Free songs
Home / फिचर समाचार / भुसको आगो झैं सल्कदै ‘मिटर ब्याज’

भुसको आगो झैं सल्कदै ‘मिटर ब्याज’

 

दशरथ घिमिरे

देउखुरी। लमही नगरपालिका वडा नं. ५ निवासी वलवीर नेपाली २०६६ सालमा वैदेशिक रोजगारीमा कतार जानुभयो। यता घरमा रहनुभएकी उहाकी श्रीमती दीपा नेपालीले चर्काे व्याजदरमा रकम खेलाउन थाल्नुभयो। घर खर्चको नाममा कागज गर्दै लाखौं रुपैया ऋण लिएपछि तिर्न सक्ने अवस्था भएन। ऋण दिएकाहरुले ताकेता गर्न थाले। व्यक्तिगत र समूहको तर्फबाट ऋण दिएकाहरुमा छटपटी
छुट्यो। गास काटेर जम्मा गरेको रकम ऋण दिएकाहरु रकम नउठेपछि समस्यामा परे। रकम नउठेपछि न्यायिक समिति गुहार्न पुगे। लमही नगरपालिकामा गठन भएको न्यायिक समितिले दुबै पक्षको सहमतिमा दीपा नेपाली र उहा“का श्रीमान वलवीर नेपाली साक्षी बसेर रकम तिर्ने कागज तयार भयो।

०७४ माघ ११ गते न्यायिक समितिका संयोजक देवका बेलबासे, सदस्य कुमार भट्टराई र कृष्ण घिमिरेको उपस्थितिमा मासिक ५० हजारको दरले रकम भुक्तानी गर्ने लिखित सहमति गरियो। तर सहमति अनुसारको रकम वलवीरलेदिनुभएन। वलवीरले श्रीमतीले आफूलाई नसोधेर कारोवार गरेकाले श्रीमतीले बोकेको ऋण नतिर्ने दाबी गर्नुभएको छ।

एकै व्यक्तिलाई १३ जनाले २५ लाख तीन हजार रुपैया“ लगानी गरेको पाइएको छ। रकम उठाएर वलवीर नेपालीकी श्रीमती अहिले घर छोडेर कतारमा हुनुहुन्छ। दुई वर्षपछि घर आउनुभएका वलवीरले श्रीमतीले लगाएको ऋण आफूले तिर्न नसक्ने भन्दै पत्रकार सम्मेलनगरी घटना बाहिर ल्याउनुभएको छ। ‘के कामको लागि यतिधेरै रकम लिएकी हुन, केही जानकारी छैन’– वलवीरले भन्नुभयो– ‘मेरो त घरबारै बिग्रियो। न घर रह्यो न सम्पत्ति नै। घरमा ताला लागेको छ। बस्न सक्ने अवस्था छैन।’

वलवीरले श्रीमतीले चर्काे व्याजमा लिएको रकम तिर्न नसकेपछि बल्ल मात्रै आफूले थाहा पाएको बताउनुभयो। ‘मलाई केही थाहा थिएन। एकै पटक बैंकले जग्गा रोक्का गरेपछि थाहा पाए’– उहाले भन्नुभयो– ‘तीन छोराछोरी छन्। उनीहरुको पनि बिचल्ली भयो।’ वलवीरलाई भएभरको सम्पत्ति बेचेर पनि तिर्न नपुग्ने ऋण लागेको छ।

मिटर ब्याजको समस्या भित्रभित्रै

चर्काे व्याजदरमा रकम लिने तर त्यो रकम नतिर्ने व्यक्तिको संख्या बढ्दै गएको छ। यस्तो लेनदेनमा महिलाहरुको संलग्नता बढी रहेको पाइएको छ। उदाहरणका लागि एक लाख रुपैया“ ऋण चाहिएको छ भने ऋण मिलाइदिनेले एक लाख रुपैया“को कागज गरेर ९० हजार मात्रै उपलब्ध गराउने, एक हप्ताको एक लाख रुपैया“को व्याज दश हजार रुपैया“ लिने र सोही अनुसार रकम नतिरे एक हप्ताको दश हजारको दरले व्याज थपिने गरेको पाइएको छ। यस्ता समस्याहरु हत्तपत्त बाहिर आउ“दैनन्। कारोवार बिग्रिएपछि मात्रै लेनदेन समस्या बाहिर आउने गरेका छन्। प्रहरी कार्यालय, न्यायिक समितिसम्म समस्या पुगे पनि दुबै पक्षको सहमतिमा लेनदेनको कागज गरेर समस्या समाधान गर्ने गरिएको छ।

तर, यस्ता उजुरी अदालतसम्म पुग्ने गरेका छैनन्। मिटर व्याजमा रकम लगानी गर्नेहरुले व्यक्तिको अवस्था र कारोवार नहेरिकनै लगानी लगाउने गरेको पाइएको छ। एउटा समूहबाट ऋण निकालेर अर्काे व्यक्तिलाई महंगोमा व्याज लगाउने र व्याजलाई आम्दानीको रुपमा लिने गरिएको छ। ‘हामीले लेनदेनको मुद्दा हेर्दैनौं। समस्या आयो भने अदालत जान सल्लाह दिन्छौं’– वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले भन्नुभयो– ‘बाहिर–बाहिर मिटर व्याजको हल्ला छ। तर हामीकहा“ मिटर व्याजकै समस्या भनेर उजुरी आएका छैनन्।’

तर न्यायिक समितिमा भने सापटी लगेको रकम उठेन छलफल गराइदिनुप¥यो भनेर दैनिकजसो निवेदनहरु दर्ता हुने गरेका छन्।
बैंक, वित्तीय संस्था र सहकारीले भन्दा बढी ब्याज दिने र पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिस पर्ने गरेका छन्। सामान्य मजदुरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोवारमा संलग्न छन्। विदेशबाट आएको रेमिट्यान्स, ढुकुटी बुझेर तथा बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने गरिएको छ। यस्तो अबैध कारोवारको नेतृत्व गर्ने र ठगिनेमा पुरुषभन्दा बढी महिला छन्। यसरी मिटर व्याजमा रकम लगानी लगाउने कार्य नै अबैधानिक हो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top