Free songs
Home / सम्पादकीय / ऐतिहासिक स्थल संरक्षणको दायित्व

ऐतिहासिक स्थल संरक्षणको दायित्व

संसारमा धेरै चीज बनाउन मिल्छ तर एउटा चीज बनाउन मिल्दैन, त्यो हो इतिहास। हामीले आज जति इतिहास पढिरहेका छौं, ती सबै हिजोका घटना हुन्। भोलि जति इतिहास बन्नेछन्, ती सबै आजका घटना हुन्। आजको घटना भोलि इतिहास बन्छ। मानव समाजमा हुने सबैखाले घटना मानिसकै कारण हुने हो। तर ती घटना कसैले बनाउँछु भनेर बनेका होइनन् वा भोलि इतिहास लेख्नका लागि आज घटना गराउँछु भनेर पनि घटना हुने होइन। त्यसैले इतिहास मानिसकै बीचबाट, मानिसकै कारण बनेको हुन्छ। तर मानिसले यस्तै बनाउँछु भनेर मात्रै इतिहास बन्दैन। अर्को सत्य पनि छ, इतिहास तब मात्र बन्छ, जब ऐतिहासिक घटनाको संरक्षण गरिन्छ। नेपालमा ठूलाठूला राजनीतिक उथलपुथल भए, जसले भोलि इतिहास बन्ने हैसियत पनि राख्दछन्। तर सबै घटनाको अभिलेख राख्न सकिएको छैन। यसतर्फ नीति निर्माताको खासै ध्यान जान सकेको छैन। जनस्तरमा पनि चासो कम देखिन्छ। दैनिक घटनाको विरोध र समर्थनमा आवाज उठ्ने गरे पनि व्यापकरुपमा अध्ययन अनुसन्धान गर्ने, ऐतिहासिक अभिलेखीकरण गर्ने आदि क्षेत्रमा कसैको ध्यान जान सकेको छैन।

हिजोका ऐतिहासिक स्थल संरक्षण नगर्दा अहिले धेरै चीज हराइसकेका छन्। चाहे बाइसे चौबीसे राज्यको पालाको इतिहास होस्, चाहे गढी र लेकहरुको इतिहास। यी सबै किंवदन्तीमा मात्रै सीमित छन्, जो एउटा पुस्ता सकिएसँगै इतिहास पनि सकिन्छ। नेपालको इतिहासमा दश वर्षसम्म सशस्त्र लडाइ“ चल्यो। यो लडाइ“ लड्ने पुस्ता अहिले पनि जीवित नै छ। त्यति मात्र होइन, लडाइ“को नेतृत्व गर्नेहरुको ठूलो पंक्ति अहिले पनि कुनै न कुनै रुपमा राज्य सञ्चालनको जिम्मेवारीमा रहेको छ। तर उनीहरु आफैले नेतृत्व गरेको लडाइ“को क्रममा बनेका कयौं ऐतिहासिक स्थल र वस्तुको संरक्षणमा उनीहरुको नै चासो देखिदैन। कतिपय स्थानीय तहको नेतृत्वले आफ्नै पहलमा ऐतिहासिक पर्यटनको विकास गर्न ऐतिहासिकस्थल संरक्षणमा ध्यान दिए पनि बाँकी केन्द्रीय तहबाट खासै चासो पुग्न सकिरहेको छैन।

हाम्रो आसपासकै सन्दर्भमा चर्चा गर्ने हो भने पनि दाङमा युद्धकालमा ठूलाठूला हत्याकाण्ड भए। बर्गदी, बेलुवा र फूलबारीका हत्याकाण्ड अन्तर्राष्ट्रियस्तरमै चर्चा हुन योग्य हत्याकाण्ड हुन्। कतै धान दाइरहेका त कतै पेन्ड्या  खाइरहेका किसान अनि कतै तिजको तयारीमा मासु काटिरहेका स्थानीयवासीहरु माथि राज्यले जुनखालको बर्बर हमला गरेर कयौंको ज्यान लिएको थियो, यी घटना हरेक कोणबाट लामो समयसम्म सम्झनलायक छन्। जनताको अधिकार, मानवअधिकार, किसान आन्दोलन आदि धेरै कोणबाट भोलि चर्चा भइरहने प्रसंग हुन् यी। तर यी घटना भएका स्थानको आवश्यक संरक्षणतर्फ ध्यान जान सकेन। पीडित पक्षकै जोडबलमा स–साना काम हुँदैछन्। तर ऐतिहासिक स्थल संरक्षणकै अभियान थालेर माथि चर्चा गरिएका कतै पनि नमूना काम हुन सकेका छैनन्। किसानहरु जुन थलोमा मारिए, ती थलोमै ऐतिहासिक स्मारक बनाइनुपथ्र्यो तर ती जमिनमा प्लटिङ गरेर बिक्री गर्ने काम भइसकेको छ।

दाङको अर्को संरक्षण गर्नुपर्ने स्थल हो– सक्राम। हाल तुलसीपुर उपमहानगरपालिकाभित्र पर्ने सक्राममा लामो समयसम्म तत्कालीन माओवादी जनसेनाका क्याम्प थिए। एउटा बाहिनी तहकै क्याम्प त्यहाँ बसेको थियो। अहिले पनि थुप्रै भौतिक पूर्वाधार रहेका छन्। तर यसको संरक्षण र योजना निर्माणतिर राज्यको ध्यान जान सकेको छैन। भोलि नयाँ पुस्ताका लागि यो रोचक इतिहास बन्नसक्छ। तर इतिहास नबन्दै पुरिने खतरा पनि उत्तिकै छ। पछिल्लो समयमा तुलसीपुर उपमहानगरपालिकाले युद्ध संग्रहालय बनाउने चर्चा पनि चलेको छ। ढिलै भए पनि यो चर्चा सही छ। तर संघीय र प्रदेश सरकारको सहयोगविना यो काम सम्पन्न हुने देखिदैन। स्थानीय सरकारको लगानीमा गुरुयोजना निर्माण गरेर यसमा संघीय र प्रदेश सरकारको लगानी सुनिश्चित गर्नसक्नुपर्छ। हामी सयौं वर्ष पुराना इतिहासको खोजीमा चासो देखाउँछौं तर आँखै अगाडि भत्कदै गएको इतिहासप्रति ध्यान दिदैनौं। सक्रामसँगै रोल्पाको दहवन, उँघा, टिला, खारा, रुकुमकोट, महत, थवाङ, पाछावाङ, घर्तीगाउँ, होलेरीलगायत ऐतिहासिकस्थलको संरक्षण विकासमा ध्यान दिन अब ढिला भइसकेको छ। अब पनि यी काम नगर्ने हो भने संभावित इतिहास माटोमा मिसिने निश्चित छ। इतिहासलाई इतिहासकै रुपमा संरक्षण गर्ने र माटोमा मिसिन नदिने यसको व्यवहारिक जवाफ दिने दायित्व ऐतिहासिक आन्दोलनको पृष्ठभूमिबाट आएको वर्तमान सरकारकै हो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top