Free songs
Home / सम्पादकीय / विश्वविद्यालयहरुको प्राज्ञिक मर्यादा जोगाऊ

विश्वविद्यालयहरुको प्राज्ञिक मर्यादा जोगाऊ

नेपालमा आधुनिक राजनीतिको शुरुवात भएको सात दशक पूरा भएको छ। २००७ सालको क्रान्तिअघि नेपाल बन्द र अन्धकार युगमा थियो। त्यतिबेला राजा र राणाका सन्तान तथा पण्डितका छोराहरुले पनि खुलारुपमा पढ्न पाउँथे। बाँकी जनताका छोराछोरीले खुलारुपमा पढ्न पाइ“दैनथ्यो। छोरीहरुले पढ्ने त अझ निकै टाढाको कुरा थियो, जनताका छोराहरुले पनि निर्धक्क पढ्न पाउँदैनथे। आम नागरिकले पढ्न लेख्न खोज्नु ठूलै अपराध गरेसरह हुन्थ्यो। तर, आधुनिक राजनीतिको शुरुवात भएसँगै देशभरि शैक्षिक संस्थाहरु खुले र आम नागरिकका छोराछोरीले पढ्न लेख्न पाए। कुनै बेला पढ्न लेख्न खोज्नु अपराध हुन्थ्यो भने अब पढ्न नदिनु अपराध हुन्छ। अब त राज्यको आधारभूत सेवा लिन आधारभूत शिक्षा उत्तीर्ण गरेको हुनुपर्ने कानुन नै बनिसकेको अवस्था छ। यो कोणबाट हेर्ने हो भने हामी धेरै अगाडि बढेका छौं। हामी खुलापन र स्वतन्त्रताको राजमार्गमा दौडिरहेका छौं। तर, यो दौडाइ विस्तारै यति बेलगाम हुँदैछ कि दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

अहिले नेपालमा एउटा टिप्पणी गर्ने गरिएको छ– सबैथोक राजनीतिले बिगा¥यो। अन्धकारमय कालखण्डको त्यो जर्जर युगलाई सम्झदा यो टिप्पणी सही लाग्दैन। अहिले सबैथोक राजनीतिले बिगारेको होइन बरु सबै क्षेत्र मिलेर राजनीतिलाई बदनाम गराइयो। राजनीति सबै नीतिको मूल नीति हो। विश्वब्यापी परिस्थिति हेर्ने हो भने जतिबेला विश्वमा धर्मले राज गर्ने (पाँचांैदेखि पन्धौं शताब्दीसम्म) मध्ययुगीन बर्बर युग चलिरहेको थियो, त्यो बर्बरताको अन्त्य गर्न नै आधुनिक राजनीतिक विचारधाराको शुरुवात भएको हो। नेपालकै सन्दर्भमा पनि राणाकाल जस्तो अन्धकारको युगबाट खुला परिवेशको शुरुवात गर्न आधुनिक राजनीतिले नै दिशानिर्देश गरेको हो। त्यसपछि पनि नेपालमा बेला–बेला देखापरेका निरंकुशतन्त्रको अन्त्य गर्न प्रजातान्त्रिक वा साम्यवादी जुनसुकै भए पनि आधुनिक राजनीतिक विचारधाराले नै नेतृत्व गरेको निश्चित छ। त्यसैले आज पनि भन्न सकिन्छ मुलुक बिग्रेको राजनीतिले होइन बरु समाजका सबै स्वार्थ समूहले राजनीतिको दुरुपयोग गर्दा यसको बदनाम भएको छ र मुलुक पनि अघि बढ्न सकिरहेको छैन।

यहाँ सन्दर्भ विश्वविद्यालयहरुको उठाउन खोजिएको छ। नेपाल संसारका विरलै देशमध्ये एउटा पर्छ जहाँ विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा हुन्छ। विश्वविद्यालयमा पदाधिकारी बन्न प्राज्ञिक क्षमताले मात्रै पुग्दैन, राजनीतिक सदस्यता पनि अनिवार्य मानिन्छ। जब कुनै दलका प्रतिबद्ध नेता कार्यकर्ता विश्वविद्यालयका पदाधिकारी बनेर छिर्छन्, उनीहरुले प्राज्ञिक अभ्यासभन्दा भद्दा दलीयकरणको अभ्यास थाल्छन्। केही दिनअघि दाङको एउटा साहित्यिक कार्यक्रममा एउटा विश्वविद्यालयका उपकूलपतिले एउटा दलको पक्षपोषण गरेर मन्तव्य दिंदा पृथक विचारधाराको समर्थन गर्ने साहित्यकाहरु उठेर हिड्नेसम्मको स्थिति सिर्जना भएको थियो। अझ लाजमर्दो विषय त के बन्ने गरेको छ भने विश्वविद्यालयका पदाधिकारी भइरहेका व्यक्तिहरु अमूक दलको भेला सम्मेलनमा प्रतिनिधि भएर सहभागी भइरहेका हुन्छन्। त्यति मात्र होइन, अमूक दलको हितका लागि प्राध्यापकहरु नै ताला बोकेर विश्वविद्यालय बन्द गर्न पनि पछि पर्दैनन्। योभन्दा प्राज्ञिक मर्यादाको मजाक अरु के हुनसक्छ ?

फेरि विश्वविद्यालयहरुमा पदाधिकारी खाली हुने समय आएको छ। एघार विश्वविद्यालयमध्ये सातवटामा उपकुलपति, रेक्टर र रजिष्ट्रारलगायत पद भदौ ५ देखि असोज ५ गतेभित्र खाली हुँदैछन्। साउन ५ देखि त्रिवि सेवा आयोगका अध्यक्षको पद खाली भइसकेको छ। बिडम्बना पद खाली हुन लागेसँगै विश्वविद्यालयको उपकूलपति बन्न दलनिकट प्राध्यापकहरूको दौडधूप शुरु भएको छ। यहाँनेर स्पष्ट हुनुपर्ने विषय के हो भने आम नागरिकको त राजनीतिक आस्था हुन्छ भने हजारौं जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय हाँक्ने व्यक्तिहरुको राजनीतिक आस्था हुनुहुुँदैन भन्ने होइन। उनीहरुको पक्षमा दल र नेताहरुको चासो पनि हुनसक्छ तर कम्तिमा विश्वविद्यालयको पदाधिकारी भइसकेपछि ऊ दलीय राजनीतिबाट पूर्णरुपमा मुक्त हुनुपर्ने प्रावधान किन नराख्ने ? नेताहरुले राजनीति बिगारे भनेर कक्षाकोठादेखि जर्नल र चियापसलसम्म बहस गर्ने प्राध्यापक र बुद्धिजीवीहरु कम्तिमा विश्वविद्यालयलाई दलीय छाया“बाट मुक्त राख्न किन नलाग्ने ? अहिले दुई तिहाई बहुमतको सरकार छ। यति शक्तिशाली सरकार चलाउने दलको विद्यार्थी संगठनले समेत विश्वविद्यालयलाई दलीय छाया“बाट मुक्त गरेर प्राज्ञिक क्षमताको आधारमा पदाधिकारी नियुक्ति गर्न औपचारिकरुपमै ज्ञापनपत्र बुझाइसकेको सन्दर्भमा यो अभियानलाई सफल बनाउन प्राज्ञिक क्षेत्र लाग्नुपर्छ। स्वतन्त्र प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्ति गर्ने र पदाधिकारी आफ्नो कार्यकालभरि कुनै दलको सदस्य बन्न नपाउने प्रावधान बनाउनेबित्तिकै विश्वविद्यालय सुधारको नयाँ अभियान शुरु हुनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top