Free songs
Home / सम्पादकीय / दोहोरो जिम्मेवारी हुनुुहुँदैन

दोहोरो जिम्मेवारी हुनुुहुँदैन

यति बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका आन्तरिक विवादहरु सतहमा देखा पर्न थालेका छन्। प्रधानमन्त्री फेर्नेदेखि   सैद्धान्तिक प्रश्नहरु पनि स्थायी समितिका सदस्य तहबाट उठ्न थालेका  छन्। कतिपय समस्याहरु त पार्टीलाई विधि, प्रक्रिया रपद्धतिअनुरुप सञ्चालन गर्ने काम नहुँदा सिर्जना भए जस्तो देखिएको छ। पार्टी कमिटीका नियमित बैठकहरु बस्न नसक्नु र दुई अध्यक्ष वा कार्यकारी प्रमुखकै योजना अनुसार कार्य सञ्चालन हुने परिपाटीको विकास हुँदै जाँदा धेरै नेता कार्यकर्ताहरु भूमिकाविहीन बन्ने परिस्थिति आएको छ। यसलाई छिटो भन्दा छिटो सच्याएर विधि र प्रक्रियाको पालना गर्न जरुरी छ।

सरकारको नेतृत्व परिवर्तन गर्ने विषय सार्वजनिक भएपछि यसले पार्टीभित्र र बाहिर ठूलो तरंग ल्याएको छ। दुबै अध्यक्षलाई यसबारे स्पष्टिकरण दिने चटारो देखिएको छ। हुँदाहुँदा यसमा मिडियालाई दोषी देखाएर खण्डन गर्ने प्रयत्न गरिएको छ। यति गम्भीर महत्वको विषयको उठान सार्वजनिक कार्यक्रममा गर्नु नै उपयुक्त होइन। यसरी जाँदा सरकार र पार्टी सञ्चालनमा समस्या आउँछ। निश्चितरुपमा यस्ता विषयहरु आन्तरिक छलफलका क्रममा उठ्न सक्छन्। आन्तरिक छलफल गर्ने वातावरण नभएकाले बाहिर आउने परिस्थिति बनेको हो भने यसलाई पनि राम्रो भन्न मिल्दैन।

प्रधानमन्त्रीमा आलोपालो गर्ने कुरा बेलाबेलामा नेकपाभित्र उठ्ने गर्छ। यस्ता विषयहरुको जनस्तरमा आलोचना भएपछि फेरि बीचमै सेलाउने गर्छ। राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासको नारा दिएर चुनाव जितेको पार्टीको सरकार बीचमै परिवर्तन गर्दा राम्रो सन्देश नजाने त स्पष्ट नै छ। बरु एउटै व्यक्तिले दुईवटा महत्वपूर्ण पद लिन नहुने गरी एउटा सीमारेखा तयार गर्न सकेको भए यस्ता विषयहरुको उठान गरेर बखेडा खडा गर्ने काम आगामी दिनहरुमा नहुने परिस्थिति निर्माण गर्न सकिन्थ्यो। त्यसतर्फ पार्टीका दुबै अध्यक्ष र केन्द्रीय नेताहरुले ध्यान दिन सक्नुपर्ने हो।

दुई पार्टीबीचको एकता प्रक्रिया अझै अन्तिम टुंगोमा पुगिसकेको छैन। एकीकृत पार्टीको महाधिवेशन सम्पन्न भएसँगै यो प्रक्रिया ट्ुंगोमा लाग्ने हो। नेकपाभित्र विचार बहस निकै कम हुने गरेको छ। त्यसलाई पनि आफ्नो अनुकूलतामा व्याख्या विश्लेषण गर्ने प्रवृत्ति छ। अहिले पनि विभिन्न कोणबाट विचार र सिद्धान्तका प्रश्नहरु उठ्न थालेका छन्। पार्टी र कार्यकर्ता पङ्तिलाई सिद्धान्तनिष्ठ एवं विचारशील बनाउने भन्दा पनि आफ्नो अनुकूलतामा विचारको प्रश्न उठाउने प्रवृत्तिले पार्टीलाई अझ कमजोर बनाउँछ। वास्तवमा आचरण र व्यवहारको प्रश्न यतिबेला नेकपाभित्र अझ गम्भीर छ। तीनै तहका सरकार र त्यहाँ रहेका प्रतिनिधिहरुको आचरण भ्रष्ट भयो भने पार्टी बदनाम बन्न धेरै समय लाग्नेछैन। यसतर्फ धेरैको ध्यान पुग्न सकेको छैन। प्रशिक्षित कार्यकर्ता पङ्ति तयार हुन छोडेको छ। पार्टीभित्र प्रशिक्षण, भेला, छलफल निकै कम मात्रामा हुने गर्दछन्। त्यसमा पनि यी विषयहरुले प्राथमिकता पाउँदैनन्।

अहिले पनि दुई तिहाई बहुमतप्राप्त सरकारसँग जनताको ठूलो अपेक्षा छ। पुरै निराशाजनक अवस्था आइसकेको होइन तर अपेक्षा गरे अनुरुप काम हुन नसकेको सत्य हो। यसमा सुधार गरेर, सच्चिएर जान सक्ने ठाउँ छ। यतिबेला सरकार परिवर्तनको झमेलामा परियो भने नकारात्मक सन्देश जानेछ र दुई तिहाई बहुमतप्राप्त सरकार कमजोर बन्नेछ। पार्टी र सरकार दुबैलाई बलियो, भरपर्दो र कामकाजी बनाउन सक्नुमा नै नेकपाको भविष्य छ। पार्टी र सरकारको दोहोरो जिम्मेवारी कसैलाई नदिने नीति तलदेखि माथिसम्म बनाउन जरुरी छ। सरकारमा बस्नेहरुमाथि पार्टीको निगरानी आवश्यक छ। त्यसैले एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी दिने काम हुनुहुँदैन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top