Free songs
Home / समाचार / संक्षिप्त समाचार / जनप्रतिनिधिलाई कुट्नेमाथि कारवाहीको माग

जनप्रतिनिधिलाई कुट्नेमाथि कारवाहीको माग

यमलाल भुसाल

बुटवल,  स्थानीय चुनावमा संगै प्रतिस्पर्धी रहेका रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० का वडा सदस्यमाथि कुटपिट गर्नेलाई किटानी जाहेरी दिदा पनि प्रहरीले पक्राउ नगरेको भन्दै जनप्रतिनिधिले शान्ति सुरक्षाको माग गरेका छन्।

उक्त वडाका सदस्य यमबहादुर थापालाई स्थानीय निर्वाचनमा स“गै प्रतिस्पर्धी रहेका विश्वास गुरुङको नेतृत्वमा आएका युवाहरुले यही असार १८ गते हातपात गरी अभद्र व्यवहार गरेको वडाध्यक्ष एकबहादुर सुनारले पत्रकार सम्मेलन गरी जानकारी गराउनुभयो। असार १८ गते नेपाल विद्युत प्राधिकरणद्वारा देवदह नगरपालिका वडा नं. १० चरङ्गेका बिपन्न घर परिवारलाई नेपाल सरकारद्वारा निःशुल्क उपलब्ध गराएको विद्युत मिटर बक्स वितरण समारोहमा वडा सदस्य थापामाथि गुरुङको नेतृत्वमा आएका युवाले हातपात गरेको पत्रकार सम्मेलनमा सोही वडाका सदस्य अमर लामिछानेले बताउनुभयोे।

नेपाल विद्युत प्राधिकरण बुटवलबाट गएको प्राविधिक टोली र वडा कार्यालयको रोहवरमा २९ घरका विपन्न परिवारलाई विद्युत मिटरबक्स वितरण गरिएको बताइएको छ। सो सम्बन्धमा नेपाल विद्युत प्राविधिकरण बुटवल शाखाका प्रमुख सञ्जय मिश्रलाई सम्र्पक गर्दा फोन उठाउनु भएन। निर्वाचित जनप्रतिनिधिले वडामा राम्रो काम गरेको र वडावासी जनप्रतिनिधिको पक्षमा देखिएकाले आफ्नो राजनीतिक अभीष्ट पूरा हुन नसक्ने देखेर राजनीतिक पूर्वाग्रहका कारण वडा सदस्य थापामाथि हातपात गरिएको अध्यक्ष सुनारले बताउनुभयो। पत्रकार सम्मेलनमा घटना भएको भोलिपल्ट असार १९ गते नै किटानी जाहेरी दिएकोमा एक सातासम्म पनि प्रहरीले पक्राउ गर्न नसक्दा जनप्रतिनिधिहरुले असुरक्षित महसुस गरेको बताएका छन्।

वडाध्यक्ष सुनारले विश्वास गुरुङले आफ्नो जनप्रतिनिधि यमबहादुर थापा माथि गाली बेइज्जती गर्नुका साथै हातपात गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा सार्वजनिक मुद्दा दर्ता गराएको बताउनुभयो। यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देवदह नगरपालिका वडा नं. १० रुपन्देहीले प्रेस विज्ञप्ति निकालेर अति बिपन्न घर परिवारलाई वितरण गर्नुपर्ने बिद्युत मिटरबक्स सम्पन्नशाली परिवार, आफ्ना वडा सदस्य र आफ्नो नजिकका व्यक्तिलाई दिएको भन्दै त्यसो नगर्न आग्रह गर्दा वडा सदस्य यमबहादुर थापा एक्कासी आक्रोशमा आई जथाभावी गालीगलौज र हातपात गर्न खोज्दा विश्वास गुरुङले प्रतिरक्षा गरेको उल्लेख गरिएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले आवश्यक अनुसन्धान अगाडि बढाइएको र विश्वासको खोजी भइरहेको बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top