Free songs
Home / सम्पादकीय / थिति बसाल, बेथिति हटाऊ

थिति बसाल, बेथिति हटाऊ

विकास निर्माण कार्यका लागि ठेक्का सम्झौता गर्दा शुरुमा तोकिएको अवधिको पचास प्रतिशत भन्दा बढी समयावधि थप्न नपाइने नियम लागु भएपछि देशभर झण्डै एक हजार आठ सय ठेक्का बदर (भंग) हुँदैछन्। दाङमा पनि समयमै काम नगर्ने र अटेर गर्दै आएका तीनवटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेर कारवाही गरिदैछ। विकास निर्माणको काममा भएको बेथिति रोक्नका लागि ठोस नियम कानुन बनाउनु जरुरी थियो। यो काम धेरै अगाडि हुनुपथ्र्यो। तर ढिलो नै सही सरकारले उचित र उपयुक्त निर्णय गरेको छ। अब यसलाई कडाइका साथ कार्यान्वयन गर्नुको विकल्प छैन। यो बेथिति मौलाउनुमा मुलुकको राजनीतिक, प्रशासनिक र प्राविधिक क्षेत्रको मिलिभगत हुँदै आएकोले नयाँ नियमको ठीकढंगले कार्यान्वयन हुने कुरामा आशंका गर्ने ठाउ“ प्रशस्तै छ। राम्रा नियम कानुन बनाउने तर त्यसको परिपालना नगर्ने प्रबृत्तिलाई नेपाली समाज र राजनीतिले विरासतका रुपमा ग्रहण गर्दै आएको छ। यो विगतको परम्परा हो । अब यसमा सु्धार नगरेर मुलुक बन्दैन।

राजनीतिक, प्रशासनिक पहुँच र दादागिरीको आधारमा एउटै कम्पनीले दर्जनौं कामको ठेक्का लिने, ठेक्का ओगटेर बस्ने, आफ्नो जिम्माको काम अर्को व्यक्तिलाई दिएर बिचौलिया जन्माउने, निर्माण कार्य अलपत्र र बेवारिसे बनाएर छोड्ने केही निर्माण व्यवसायीहरुको गलत प्रबृत्तिका कारण यो क्षेत्र धेरै बदनाम भएको छ। यस्ता विषयमा बेला–बेला जनस्तरबाट समेत विरोध भइरहेको पाइन्छ। कहिलेकाहीं ठेकेदारलाई कालोमोसो दलिएका घटनाहरु सुनिन्छन्। निर्माण व्यवसायीहरुले कतिसम्म बदमासी गर्छन् भन्ने कुरा हेर्न बुझ्नका लागि दाङमा निर्माण भइरहेका सडक र पुलहरुको दुर्दशा नै काफी छ। यसमा केही प्राविधिक कर्मचारीहरुको बलियो गठजोड रहने गर्छ। त्यसैको परिणाम विकास निर्माणको काममा चरम बेथिति छ। केही अपवाद छोडेर देशभरकै अवस्था यही हो। यस्ता बेथितिहरु हटाएर थिति बसाल्ने काम निश्चय नै गाह्रो छ।

नेपाली समाजको आचरण नै भ्रष्ट बन्दै गइरहेको छ। नीति निर्माणको क्षेत्रमा काम गर्ने, ऐन कानुन बनाउने जिम्मेवारी बोकेका, जनताबाट निर्वाचित सांसदहरु नै थिति बसाल्न छोडेर बेथितिमा रमाउन चाहन्छन्। स्थानीय, प्रदेश हुँदै केन्द्रसम्म विकास निर्माणको काम गर्ने संरचनाहरु तयार भइसकेको सन्दर्भमा सांसदहरुमा छ करोड बोकेर विकास गर्ने चाहना भ्रष्ट मानसिकताकै उपज हो। यसमा सत्तापक्ष, प्रतिपक्ष र अन्य धेरै पक्षहरुको मिलिभगत भइहाल्छ। खाने र बाँड्ने कुरामा एकखालको सर्वसम्मत वातावरण बनिहाल्छ। त्यसैले भ्रष्टाचार र बेथिति अन्त्य गर्ने हो भने यस विरुद्धको कदम मुहानबाटै शुरु गर्नुपर्छ। नीति निर्माण तहबाट हुने भ्रष्टाचार नरोकिदासम्म तल्लो तहमा हुने बदमासी रोक्न सकिन्न। मुहान नै धुमिलो छ भने नदीमा सफा पानी हुँदैन। सांसदहरुलाई छ करोड दिने निर्णय नै विकासको भ्रष्ट मोडेल हो। अब त्यही पुरानो रैथाने चरित्रको लम्पट व्यवहार देखाएर मुलुक बन्दैन।

विडम्बना नै मान्नुपर्छ हामीले योजनाबद्ध विकास प्रक्रिया थालनी गरेको छ दशक नाघे पनि विकासको राम्रो मोडेल निर्माण गर्न सकेनौं। ठेक्कापट्टामा देखिएको बेथिति यसकै परिणाम हो। अब यसमा केही सुधार गर्न खोजिएको छ। यस्तो काममा हात हाल्नेहरुले आफूलाई पनि शुद्ध राख्न सक्नुपर्छ। माथि भनिए झैं मुहान स्वच्छ राख्न सकियो भने धेरै सुधारका कामहरु गर्न सहज हुनेछ। त्यसैले टालटुले पाराले सुधारको थालनी गर्न सम्भव छैन। वर्तमान सरकारले शुरुवाती दिनमा केही नयाँ काम शुरु गरेर जनतामा आशा जगाएको हो। तर त्यसले निरन्तरता पाउन नसक्दा ठगी र बदमासी गर्दै आएकाहरुको मनोबल झन बढ्दै गयो। यस्तो परिस्थितिमा जनतामा निराशा छाउँछ।

थिति बसाल्न खोजिएको हो भने बेथितिप्रति निर्मम बन्न सक्नुपर्छ। जनताले दिएको भोट भ्रष्टाचार गर्ने लाइसेन्स बन्छ कि भन्ने चिन्ता व्याप्त छ अहिले। यस्तो चिन्तालाई कसैले पनि अन्यथा लिनुहुँदैन। मूल कुरो राजनीति नै हो र यो क्षेत्र बिग्रियो भने सातातिना सुधारका कामहरु बीचमै अलपत्र पर्नेछन्। वडादेखि सिंहदरबारसम्म ठीकढंगले काम गर्न सकियो भने दश वर्षमा मुलुकको अनुहार फेरिन सक्छ। त्यो हुन सकेन भने व्यक्ति फेरिनेछ र नयाँ सुकिला–मुकिला वर्गको अभ्युदय हुनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top