Free songs
Home / सम्पादकीय / समृद्धिको केन्द्रबिन्दु देश र जनता बन्न सक्नुपर्छ

समृद्धिको केन्द्रबिन्दु देश र जनता बन्न सक्नुपर्छ

लामो राजनीतिक अस्थिरता र द्वन्द्व व्यहोरेको नेपाली समाजमा नयाँ संविधानको घोषणा र दुई तिहाई बहुमतप्राप्त सरकारको गठनसँगै विकास र समृद्धिको बाटोमा अग्रसर हुने आकांक्षा जागृत हुनु स्वाभाविक थियो। नेपाली समाजले छोटो अवधिमै तीब्र आर्थिक विकास र समृद्धि चाहेको छ। यो भनेको अत्यन्त महत्वाकांक्षी मनोविज्ञान पनि हो। राजनीतिक दल र नेताहरुले बाँडेका विकास र समृद्धिका नाराले समेत यस्तो मनोवैज्ञानिक प्रभाव बढाउने काम गरेको सत्य हो।

आर्थिक विकास र समृद्धिको नारा जति कर्णप्रिय छ, त्यत्तिकै कठिन र चुनौतीपूर्ण छ। अहिले देशका लाखौं युवा जनशक्तिले विदेशी भूमिमा पसिना बगाइरहेका छन्। देशभित्र उद्योगधन्दा र रोजगारीका अवसरहरु सिर्जना गरेर ती युवाहरुलाई स्वदेशमा फिर्ता ल्याउने गरी योजना बनाउन जरुरी छ। तर यस दिशामा उल्लेख्य काम हुन सकेको छैन। देशभित्र उत्पादन नबढाएर रेमिट्यान्सको भरमा उच्च आर्थिक बृद्धि दर हासिल गर्न सकिन्न। भइ नै हाल्यो भने पनि त्यो भरपर्दो र दिगो हुँदैन।

अहिले मुलुकको ठूलो शत्रु भ्रष्टाचार बनेको छ। यो पनि विकास र समृद्धिको बाधक हो। अहिले भ्रष्टाचार सबै क्षेत्रमा झा“गिएको छ। यसको सबैभन्दा बढी प्रभाव राजनीतिक र प्रशासनिक क्षेत्रमा देख्न सकिन्छ। गाउँ तहको वडा सदस्यदेखि मन्त्रिपरिषद् सदस्यसम्मलाई र कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मलाई चोखो राख्न सकियो भने राज्य संयन्त्रबाटै भ्रष्टाचार न्यूनीकरणको अभियान सम्भव हुनेछ। वर्तमान दुई तिहाई बहुमतप्राप्त सरकारसँग यस्तो गर्ने हिम्मत छ ? भ्रष्टाचार नियन्त्रण गर्ने बलियो संयन्त्र बनाउने सरकारसँग कुनै योजना नै नभएको जनताले महसुस गर्न थालेका छन्। त्यसकै परिणाम हो भ्रष्टाचार हिजोभन्दा आज झन बढेको छ, यो गाउँ तहसम्म फैलिएको छ। विकासे अड्डाहरु भ्रष्टाचारका अखाडा बनिरहेका छन्। यो लूटतन्त्र नरोकेर विकास र समृद्धि आउनेछैन। अहिलेको मौका भनेको दुई तिहाई बहुमतप्राप्त सरकार र सत्तारुढ दल नेकपाका लागि सुवर्ण अवसर हो। यस्तो अवसर इतिहासमा बिरलै प्राप्त हुने गर्दछ। यसलाई सदुपयोग गर्न सकिएन भने भविष्यमा पछुताएर र बिलौना गरेर बस्नुपर्नेछ। अझै तीन वर्ष बाँकी छ। सुधारेर काम गर्न थालियो भने धेरै नै बिग्रिहालेको अवस्था छैन। विगतलाई फर्केर हेर्दा राम्रो लक्षण देखिनुपथ्र्यो । तर स्थिति बिग्रिएर जाने हो कि भन्ने आशंका बढ्न थालेको छ। सरकार रक्षात्मक बन्न थालेको आभाष जनताले गर्न थालेका छन्। यो भनेको अल्पमतको सरकार हैन, पूर्ण बहुमतको, दुई तिहाईको सरकार हो। यसले गर्ने हरेक निर्णयहरु परिपक्व हुन जरुरी हुन्छ। तर सरकार आफ्ना धेरै निर्णयबाट धर्मराएर पछाडि हट्ने काम गरिरहेको छ। समृद्धि र विकासको लक्ष हासिल गर्ने हो भने यस्ता प्रवृत्तिबाट मुक्त हुन सक्नुपर्छ।

हामी यतिसम्म परावलम्बी भइसक्यांै कि भारतबाट आयातित विषादीयुक्त तरकारी खान तयार छौं । तर देशभित्र हप्ता दिन महिना दिनमा उत्पादन गर्न सकिने तरकारी खेती गर्न चाहन्नौं। निर्वाधरुपमा विषादीयुक्त तरकारी खाएर असामयिकरुपमा जीवन गुमाउने र ठूलो धनराशी औषधि उपचारमा खर्च गर्ने बाध्यात्मक परिस्थितिमा नागरिकहरु पुग्दैछन्। विदेशबाट आउने तरकारीको जाँच गर्ने हैन, आयातमै प्रतिबन्ध लगाएर स्वदेशी उत्पादन बढाउने अभियानमा लाग्न सक्नुपर्छ। त्यसले हामीलाई आत्मनिर्भरतातर्फ लाग्न बाध्य बनाउनुका साथै समृद्धि र विकासका लागि प्रेरित गर्नेछ। समृद्धि आकाशबाट वर्षने होइन, मुलुकमा उत्पादन बढाएर र रोजगारीका अवसरहरु सिर्जना गरेर नै प्राप्त गर्न सकिन्छ। यसका लागि देश र जनतालाई केन्द्रमा राखेर नीति निर्माण गर्न सक्नुपर्छ। अहिलेसम्म हुन नसकेको काम नै यही हो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top