Free songs
Home / सम्पादकीय / इमान जोगाउने दायित्व

इमान जोगाउने दायित्व

देशको पहिलो उद्योग भनेर गर्व गरिने बिराटनगर जुटमिल यतिबेला चर्चामा छ। बन्द अवस्थामा रहेको उद्योगको जमिन हडप्ने दाउले गरिएका चलखेल, उद्योगभित्रको भ्रष्टाचारलगायतका धेरै विषयहरु बाहिर आएपछि फेरि यसको चर्चा चुलिएको हो। उद्योगको अर्बौं मूल्य पर्ने जमिन हडप्नकै लागि बन्द भएको उद्योगको शेयर खरिद बिक्री गरिएको तथ्य बाहिर आएका छन्। यो काममा उद्योग सञ्चालकहरु मात्र होइन उच्च पदस्थ राजनीतिक व्यक्ति र तिनका परिवारको नाम समेत जोडिएको छ। देश र जनताका नाममा कठोर राजनीतिक संघर्ष गरेर सत्तामा पुगेकाहरुको भ्रष्ट चरित्रको संरक्षण तथा संलग्नता देखिनु दुःखको कुरा हो।

राणाकालमा नै वि.सं. १९९३ मा स्थापना भएको यो उद्योग यसअघि पटक–पटक बन्द भयो र पटक–पटक खुल्यो पनि। राजनीतिक हस्तक्षेपले थला परेको उद्योगलाई उठाउने नाममा पनि पटक–पटक भ्रष्टाचार भए। यतिबेला बिराटनगर जुटमिलका सञ्चालकहरुले गैरकानुनीरुपमा शेयर हत्याउन गरेको प्रपञ्च छताछुल्ल भएको छ। सरकारको ६८ प्रतिशत शेयर ३३ प्रतिशतमा झार्ने भरमग्दुर प्रयास गरेको देखिएको छ। यति मात्र होइन, बिराटनगर जुटमिलका सञ्चालकहरूले उद्योगभित्रका पित्तल र तामाका पार्टपूर्जा, ठूला मेसिन राखिएका अग्राखका काठ मात्र होइन, मजदुर क्वार्टरका पलङसमेत बेचिदिएको कुरा आएको छ। पाँच करोड पर्ने सखुवा काठलाई दाउराको भाउमा पाँच लाखमा बेचिएका छन्। १० कोठाको मजदुर क्वार्टर भत्काएर ईंटा, झ्याल र ढोका समेत बेच्नुले निर्लज्जताको पराकाण्ठा नै नाघेको छ। उद्योगको सम्पत्ति कौडीको भाउमा बेचिएको भन्दै पूर्व कर्मचारीहरुको संघर्षसमितिको उजुरी परेपछि उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। यसरी गठन गरेको छानबिन समितिले पनि अनियमितता भएको ठहर गरेको छ। उद्योगको समग्र अनियमितता छानबिन गर्न मन्त्रिपरिषद्ले उच्च अदालत बिराटनगरका न्यायाधीशको नेतृत्वमा न्यायिक समिति पनि गठन गरेको छ। घाटामा रहेको र बन्द अवस्थामा रहेको उद्योगमा शेयर किनबेचको रस्साकस्सी किन छ ? यसो हुनुका पछाडि उद्योगको अर्बौंको जमिन हडप्नका लागि हो भन्ने तर्क संगत नै छ।

कुरा बिराटनगर जुटमिलको मात्र होइन। जहाँ तहीं इमान, नैतिकताको खडेरी नै परिरहेको बेला हो यो शायद। केही दिन पहिले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र प्रतिष्ठानका डाक्टर रामहरि रौनियार आठ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका थिए। उनीहरुलाई प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएकोे थियो। प्रा.डा. जस्तो ‘विद्वत’ क्षेत्रको व्यक्ति यसरी घुस प्रकरणमा देखिनु अर्को लज्जाको विषय हो। यस्तै दाङकै सेरोफेरोमा हेर्ने हो भने पनि अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीका अनेकन उदाहरण देखिन्छन्। केही दिन पहिले दाङका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले तलब भन्दा धेरै रकम भत्ता बुझेको समाचार आएको थियो। जनप्रतिनिधिले एकै दिनमा १२÷१५ ठाउँमा भत्ता बुझेको कुरा सुनिन्छ। सडक मर्मतका नाममा भएको गुणस्तरहीन कामको अनुसन्धान गर्न छानबिन समिति बनेका छन्। इमान स्खलनका यी थोरै उदाहरण मात्र हुन्।

राजनीतिक पार्टीभित्र जस्तोसुकै गलत र अनैतिक काम गर्नेहरुले पनि संरक्षण पाइरहेका छन्। कतिपय पेशागत संस्थाहरुभित्र गलत प्रवृत्तिकै हालीमुहाली छ। अनैतिक कामहरुले प्रश्रय पाइरहँदा स्वच्छ रुपमा काम गर्नेहरु ओझेलमा पर्ने गरेका छन्। भनिन्छ सबै नीतिको मूल नीति राजनीति हो। राजनीति स्वच्छ भयो भने अरु क्षेत्रमा पनि यसको सकारात्मक प्रभाव स्वतः देखिने हो। व्यक्तिगत फाइदाका लागि जस्तोसुकै गलत काम गर्न पनि पछि नहट्ने र पार्टीले त्यस्तै प्रवृत्तिलाई प्रश्रय दिँदा नै यतिधेरै गलत कुराले प्रश्रय पाउँदै आएका हुन्। मूल सफा राख्न सक्यौं भने मात्र तलसम्म सफा पानी प्रवाह हुने हो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top