Free songs
Home / सम्पादकीय / समस्या हल गर्न सामूहिक प्रयत्न आवश्यक

समस्या हल गर्न सामूहिक प्रयत्न आवश्यक

गाउँघरमा कुनै बेला यस्तो समय थियो, जुनबेला गाई, गोरु, भैंसी, बाख्रालगायत चौपाया हुनेहरु धनी र सम्पन्न कहलाउँथे। चौपाया पाल्नेले त्यसबाट राम्रो आयआर्जन गर्दथे। गाई भैंसीबाट दूध, दही, घ्यू उत्पादन गर्ने, राङा गोरुलाई जमिन जोत्ने, ढुवानीको काममा प्रयोग गर्ने र खसी बोकालाई मासुका लागि उपयोग गरिन्थ्यो। समग्रमा भन्नुपर्दा पशु चौपायाहरु उत्पादन र आयआर्जनसँग सिधै जोडिएका हुन्थे। क्रमशः आयआर्जनका स्रोतहरु फराकिलो बन्दै जाँदा वा अन्य विविध स्रोतहरु बढ्दै जाँदा पशु चौपायाहरुको संरक्षण गर्ने प्रवृत्तिमा ह्रास आउन थाल्यो। अहिले त हुँदाहुँदा घरपालुवा पशुलाई छाडा छोड्ने र शहरतिर लखेट्ने प्रवृत्तिले विकराल रुप लिदैछ।

यतिबेला पशु चौपाया जथाभावी छाडा छोड्ने समस्याले जटिल रुप लिदै गइरहेको छ। शहर बजारका सडकमा छाडा चौपायाहरुको बिगबिगी यति धेरै बढेको छ कि स्थानीय पालिकाहरुलाई यसको व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ। दाङका दुई उपमहानगरपालिकाले ठाउँ–ठाउँमा हर्न निषेधित क्षेत्र भनेर बोर्ड झुण्ड्याएका छन्। तर ती क्षेत्रहरुमा कहिलेकसो पैदल यात्रुहरुलाई नै हिंड्न मुस्किल पर्ने हुन्छ। बजार क्षेत्रमा छाडा चौपायाका कारण सवारी साधनबाट ओर्लिएर धपाउनुपर्ने अवस्था छ। हुन त यो जिम्मेवारी स्थानीय सरकारको मात्र हैन, नागरिकहरु पनि त्यत्तिकै जिम्मेवार बन्न सक्नुपर्छ। अहिलेको समाज स्वार्थबाटै डोरिएजस्तो देखिन्छ। मासुका लागि प्रयोग गर्न मिल्ने राँगा, भैंसी, बाख्रा, बाख्री कसैले छाडा छोडेको पाइन्न। तर हाम्रो राष्ट्रिय जनावर गाई पाल्न धौ भएर शहरतिर धपाउने प्रवृत्ति पछिल्ला दिनहरुमा धेरै बढेर गएको छ। हिन्दू धर्ममा गाईको धेरै महिमा गाइन्छ । तर आफूलाई हिन्दू भन्नेले गाईको संरक्षण गर्न चाहन्न। यो झनै ठूलो बिडम्बना हो।

घोराही उपमहानगरपालिकाले अस्ति मात्रै बजार क्षेत्रका छाडा गाई गोरु व्यवस्थापन गर्ने काम शुरु गरेको छ। उपमहानगरले वडा नं. २ को चाक्लीघाटमा गौशाला नै बनाएर व्यवस्थापन गर्न थालेको हो। उपमहानगरले संरचना निर्माण गर्दै रेखदेखको जिम्मेवारी स्थानीयलाई दिएर सराहनीय कामको शुरुवात गरेको छ। गौशालामा रहेका गाईहरुबाट दूधको कारोवारका साथै मलमूत्र संकलन एवं वितरण गर्ने काम ठीकढंगले गर्न सकियो भने यसको आम्दानीबाट नै खर्च व्यवस्थापन गर्न सकिनेछ। त्यसैले यससम्बन्धी राम्रो योजना र नीति बनाएर पूर्वाधार निर्माणमा लगानी गर्नुपर्छ। शुरुमा लगानी गर्ने र पछि योजना बनाउने काम कदापि हुनुहुँदैन।

आफूले पालेका पशु चौपाया छाडा छोड्नेलाई कानुन बनाएर जिम्मेवार बनाउन स्थानीय पालिकाहरुले सक्छन्। पाल्न सक्ने हैसियत हुँदाहुँदै नियत खराव भएर छाडा छोड्नेलाई कानुन बनाएर दण्डित गर्न सकिन्छ। यो भनेको हाम्रो धर्म, संस्कृति र परम्परासँग गाँसिएको विषय पनि हो। उमेर छँदासम्म खनजोत गराएर, दही दूध खाएर आम्दानी लिने र त्यसपछि शहरतिर धपाउने प्रवृत्ति हरेक दृष्टिले अनैतिक छ। यस्ता काम गर्नेहरुलाई जिम्मेवार नागरिक भन्न मिल्दैन। त्यसैले यस्तो कर्म गर्नेहरुलाई कुनै न कुनै रुपमा दण्डित गर्न जरुरी छ।
छाडा चौपाया नियन्त्रण र व्यवस्थापन कसैको एक्लो प्रयासले मात्र सम्भव हुँदैन। यसका लागि सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक पर्छ। एक स्थानका चौपायालाई पैदल वा गाडीमा राखेर टाढाटाढासम्म पु¥याउन सकिने भएकोले एक दुईको प्रयासबाट यसलाई नियन्त्रित र व्यवस्थित गर्न सकिन्न। त्यसैले यस्ता काममा सामूहिक प्रयत्न र अठोटको आवश्यकता पर्दछ। दाङ जिल्लामा छाडा पशु चौपाया समस्या हल गर्ने हो भने कम्तिमा यहाँका सबै पालिका र सरोकारवाला निकायहरुले सामूहिकढंगले गम्भीरतापूर्वक सोच्न, योजना बनाउन र कार्यान्वयनमा लाग्न जरुरी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top