Free songs
Home / सम्पादकीय / पानी पर्यो, मल छैन

पानी पर्यो, मल छैन

निकै लामो प्रतीक्षापछि असारको दोस्रो साता प्रारम्भ भएसँगै देशैभरि पानी परेपछि आम नागरिकले शीतलता महसुुस गरेका छन् भने खेतीपाती गरेर जीवन चलाउने किसानहरु खुशी भएका छन्। मध्य असारसम्म खेतीपाती गरिसक्ने अधिकांश किसानहरु ढिलो वर्षाका कारण निकै छट्पटाएका थिए। वर्षा नहुँदा अत्यधिक गर्मीले नागरिक जीवन कष्टकर बन्न पुगेको थियो।

नेपाल कृषिप्रधान मुलुक भए पनि यहाँको अधिकांश खेतीपाती आकाशे पानीको भरमा चल्दै आएको छ। यहाँको खेतीयोग्य जमिन ९१ हजार
हेक्टर रहेकोमा नौ प्रतिशत जमिनमा मात्रै सिंचाई सुविधा उपलब्ध छ। यस्तो अवस्थामा मौसमकै भर परेर खेतीपाती गर्नुपर्ने बाध्यता हुन्छ। मौसमकै कारण उत्पादनमा तलमाथि भइरहने अवस्था रहन्छ। जसको प्रत्यक्ष मार किसानहरुमाथि पर्दै आएको छ।

असारको दोस्रो सातामा पानी परे पनि अहिलेसम्म रासायनिक मल उपलब्ध हुन सकेको छैन। नेपाली किसानलाई प्रकृतिले मात्रै ठगेको छैन, राज्य र सरकारबाट पनि उनीहरु ठगिदै आएका छन्। अहिले उनीहरुले आफ्नो पैसा खर्च गरेर मलसमेत किन्न पाइरहेका छैनन्। मलमा अनुदान दिने कुरा त त्यत्तिकै हराएर गएको छ। उल्टै सीमावर्ती भारतीय बजारबाट ब्लेकमा किन्नुपर्ने बाध्यतामा कतिपय किसानहरु छन्।
किसानले गर्ने खेतीपाती आफ्नो निजी कृषि कर्म जस्तो देखिए पनि राष्ट्रिय उत्पादनमा सहभागी भएर उनीहरुले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका हुन्छन्। सरकारले दिने अनुदान बीउ, औजार र कीटनाशक औषधि अहिले पनि हलो जोत्ने किसानसम्म पुग्न सकिरहेको छैन। परम्परागत शैलीकै खेतीपातीले गर्दा यो पेशा निर्वाहमुखी मात्रै बनेको छ। अब यसमा आमूल परिवर्तन गरेर कृषिको औद्योगिकरण र व्यवसायीकरण गर्नेतर्फ लाग्नुपर्छ। तर अहिलेकै पारामा यो काम सम्भव छैन।

मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढाउने हो भने यसको शुरुवात कृषिबाटै गर्नुपर्छ। कृषि उत्पादनदेखि फलफूल र पशुपालनलाई सँगसँगै अगाडि बढाउन सक्नुपर्छ। भौगोलिक विविधता भएको हाम्रो देशमा यो काम अझ सहजताका साथ सम्भव छ।
अहिले कृषिको विकासमा एउटा ठूलो तगारोको रुपमा युवा जनशक्तिको अभाव रहेको छ। धेरै नेपाली युवा वैदेशिक रोजगारीका क्रममा विदेशी भूमिमा पसिना बगाइरहेका छन्। कतिले त आफ्नो जीवनसमेत गुमाइरहेका छन्। अब नेपाली युवाहरुलाई विदेशी भूमिमा पसिना बगाउन पठाउने हैन, स्वदेशमै उत्पादनमूलक काममा लगाउन सक्नुपर्छ। उनीहरुलाई कृषि पेशामा आकर्षित गर्न उत्प्रेरणा र प्रोत्साहनका कार्यक्रम ल्याउन जरुरी छ।

सरकारले कृषिका लागि आवश्यक पर्ने रासायनिक मलसमेत सहजढंगले आपूर्ति गर्न नसकिरहेको अवस्था छ। यो भनेको घोर लापरवाही र गैरजिम्मेवारपन हो। यस्तै प्रवृत्तिले गर्दा दुई तिहाइ बहुमतको सरकारप्रति जनता विश्वस्त हुन सकिरहेका छैनन्। कृषिप्रधान देशमा एउटा मल कारखाना खोलेर सहजढंगले वितरण व्यवस्थापन मिलाउने कामसम्म हुन सकिरहेको छैन। यसले पनि कृषि क्षेत्र अझै राज्यको प्राथमिकताभित्र पर्न नसकेको बुझ्न गाह्रो हुँदैन।

पानी कहिले पर्ला र खेती शुरु गरौंला भनेर आकाशतिर हेर्दै गरेका किसानहरुले पानी परे पनि मल नपाउने अवस्था छ अहिले। कसको लापरवाहीले यस्तो अवस्था आएको हो, यो छानविनको विषय हो। मल खरिद गर्ने काममा लापरवाही भएकोले किसानले खेती गर्ने समयमा मल नपाउने निश्चित जस्तै छ । ग्लोबल टेण्डर गर्नेदेखि लिएर ढुवानी गर्ने काममा समेत गैरजिम्मेवार प्रवृत्तिले काम गरेको छ । कर्मचारी मात्र हैन, विभागीय मन्त्रीबाटै त्रुटि भएको हो भने कारवाहीको भागि दार बनाउनैपर्छ। अन्यथा जसले जे गरे पनि हुने भयो। जिम्मेवारी र जवाफदेहिता समाप्त हुने भयो।

राज्यले चाहने हो भने कृषिलाई सबैभन्दा राम्रो र इज्जतदार पेशा बनाउन सकिन्छ। मलखाद, बीउ विजनको सर्वसुलभता, सिंचाईको व्यवस्था, उत्पादनको बजारीकरण, न्यूनतम ब्याजमा बैंक ऋणको व्यवस्था, किसानलाई योगदानमा आधारित पेन्सन दिन सकियो भने कृषिप्रतिको आकर्षण धेरै बढेर जानेछ। अहिले त नेपाली किसानहरुले धेरै भुक्तमान र सास्ती पाएका छन्। त्यसको तुलनामा प्राप्त गरेका सेवा सुविधाहरु अत्यन्तै न्यून छन्। अब पुरानो सोचाइ र दृष्टिकोणमा आमूल परिवर्तन गरेर नयाँढंगले सोच्न र योजना बनाउन जरुरी छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top