Free songs
Home / सम्पादकीय / वार्ता गर, मुलुकलाई क्षतिबाट बचाऊ

वार्ता गर, मुलुकलाई क्षतिबाट बचाऊ

मुलुक नजानिदो गरी फेरि द्वन्द्वको भुमरीमा फस्दैछ। द्वन्द्व कुन स्तरको हुने हो, कहाँसम्म पुग्ने हो अहिले नै भन्न गाह्रो भए पनि घटनाक्रमको प्रवृत्ति हेर्दा मुलुक द्वन्द्वतर्फ अग्रसर भइरहेको देखिन्छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरिरहेका गतिविधि र यसमाथि सरकारले लगाएको प्रतिबन्धका कारण मुलुक असजिलो मोडतिर जान थालेको देखिन्छ। घोषितरुपमा युद्ध शुरु भएको छैन तर मान्छे मारिने क्रम शुरु भइसकेको छ। अहिलेसम्म दशजनाको ज्यान गइसकेको छ। जसमध्ये आठजना विप्लव नेकपाका कार्यकर्ता, एकजना प्रहरी र एकजना आम नागरिक रहेका छन्। विप्लव नेकपाले काठमाडौंको नख्खुस्थित एनसेल टावरमा राखेको बम बिष्फोट हुँदा एकजना नागरिकको ज्यान गएको थियो। यही घटनाबाट नै मान्छे मारिने क्रम शुरु भयो। त्यसपछि गत जेठमा प्रहरीको गोलीबाट भोजपुरमा एक युवाको ज्यान गयो, केही समयपछि काठमाडौंमा आफैले गराएको विष्फोटनमा पाँच कार्यकर्ताको ज्यान गयो। केही दिनअघि मात्रै सर्लाहीमा प्रहरीको गोलीबाट सो जिल्लाका इञ्चार्ज मारिए भने हिजो मात्रै फेरि भोजपुरमा एक प्रहरी र एक विप्लव कार्यकर्ताको ज्यान गएको छ।

प्राविधिकरुपमा घटनाका प्रकृति कहाँ के भए, यो एउटा पाटो हो। यो पाटोको पनि पर्याप्त अनुसन्धान भएर सत्यतथ्य प्रतिवेदन चाहि“ जनताबीच सार्वजनिक गर्नैपर्छ। योभन्दा महत्वपूर्ण कुरा मुलुकलाई फेरि द्वन्द्वमा धकेलिन दिनुहुुँदैन। केही महिनाको अन्तरमा दशजनाको ज्यान गइसकेको छ। यो सामान्य घटना होइन। राजनीतिक कारणले यति धेरै नागरिकको ज्यान जानु देशका लागि गम्भीर क्षति हो भने राजनीति गर्नेहरुका लागि सोचनीय विषय हो। नेपालले दश वर्ष लामो द्वन्द्व ब्यहोरेको छ। यो बीचमा सत्र हजारको ज्यान गएको छ। हिजो पनि द्वन्द्व हुनुह“ुदैनथ्यो तर एउटा कालखण्डमा भएको द्वन्द्व अब इतिहास भइसकेको छ। त्यतिबेला भएको द्वन्द्व सही या गलत भनेर अहिले बहस गर्नुभन्दा पनि त्यतिबेला भएको क्षतिको घाउमा मलम लगाउँदै त्यसबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्नु र थप अगाडि बढ्ने आधार तयार पार्नु आजको आवश्यकता हो।

नीतिगतरुपमा नयाँ संविधान जारी भएको छ भने संरचनागतरुपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वलगायतका नयाँ सिद्धान्त स्थापित भएर राज्य सञ्चालनका अंग बनिसकेको अवस्था छ। बिर्सन नहुने कुरा के हो भने हिजोको राज्यव्यवस्था बचाउन लागेका शक्तिहरुबाहेक बाँकी सबै आन्दोलनकारी शक्ति आजको राज्य व्यवस्थाका हकदार हुन्। हिजोकै व्यवस्था बचाउन लागेका र आज पनि अवसर कुरेर बसेका पुनरुत्थानवादी शक्तिबाहेक बाँकी सम्पूर्ण शक्ति आजको राज्य व्यवस्थाका अंग हुन्। विप्लव नेतृत्वको नेकपाका अधिकांश नेता कार्यकर्ता यही परिवर्तनका लागि योगदान गर्ने व्यक्तिहरु हुन्, उनीहरु आफैले मात्र योगदान गरेनन्, उनका कैयौं आफन्त र शुभचिन्तकले यो व्यवस्थाका लागि रगत बगाएका छन्। यहींनेर प्रश्न उठ्नसक्छ, त्यो बलिदान यही व्यवस्थाका लागि मात्रै थियो त ? निश्चय नै त्यतिबेलाको लक्ष हेर्दा अलि अघि बढ्ने नै थियो होला तर अहिले प्राप्त उपलब्धिमा ती नेताहरुको पनि महत्वपूर्ण योगदान छ भन्ने कुराको बोध दुबै पक्षले गर्न जरुरी छ।

संयोगले अहिले सुरक्षा निकायको प्रशासनिक नेतृत्व सम्हालेका गृहमन्त्री र अर्धबिद्रोही नेता विप्लव एउटै मोर्चामा लडेका नेता हुन्। आजको उपलब्धिप्रति त्यही तहका नेताहरु एकमत हुन नसक्नु बिडम्बना हो। आज सरकारमा भएका नेताहरुले आफ्नो पृष्ठभूमि र हिजोको राजनीतिक आन्दोलनको प्रकृति बिर्सनुहुँदैन। हिजो दमनकै कारण माओवादी बिद्रोह फष्टाएको यथार्थमा कसैले पनि आँखा चिम्लन मिल्दैन। ठीक त्यसैगरी बिद्रोहको मनस्थितिमा देखिएका नेताहरुले पनि आजको उपलिब्धमा आफूहरुको पनि रगत पसिना छ भन्ने बिर्सनुहुँदैन। कुनै पनि राजनीतिक परिवर्तन सधंैका लागि पूर्ण हुँदैनन्। एक चरण अघि बढे अर्को चरणका लागि अघि बढ्ने ढोका खुला नै हुन्छ तर त्यसरी अघि बढ्ने बाटो सधंै एकनाशको हुन्छ भन्ने सोच सही हुनसक्दैन। विप्लव नेकपाका नेता कार्यकर्ताले बुझ्नैपर्ने अर्को यथार्थ के छ भने अहिलेका जुन तमाम बेथिति र बिसंगति छन्, बेथितिविरुद्ध शान्तिपूर्णरुपमा नै आन्दोलन गर्ने हो भने पनि ठूलो जनसमर्थन प्राप्त गर्ने अवस्था छ। जनताले इमानदार वैकल्पिक शक्ति खोजिरहेका छन्। शान्तिपूर्णरुपमा आफ्नो राजनीतिक गतिविधि अघि बढाएर त्यो राजनीतिक स्पेश पूरा गर्न विप्लव तयार हुने हो भने त्यो पार्टीका लागि पनि राजनीतिक नेतृत्व गर्ने महत्वपूर्ण अवसर आउन सक्छ। अन्यथा द्वन्द्वकै बाटोमा अघि बढ्ने हो भने कसैको पनि हित हुँदैन र मुलुकले अब द्वन्द्व धान्न पनि सक्दैन। त्यसैले कम्तिमा अबका केही वर्ष नेपाली जनताका लागि द्वन्द्व स्वीकार्य हुनसक्दैन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top