Free songs
Home / सम्पादकीय / नेटवर्किङको गैरकानुनी धन्दा

नेटवर्किङको गैरकानुनी धन्दा

नेपालमा कुनै बेला धेरै चलेको धन्दा थियो– नेटवर्किङ। एक जनाले धेरै जना सदस्य बनाउने र त्यसवापत कमिशन पाउने चक्करमा धेरै मानिस यसमा लागेका थिए। सुकिलामुकिलाहरुले नेतृत्व गरिरहेको यस्ता धन्दामा तल–तलसम्म पनि सुखी जीवनका मीठामीठा सपना बाँडेर सञ्जाल विस्तार गर्ने क्रम निकै बढेको थियो। यसमा अरुलाई कुरा गरेर भुलभुलैयामा पार्नसक्नेहरुले नेतृत्व गर्ने गरेका थिए। नेपालमा हर्बो, युनिटीजस्ता थुप्रै नेटवर्किङ कम्पनी सञ्चालनमा ल्याइएको थियो, जसमा छोटै समयमा धेरै जेलिसकेका थिए। नेटवर्कमार्फत कम्पनीको वस्तु सोझै उपभोक्तासम्म पु¥याउने र बजारमा लाग्ने विज्ञापन खर्च बच्नेजस्ता आकर्षण प्रचार सुनाइन्थे। उनीहरुको एउटै स्कूलिङ हुने गथ्र्यो– हामी चाँडोभन्दा चाँडो धनी बन्नुपर्छ, त्यसका लागि काम होइन कुरा गरेर अरुलाई आकर्षित गर्नुपर्छ। जति धेरै सदस्य बनाउन सकियो, त्यति धेरै कमिशन आउने विधि यसमा अवलम्वन गरिएको थियो। जसले गर्दा जति माथि पुग्यो, त्यति धेरै पैसा कमाउन सकिन्थ्यो भने तल्लो तहका सदस्यहरु तलको तलै।

यो कामलाई नेपालमा प्रतिबन्ध लगाएर नेपाल सरकारले निकै दूरगामी निर्णय गरेको हो। अहिलेसम्म नेटवर्किङ धन्दा कायम रहन्थ्यो भने नेपाली समाजले थप क्षति ब्यहोरिसक्नुपर्ने थियो। एकातिर काम नगरी कुरा मात्रै गरेर पैसा कमाउन सकिन्छ भन्ने श्रमबिरोधी स्कूलिङ ब्याप्त हुँदै थियो भने अर्कोतिर जनस्तरमा ब्यापक सञ्जाल बनाउने र ठूलो रकम संकलन गरेर माथिल्लो तहका मनमौजी तरीकाले लिंदा जनस्तरको ठूलो रकम क्षति भइसकेको थियो। त्यसैले नेटवर्किङमाथि प्रतिबन्ध लगाउनु आर्थिक र सामाजिक दुबै दृष्टिकोणबाट महत्वपूर्ण सावित भएको छ। तर, नेपालमा नेटवर्कमाथि प्रतिबन्ध लागेसँगै भारतीय खुला सिमानाको फाइदा उठाएर गैरकानुनी यो धन्दा सीमावर्ती इलाकाबाट भइरहेको छ। एक महिनाअघि पूर्वी सीमा झापाबाट धेरै युवायुवती पक्राउ परेका थिए भने केही दिनअघि भैरहवाबाट त्यस्तै संख्यामा पक्राउ परेका थिए। अस्ति मात्रै नेपालगञ्ज नाकाबाट ४४ जना युवायुवती पक्राउ परेका छन्।

यसमा अधिकांश स्कूले विद्यार्थीलाई प्रयोग गरिएको छ। थोरै काम गरेर धेरै कमाउने प्रलोभनमा उनीहरुको जीवन बर्बाद गरिदैछ। यसका लागि युवायुवती प्रयोग गरिने जिल्लामा दाङ पनि अग्रस्थानमा आउँछ। कृष्णनगर नाका आसपासमा हुने धन्दामा देउखुरी क्षेत्रका ठूलो संख्यामा युवायुवतीलाई प्रयोग गरेको पाइएको छ। त्यस्तै नेपालगञ्जमा पक्राउ परेका युवायुवतीमा पनि धेरै दाङकै छन्। यी युवायुवतीलाई शुरुमा सदस्य बनाइन्छ। फाराम भरेको दुई हजार पाँच सय लिइन्छ भने तालिमपछि ३४ हजार रुपैया“ तिर्नुपर्छ। थ्रीडी बन्दा एक लाख रुपैया“ बुझाउनुपर्छ। उनीहरुले पैसा बराबरको औषधि पाउँछन्। त्यो औषधि घरपरिवारलाई खुवाउने या अरुलाई बेच्ने उसको हातमा हुन्छ। एकजनाले दुई जना सदस्य बनाउनुपर्छ। एकजना सदस्य बनाएवापत १० प्रतिशत उसले पाउँछ। भारतमा प्रशिक्षण दिएर युवतीलाई खाडीमुलुकसम्म मार्केटिङ गर्न पठाउने गरिएको छ। जसले चेलीबेटी बेचबिखन पनि बढ्ने खतरा देखिएको छ।

खासमा नेटवर्किङ अमूक कम्पनीहरुको निकृष्ट ब्यापारिक योजना हो, जसमा पैसा लिएर सामान बेचेपछि तिनै ग्राहकलाई पुनः थप सामान बिक्री गर्न प्रयोग गरिन्छ। यो ग्राहकहरुलाई शोषण गर्ने दलाल पूँजीवादको भद्दा नमूना हो। यसबाट पूँजीपतिहरुले कुनै मेहनत नगरी र वस्तुको गुणस्तरीयता पुष्टि नगरी शब्दजाल बुनेरै आफ्ना सामान बिक्री गर्छन् भने निश्चित कमिशनको भर ठूलो युवा शक्तिलाई श्रमबाट विमुख गराउँछन्। उनीहरुलाई श्रमबाट विमुख मात्रै गराउँदैनन्, श्रम नगरेरै दलालीकरणबाट सम्पन्न बन्न सकिन्छ भन्ने विषाक्त विचारले नयाँ पुस्तालाई भ्रमित बनाउँछन्। त्यसैले यो धन्दा सामाजिक र आर्थिक विकास दुबै हिसाबले खराब छ, यसलाई पूर्णरुपमा प्रतिबन्ध नै लगाउनुपर्छ। देशभित्र प्रतिबन्ध लगाइएको भए पनि सीमावर्ती क्षेत्रबाट जुन अबैध काम भइरहेका छन्, यसलाई रोक्न पनि कठोर नीति अपनाइनुपर्छ। यसमा खासगरी युवा पुस्तालाई सचेत पार्दै श्रम नगरी सम्पन्न होइन्छ भन्ने भ्रमको पछाडि लाग्नबाट जोगाउनुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top