Free songs
Home / सम्पादकीय / विपतबाट जोगिन पूर्वतयारी

विपतबाट जोगिन पूर्वतयारी

अब लगत्तै वर्षा याम शुरु हुँदैछ। सामान्यतः असार लागेसँगै वर्षात शुरु हुने भए पनि अहिलेसम्म मनसुन भित्रिसकेको छैन। पूर्वी नेपालमा मनसुन भित्रिन थालेको भए पनि यो पश्चिम नेपाल आउन केही समय लाग्ने देखिन्छ। लामो खडेरीका कारण गर्मी मात्रै बढेको छैन, बालीनाली पनि चौपट भइसकेको छ। मुलुकका अधिकांश ठाउँमा अहिलेसम्म मकै रोप्न सकिएको छैन। यो हिसाबले गर्दा यो वर्ष मकै उत्पादनमा निकै गिरावट आउनसक्छ। यो वर्ष जुनस्तरको खडेरी देखिएको छ, त्यसकै तुलनामा वर्षात पनि हुने हो भने वर्षातका कारण पनि ठूलो क्षति हुनसक्ने देखिन्छ। जलवायु परिवर्तनको असरस्वरुप संसारभरि अहिले अतिबृष्टि र अनावृष्टिको खतरा बढिरहेको छ। खडेरी हुँदा पनि हदैसम्म हुने र पानी पर्न शुरु भएपछि हदैसम्म पर्ने मौसमको जुन प्रवृत्ति देखिन थालेको छ, यसप्रति सचेत भएर पूर्वतयारीमा जुट्नुको विकल्प छैन।

मौसम परिवर्तन गर्न सकिदैन बरु मौसमअनुरुप मानिस परिवर्तन हुनुको विकल्प हुँदैन। त्यसैले अहिले संसारभरि जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन भइरहेका छन्। हामीले दाङकै इतिहास हेर्दा पनि विगत आधा दशकको दौरानमा अकल्पनीय घटना भएका छन्। २०७१ साउन २८ र २९ गते आएको बाढीका कारण १८ जनाको ज्यान गयो भने झण्डै एक हजार घरमा क्षति पुग्यो। त्यतिबेला बबईमा आएको बाढी हामीले आज पनि भुल्नुहुँदैन। कहिल्यै खोला नबगेको ठाउँमा ७० वर्षपछि खोला फर्कियो र कैयौं घर नै विनाश ग¥यो। फेरि २०७४ साउन २९ र ३० गते आएको बाढीले सातजनाको ज्यान गयो भने पाँच बढी घरमा क्षति पुग्यो। दाङ भित्री मधेशमा पर्ने जिल्ला हो। चुरे र महाभारतको बीचमा रहेको यहाँको हावापानी धेरै जिल्लाको भन्दा अनुकूल पनि छ र जोखिमका हिसाबले खतरामा पनि छ। अध्ययनले के देखाएको छ भने जिल्लामा रहेका एक सय वडामध्ये ३५ वटा वडा सर्वाधिक जोखिममा छन्। पहाडी गाउँहरु पहिरोको जोखिममा छन् भने तराईका वस्ती बाढी र डुबानको जोखिममा छन्।

मूलतः दाङमा बाढीकै जोखिम छ। कुनै पनि प्राकृतिक विपतको सामना गर्ने पहिलो समुदाय विपन्न नै हुन्छन्। चाहे जाडोको शीतलहरमा होस्, चाहे गर्मी र वर्षात, तीनैखाले मौसमबाट सिर्जना हुने विपतको सामना गर्ने भनेको विपन्नहरुले हो। यसअघि भएका क्षतिको अवस्था हेर्ने हो भने जसका कच्ची घर थिए, ती डुबानमा पर्दा सबै भत्के तर पक्की घरमा त्यति ठूलो क्षति हुन पाएन। खडेरीमा आगलागीमा पर्नेमा पनि फुसकै छाना हो भने वर्षातमा डुबानबाट भत्कने पनि कच्ची घर नै हो। यसरी हेर्दा विपतको जोखिम न्यूनीकरण गर्न सबैभन्दा पहिले त आम नागरिकको आयस्तर उठाउने र कम्तिमा सानो नै भए पनि टीनले नै छाएको भए पनि पक्की घर निर्माण गर्ने अवस्था सिर्जना गर्नु आवश्यक छ। यो दीर्घकालीन समाधानको उपाय हो। विपतबाट बच्न तत्कालका लागि सचेतना जरुरी छ भने घटना भइहालेपछि उद्धार, उपचार, राहत र पुनस्र्थापनाका लागि तयारी गर्नु आवश्यक छ। नयाँ संरचनाअनुसार मूलतः यी काम स्थानीय तहको अधिकार सूचीभित्र रहेकाले विपतको सामना गर्ने तयारी स्थानीय तहहरुले आजैदेखि थाल्नुपर्छ। कम्तिमा उच्च जोखिमको सम्भावना रहेका गाउँहरुलाई निगरानीमा राख्ने, खतरा नै छ भने वस्ती नै स्थानान्तरण गर्ने, उद्धार, उपचार, राहत र पुनस्र्थापनाका लागि स्रोत साधन र जनशक्ति तयारी अवस्थामा राख्न आजदैखि योजना बनाउन जरुरी छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top