुदायिक वन कार्यक्रमलाई पनि अब मुलुकको समृद्धि र जनताको सम्पन्नतासँग जोडेर लैजान जरुरी छ। त्यसका लागि स्थानीय सरकारले प्रभावकारी योजना बनाएर हरेक पालिकामा रहेका सामुदायिक वनलाई समृद्धिको आधार बनाउनु ढिला गर्नुहुँदैन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top