Free songs
Home / सम्पादकीय / राजमार्गको बिजोग

राजमार्गको बिजोग

पूर्व–पश्चिम राजमार्गको दाङ खण्डमा खाल्टाखुल्टीले यातायात कष्टपूर्ण भएको छ। सडकका विभिन्न खण्डमा खाल्टा परेको एक वर्ष भए पनि मर्मत नहुँदा राजमार्गको यात्रा निकै कष्टसाध्य हुने गरेको छ। गर्मीमा धुलोका कारण यात्रा कष्टपूर्ण थियो भने अब वर्षात शुरु भएपछि पनि समस्या आउने निश्चित छ। खाल्टाखुल्टीका कारण हरेक दिनजसो दुर्घटना भइरहेका छन्। दुर्घटनाका कारण केहीको ज्यान पनि गइसकेको छ। पश्चिम नेपालको जीवनरेखाको रुपमा रहेको यो सडकको अवस्था दयनीय भए पनि एक वर्षदेखि मर्मत हुन सकिरहेको छैन। राजमार्गमा दैनिक हजार बढी सवारी साधनको आवागमन हुन्छ। राजमार्ग मर्मतका लागि सरकारी बजेट नभएको पनि होइन। टेण्डर सम्झौता नभएको पनि होइन। तर निर्माण व्यवसायीले आधा काम गरेर छाडेपछि राजमार्ग मर्मत बाटोमै अलपत्र परेको छ।

महेन्द्र राजमार्ग अहिलेको एक मात्र राजमार्ग हो। पहाडी मध्यपहाडी लोकमार्ग बन्दैछ भने भित्री मधेशका जिल्ला जोड्ने मदन भण्डारी लोकमार्ग पनि बन्दैछ। त्यसो त राप्ती नदीको दक्षिण भाग हुँदै बाँके जोड्ने हुलाकी मार्ग भए पनि यसले पनि पूर्णता पाउन सकिरहेको छैन। हामीसँग वैकल्पिक मार्ग बन्दै गरेको भए पनि अहिलेसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्ग नै निर्विल्प राजमार्ग हो। पूर्वको जस्तो पश्चिम नेपालमा यातायातको चाप नभए पनि दैनिक हजार बढी गाडी चल्नु सामान्य होइन। एकछिन मात्रै पनि सडकमा समस्या आउँदा यातायात प्रभावित हुन्छ। अहिले खाल्टाखुल्टीकै कारण बेला–बेलामा लामो समयसम्म सडक जाम हुने गरेको छ। यसले एकातिर महेन्द्र राजमार्गमा यात्रा गर्ने यात्रुलाई समस्या भइरहेको छ, दुर्घटनाका कारण केहीको ज्यान नै गइसकेको छ भने अर्कोतिर यो राष्ट्रिय लज्जाको विषय पनि हो। राजमार्ग मुलुकको जीवनरेखा हो, यो कुनै पनि बहानामा रोकिनुहुँदैन। एक वर्षदेखि मर्मत नहुँदा राजमार्गको यात्रा कष्टकर हुनु त अझ विडम्बना नै हो।

अब दुई हिसाबले यो समस्या समाधानका लागि पहल गर्नुपर्छ। पहिलो त टेण्डर सम्झौता भएको निर्माण कम्पनीलाई तत्काल काममा लगाउनुपर्छ। यदि उसले काम गरेन भने सम्झौता गरेदेखि अहिलेसम्मको क्षतिपूर्ति भराएर नयाँ प्रक्रियाद्वारा काम गराउनुपर्छ। विकास निर्माणको ठेक्का लिएर काम छाड्नु वा कामै नगर्नु अपराध हो। निर्माण व्यवसायीले आम्दानीका लागि ठेक्कापट्टा गर्ने हो भने सरकारले परिणामका लागि काम गराउने हो। अहिले निर्माण क्षेत्रमा ठूलो बेथिति छ। सके जति ठेक्का ओगट्ने, एक ठाउँको पेश्की लिएर अर्को ठाउँमा काम गर्ने र त्यहाँबाट पनि पेश्की लिएपछि पुरानो ठाउँको काम नगर्ने समस्या राष्ट्रिय समस्या नै हो। अब यो प्रवृत्तिलाई कायम रहन दिनुहुँदैन। मुलुकले लामो संघर्षपछि ठूलो राजनीतिक परिवर्तन प्राप्त गरेको छ। राजनीतिक परिवर्तन भए पनि जनतासँग जोडिएका काम र संरचना परिवर्तन नहुँदासम्म जनताले परिवर्तनको अनुभूति गर्न पाउँदैनन्।

अहिले जनतामा चौतर्फी निराशाजस्तो देखिन्छ। यसको प्रमुख कारण कुनै पनि क्षेत्रमा सोचेजस्तो काम नहुनु हो। यसको पनि प्रमुख कारण पुरानो सोच, चिन्तन, संयन्त्र र कार्यशैलीमा परिवर्तन नआउनु हो। व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिएको छैन, कारण हरेक क्षेत्रमा पुरानै संरचना, सोच, चिन्तन र शैली हावी छ। अहिलेसम्म चलेको प्रवृत्ति भनेको केहीले लुट्ने र धेरैले दुःख सहने नै हो। हाम्रो राजमार्ग पनि यही प्रवृत्तिको शिकार बनिरहेको छ। निर्माण व्यवसायीले काम नगर्ने, काम गराउने जिम्मा लिएको डिभिजन सडकले कारवाही नगर्ने र आम नागरिकले दुःख पाउने अवस्था भइरहेको छ। यसमा सुधार गर्नैपर्छ। राष्ट्रिय लज्जाको विषय बनेको राजमार्ग मर्मत सुधारमा सम्बन्धित निकायको तत्काल ध्यान जाओस्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top