Free songs
Home / सम्पादकीय / प्रतिष्ठानको दुरावस्था

प्रतिष्ठानको दुरावस्था

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका विरामी बिना उपचार फर्कनुपर्ने अवस्था देखिएको छ। स्थापनाको समयदेखि नै प्रतिष्ठानमा थुप्रै समस्या देखिँदै आएका छन् । तर समस्या समाधान हुँदै जानुको साटो स्वास्थ्य सेवा प्रभावित हुने अवस्था बढ्दै छ। सुत्केरी ब्यथाले च्यापेका महिलासमेत प्रतिष्ठानबाट बिना सेवा फर्किनुपर्ने अवस्था छ। नर्मल सुत्केरी गराउन सक्ने स्वास्थ्यकर्मीको समेत व्यवस्थापन हुन नसक्नु लाजमर्दो अवस्था हो। यति मात्र होइन, यसअघि प्रवाह हुँदै आएका सबै निःशुल्क सेवा बन्द छन्। नेपाल सरकारले सञ्चालन गर्दै आएका आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क प्रसूति सेवा, गरिव तथा विपन्न समुदायका व्यक्तिका लागि सामाजिक सेवा इकाई र निःशुल्क औषधि उपचार सबै बन्द जस्तै छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसअघि उपक्षेत्रीय अस्पतालमार्फत प्रवाह हुँदै आएका स्वास्थ्य सेवालाई समेत निरन्तरता दिन नसकेपछि दाङ र यस भेगका नागरिक स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ। यसो हुनुमा प्रतिष्ठानको व्यवस्थापकीय कमजोरी तथा नेपाल सरकारको उपेक्षा यी दुबै कारण जिम्मेवार छन्। प्रतिष्ठानमा भएको राजनीतिक उठापट्की र स्वार्थसमूहहरुको चलखेलले यस भेगको महत्वपूर्ण स्वास्थ्य संस्था धराशायी बन्दै जानु दुःखद छ।

प्रतिष्ठानको यस्तो दशा अहिले आएर देखिएको होइन। यसअघि नै नेपाल सरकारले निःशुल्क प्रवाह गर्दै आएका सेवामा चर्को शुल्क लिएपछि यो विषय उच्च अदालतसम्म पुगेको थियो। स्वास्थ्य सेवा, कर्मचारी व्यवस्थापन तथा अन्य थुप्रै समस्या चुलिएपछि संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले स्थलगत अध्ययन गर्न उपसमिति समेत गठन गरेको थियो। समस्या समाधान गर्न उक्त संसदीय उपसमितिले विभिन्न १३ वटा सुझाव दिएको थियो। जसमध्ये राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नेपाल सरकारले आवश्यक बजेट विनियोजन गर्नुुपर्ने, जनशक्ति र उपकरण उपलब्धलगायतमा सरकारको सहयोगको साथै पूर्वाधार निर्माण गर्न तत्कालै पहल गर्नुपर्ने, प्रतिष्ठानले प्रदेश सरकार, जिल्ला समन्यव समिति, स्थानीय सरकार, जिल्ला प्रशासन, जिल्लास्थित राजनीतिक दल, नागरिक समाजलगायतसँग समन्वय बढाउनुपर्ने, प्राइभेट संस्थाको जस्तो जथाभावी बृद्धि गरेको सेवा शुल्क तुरुन्त हटाउने, बन्द भएको अति आवश्यक प्रसूति सेवा तुरुन्त सुचारु गर्नुपर्ने, पोषण पुनःस्थापन कार्यक्रम पूर्ववत अवस्थामै सञ्चालन गर्नुपर्ने, नेपाल सरकारले सञ्चालन गरेका पूर्वकार्यक्रमहरु पोषण, आमा सुरक्षालगाएत सेवाहरु पुरानै संरचना, कर्मचारी, बजेट र कार्यक्रमसहित पुनः सञ्चालनमा ल्याउनुपर्ने थियो। त्यस्तै विशेषज्ञ डाक्टरहरु र अन्य विशेषज्ञहरु भर्ना गरी विगतमा सरकारी अस्पतालले दिएका सेवा सुविधा नघटाइ अवरुद्ध सेवा सुचारु गर्न प्रतिष्ठानले तत्काल कदम चाल्नुपर्नेलगायतका सुझाव थिए। तर संसदीय समितिले दिएको सुझाव न प्रतिष्ठानका पदाधिकारीले मनन गरे न त सरकारले नै। भर्खरै आएको बजेट भाषणमा प्रतिष्ठानका नाममा बजेट छुट्टिएको नदेखिनुले पनि यो कुरा देखाउँछ।

सरकारबाट बाहिरिँदै गर्दा तत्कालीन देउवा सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त ग¥यो। काम चलाउ भइसकेको सरकारले यस्तो निर्णय गर्नु गलत थियो। देउवा सरकारको त्यो निर्णय नैतिकरुपमा गलत थियो । तर अदालतबाट समेत नियुक्ति बदर नभएपछि सरोकारवाला सबैले प्रतिष्ठानलाई असहयोग गर्ने अवस्था आउन दिनुहुँदैनथ्यो। उपकुलपतिको व्यवस्थापकीय असक्षमता, दम्भ र राजनीतिक संकीर्णताले पनि प्रतिष्ठानको वातावरण झन पछि झन बिग्रँदै गएको हो भन्न कुनै अप्ठेरो छैन। सरकारसँगको रिस स्वास्थ्य सेवा अवरुद्ध गराएर, सेवामा शुल्क बढाएर फेर्न खोज्नु सही होइन। व्यवस्थापनका नाममा सरकारको नीति र संवैधानिक मान्यताविरुद्ध गएर आधारभूत स्वास्थ्य सेवामा शुल्क लिने छुट उपकुलपतिलाई छैन। आफूले नसके राजीनामा दिएर मार्गप्रशस्त गर्ने हो, हलो अड्काएर गोरु चुटेजस्तो संस्था धराशायी बनाउन पाइ“दैन। त्यस्तै उपकुलपतिलाई दोष दिएर यहाँका जनप्रतिनिधि, राजनीतिक नेतृत्व पनि पानीमाथिको ओभानो हुन मिल्दैन। स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने काम समेतको लागि भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको थियो। प्रतिष्ठान स्थापना हुँदा यहाँका नागरिकले दीपावलीसमेत गरेका थिए। गुणस्तरीय स्वास्थ्य सेवाका लागि बाहिर जान नपर्ने अवस्था आउने आशा गरिएको थियो। तर अहिले निराश हुने अवस्था आएको छ। प्रतिष्ठान स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नेहरु तमासे बनेको पनि सुहाउँदैन। सम्बद्ध सबैको ध्यान जाओस्।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top