Free songs
Home / सम्पादकीय / बजेटबाट अपेक्षा

बजेटबाट अपेक्षा

आर्थिक विकास र समृद्धिलाई आफ्नो लक्ष बनाएको दुई तिहाई बहुमतप्राप्त सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिरहँदा बजेटका सकारात्मक तथा नकारात्मक पक्षबारे टिकाटिप्पणी हुनु स्वाभाविक हो। विनाबजेट कुनै पनि मुलुक चल्न नसक्ने भएकोले यो सरकारको नियमित कार्यक्रमकै निरन्तरता हो। त्यसैले कतिलाई यो कर्मकान्डी शैली जस्तो लाग्न सक्छ।

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको यो दोस्रो बजेट हो। यसअघिको बजेटमा भएका कमजोरीलाई सच्याउने र आलोचनालाई सम्बोधन गर्ने काम यो बजेटमा गरिएको छ। सामाजिक सुरक्षा भत्तामा बृद्धि हुनु यसैको परिणाम हो।

विगतदेखि नै बहुआलोचित हुँदै आएको सांसद विकास कार्यक्रमलाई निरन्तरता दिइरहँदा यसलाई परम्परावादी बजेट भनेर आलोचना गर्ने ठाउँ अवश्य नै छ। स्थानीय तहलाई विकास निर्माण गर्ने जिम्मेवारी हुँदाहुँदै नीति निर्माण तहमा काम गर्ने सांसदहरुलाई विकासको जिम्मेवारी दिइरहनु अनैतिक काम हो। यसबाट बजेट बच्न सकेको छैन।

दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष राखिनुलाई महत्वाकांक्षी भन्न सकिएला, गलत भन्न मिल्दैन। तर लक्ष हासिल गर्ने आधार रेमिट्यान्स बाहेक अन्य केही देखिएको छैन। कृषि उत्पादन बढ्न सक्ने सम्भावना न्युन छ भने औद्योगिक उत्पादन पनि बढ्न सकेको छैन। यस्तो अवस्थामा दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्ने कुरा निकै चुनौतिपूर्ण छ।

अहिले मुलुकभित्र युवा जनशक्तिको अभाव छ। भएको जनशक्ति पनि उत्पादनमूलक काममा लाग्न नसकेर बेरोजगार बन्न पुगेको छ। कृषि कर्मप्रति युवा पुस्ताको अरुचिको कारण पत्ता लगाएर त्यसको समाधान खोज्न जरुरी छ। विशेषगरी किसानलाई अनुदान, उत्पे्ररणा र प्रोत्साहन दिन सक्नुपर्छ। बीउ विजन, मलखाद, कृषि औजारमा छुट दिएर कृषि कर्मप्रति नागरिकको आकर्षण बढाउन सकिन्छ। त्यहीं गर्न नसक्दा भएको जमिनसमेत बाँझो रहने गरेको छ।

अहिले पनि मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानेको अवस्था छ। सधैभरि यो अवस्था रहँदैन र रहनु पनि हुँदैन। रेमिट्यान्सबाट आर्थिक समृद्धि हासिल हुँदैन। यसले तत्कालका लागि मुद्राको प्रवाह बढाउने हो। रेमिट्यान्समार्फत् भित्रिएको रकम अधिकांश अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। यसबाट मुलुक उपभोक्तावादी बन्न पुगेको छ। उत्पादन केही नगर्ने उपभोग मात्र गर्नेको हालत के हुन्छ, हाम्रो अवस्था त्यहीं हो।

आर्थिक समृद्धि ल्याउने हो भने उत्पादन बढाउनै पर्ने हुन्छ। कृषि, पर्यटन, जलस्रोतको विकास नै समृद्धिको आधार हो। यसतर्फ बजेटले पर्याप्त ध्यान दिन सकेको छैन। समृद्धि आकाशबाट वर्षने वस्तु होइन, यसका लागि राष्ट्रिय उत्पादन बढाउँदै जानुपर्ने हुन्छ। तर हाम्रो उत्पादन घट्दैछ र निरन्तर परनिर्भरतातर्फ उन्मुख हुँदै गएका छौं।

अभाव, गरीवी, परनिर्भरता र पछौटेपन हटाएर समृद्धि र विकासको मार्गमा अगाडि बढ्नका लागि बजेटले मार्गदर्शकको भूमिका निर्वाह गर्न सक्नुपर्छ। त्यसैले यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुन आउँछ। सांसदलाई बाँडिएको छ करोडले राजनीतिक र सामाजिक भ्रष्टिकरण बढाउन मद्दत नै पु¥याउने छ। यसले हाम्रो प्रवृत्ति, मानसिकता र संस्कार परिवर्तन हुन नसकेको देखाउँछ।

कर्मचारीको तलब बृद्धिसँगै महंगी नियन्त्रण गर्ने कुरामा सरकार कति प्रभावकारी देखिन्छ, यसका लागि केही समय प्रतिक्षा गर्नु नै उचित होला। तर बजेट नआउँदै मूल्यबृद्धि र महंगी शुरु भइसकेको अवस्था छ। यो बेला प्रत्येक नागरिकले नयाँ बजेटबाट मैले के पाएँ भनेर सोच्ने हो भने सन्तोष गर्ने ठाउँ देखिन्न।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top