Free songs
Home / सम्पादकीय / नेतृत्वमा बस्नेले आत्मसमीक्षा गर्नैपर्छ

नेतृत्वमा बस्नेले आत्मसमीक्षा गर्नैपर्छ

राजनीति हिंजो देश र जनताका लागि, विशुद्ध समाजसेवाका लागि भन्ने मान्यता स्थापित थियो। तर आज राजनीति एउटा पेशा वा व्यवसाय बन्ने दिशातिर उन्मुख हुन थालेको छ। २०४६–०४७ को परिवर्तनदेखि अहिलेसम्म आइपुग्दा धेरै नेताहरुले अकुत सम्पत्ति कुम्ल्याएर सात पुस्ताको बन्दोवस्त गरेको आरोप लाग्दै आयो। भ्रष्टाचारमा कतिले अदालतबाट सजाय पाए, कतिले जेल बस्नुप¥यो। बिडम्बना नै मान्नुपर्छ, जनताले अझै सजाय दिन सकिरहेको छैन। अहिले पनि भ्रष्टाचारमा नाम गन्हाएकाहरुले ठूलो धनराशी खर्च गरेर चुनाव जितेका उदाहरण थुप्रै छन्।

यो त भयो नकारात्मक पाटो,  यहाँ सकारात्मक पाटो पनि छ। जिन्दगीभरि राजनीतिमा लागेर त्याग र निष्ठा देखाउनेहरु पनि थुप्रै छन्। विश्वको उदाहरण दिनुपर्दा अब्राहम लिंकन, लेनिन, महात्मा गान्धी, होचिमिन्ह, नेलशन मण्डेलालगायत अन्य थुप्रै नेताहरुको नाम आउँछ। नेपालको सन्दर्भमा कुरा गर्दा वि.पि. कोइराला, पुष्पलाल, मनमोहन अधिकारी सम्झना गर्न योग्य पात्र हुन्। तर वि.पि. र पुष्पलाललाई गुरु मान्नेहरुको आदर्शमा खिया लाग्ने र सत्तामा पुग्नासाथ गन्हाउने परिस्थिति किन आयो ? यसबारेमा पनि समीक्षा हुन जरुरी छ।
अति शासकीय मानसिकता एउटा मनोरोग हो। यो रोग बढ्दै गयो भने मानिसले आँखा देख्न छोड्छ, दृष्टि गुमाउँछ, विवेक गुमाउँछ र बुद्धि भ्रष्ट हुन्छ। यसको परिणाम ऊ जथाभावी बोल्न थाल्छ र जे गर्न पनि तयार हुन्छ। त्यसैले जोसुकै किन नहोस्, सत्तामा बस्ने प्रत्येकले आफ्नो विगतको धरातल कदापि भुल्नुहुँदैन। म कुन पृष्ठभूमिबाट कसरी यहाँसम्म आईपुगें भन्ने कुरालाई भित्रैबाट गम्भीरतापूर्वक आत्मसमीक्षा गर्न सकियो भने कसैले पनि गलत काम गर्ने आँट गर्दैन। तर यहाँ विगतदेखि अहिलेसम्म त्यस्तो संस्कार देख्न पाइएको छैन।
नेपालमा वि.पि. र पुष्पलाललाई आफ्नो आदर्श मान्नेहरु कोही सत्तामा छन्, कोही प्रतिपक्षमा छन्। वडादेखि सिंहदरवारसम्मका छोटेबडे सत्तामा उनीहरुकै हालीमुहाली छ। त्यसमा पनि कम्युनिष्टहरुको झण्डै दुई तिहाई वर्चस्व छ। तर केही अपवाद छोडेर धेरै ठाउँमा ठीकढंगले काम हुन सकिरहेको छैन। विधि र प्रक्रिया मिचेर, कागजपत्र मिलाएर गलत काम गर्ने प्रवृत्ति बढ्दै गएको छ। अहिले धेरै ठाउँमा ‘डोजरे विकास’ र ‘असारे विकास’ को आतंक छ। अहिलेसम्म जनताले टुलुटुलु हेरिरहेको छ। कतिसम्म हेर्छ ? यो क्रम बढ्दै गयो भने लौरो बोकेर लखेट्ने परिस्थिति आउन सक्छ। त्यसैले गम्भीर आत्मसमीक्षा गर्दै सुधार गरेर लैजानुको विकल्प छैन।

पछिल्लो चरणमा राम्रो निर्णय गर्ने तर तुरुन्तै पछाडि हट्ने सरकारको चरित्रले गर्दा जनसमुदाय सशंकित र आश्चर्यचकित बन्न थालेको छ । सरकार आफ्नै निर्णय र एजेण्डाप्रति प्रतिबद्ध बन्न सकेन भने अन्ततः अनिर्णयको बन्दी बन्न पुग्छ। कुनै पनि निर्णय लिनुअघि पर्याप्त गृहकार्य र सरसल्लाह गर्नुपर्छ। सत्तामा बस्ने कोही पनि साँघुरो, घेरा र संकीर्ण सोच राखेर बस्नुहुँदैन। आफूलाई मात्र सर्वज्ञ ठान्नु त झन ठूलो गल्ती हुन जान्छ। तीनै तहका सरकारले ठीकढंगले काम गर्न सक्ने हो भने समृद्धि र विकास सम्भव छ। अन्यथा केही टाठाबाठाहरु समृद्ध बन्नेछन्, आमनागरिकको जीवनमा कुनै परिवर्तन आउनेछैन। त्यसैले आर्थिक विकास र समृद्धि हासिल गर्ने हो भने बेथितिको जग भत्काउन सक्नुपर्छ। यसका लागि शुद्ध, इमानदार, प्रतिबद्ध र चोखो नेतृत्व चाहिन्छ। के नेपालमा यस्तो नेतृत्व चाहिन्छ ? के नेपालमा यस्तो नेतृत्व अझै जन्मन नसकेको हो ?

निष्ठा र आदर्शविनाको राजनीति टिकाउ हुँदैन। छिमेकी भारतमा कांग्रेस (आइ) र कम्युनिष्ट पार्टीहरुको हालत देखेर नेपालका कांग्रेस–कम्युनिष्टहरुले शिक्षा लिन सक्नुपर्छ। पूर्वी युरोपमा कम्युनिष्ट शासन किन धराशायी भयो, त्यसको अध्ययन गरेर शिक्षा लिन सक्नुपर्छ। चीन कसरी अगाडि बढ्दैछ ? भारतमा मोदीको उदय कसरी भयो ? यस्ता विषयहरुको गम्भीर अध्ययन जरुरी छ। कसैले पनि आफूलाई सर्वज्ञ र ज्ञाता ठान्नुहुँदैन। राम्रोको अनुकरण र नराम्रोलाई त्याग्न सक्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top