Free songs
Home / सम्पादकीय / हत्या हिंसाका श्रृंखला नदोहोरियुन्

हत्या हिंसाका श्रृंखला नदोहोरियुन्

राजधानीको छुट्टा छुट्टै तीन स्थानमा आइतवार लगभग एकै समयमा भएको बम विष्फोटमा परी चारजनाको मृत्यु भयो। ती बम विष्फोटका घटनामा आठजना घाइते भए। घटनाको जिम्मेवारी कसैले नलिए पनि घाइते र मृत्यु भएका व्यक्तिको बयान तथा घटनास्थलमा विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको आधारमा बम विष्फोटमा विप्लव समूहको संलग्नता देखिएको छ। राजधानीमा एकैदिन भएका बम विष्फोटका घटनाले सर्वसाधारण त्रसित बन्न पुगेका छन्। अस्तिको बम विष्फोट र हिँजो नेकपा विप्लव समूहको नेपाल बन्दले विगतको सशस्त्र द्वन्द्वकालीन घटनाको त्रासदी याद दिलाएको छ। आजका दिनमा पनि आफ्नो उपस्थिति देखाउनकै लागि बम विष्फोट र बन्द जस्ता अति अप्रिय घटना राजनीतिका नाममा देखिनु दुःखद छ।

अहिले सरकार र नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाको चेपुवामा सर्वसाधारण नागरिक पर्न थालिसकेका छन्। सरकारले विप्लव समूहको नेकपालाई प्रतिबन्ध लगाएको छ भने सरकारलाई चुनौती दिने नाममा विप्लव समूहले बम विस्फोटका घटना गराएर सरकारलाई ‘देखाइदिन’ खोजेको प्रतीत भएको छ। हो, जसरी लोकतान्त्रिक राज्यव्यवस्थामा कुनै नामको राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउनु उचित थिएन उसैगरी सरकारलाई देखाइदिने नाममा सर्वसाधारण नागरिकलाई निशानामा पारेर निर्दोष नागरिकको ज्यान लिने काम पनि कुनै कोणबाट सही होइन। हिँजो नेपालको दशवर्षे सशस्त्र द्वन्द्वले मुलुकको राजनीतिक परिवर्तनमा कहीँ न कहीँ महत्वपूर्ण भूमिका निर्वाह गरेकै थियो। तर बिर्सनै नहुने कुरा के पनि हो भने सशस्त्र द्वन्द्वले दिएका घाउहरु पनि साना थिएनन्। सशस्त्र द्वन्द्वका ती घाउहरु अझै पुरिएका छैनन्। सजिलै पुरिने पनि छैनन्। आज फेरि हिँजोकै पुनरावृत्ति समयले पछाडि छाडिसकेको परिघटना हो। नागरिकलाई अनन्त घाउ पीडामा बल्झाइरहने समूह कुनै पनि अर्थमा राजनीतिक दल हुन सक्दैन। आजको दिनमा राजनीतिका नाममा गरिने हत्या हिंसाको कुनै पनि अर्थमा औचित्य पुष्टि हुन सक्दैन। सरकारलाई झुकाउने नाममा बन्द, हडताल, हत्या, हिंसाका घटना गराउने विप्लव नेतृत्वको नेकपा र ती घटनालाई आधार बनाएर प्रतिबन्ध लगाउने सरकार दुबै पछाडि हट्नुको विकल्प छैन। विप्लव नेकपा शान्तिपूर्ण बाटोमा आउनैपर्छ भने सरकारले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्दै राजनीतिक प्रतिस्पर्धा गर्न पाउने मार्गप्रशस्त गर्नैपर्छ। राजनीति र अपराधलाई एकै ठाउँमा मिसाएर नागरिकलाई दुःख दिने अधिकार कसैलाई छैन। सरकार र विप्लव समूहको नेकपा एक अर्कालाई झुकाउने र सिध्याउने प्रतिस्पर्धा बढ्न नदिन नागरिक समाजले भूमिका बढाउनु पर्छ। वार्ताको वातावरण बनाउन चौतर्फी दबाब बढाउन ढिला गर्नुहुन्न।

हो, लोकतन्त्रमा राज्यसत्ताबिरुद्ध बोल्न पाइन्छ। निर्वाधरुपमा सत्ता र सत्ताको आडमा भइरहेका गलत गतिविधि उजागर गरेर नागरिकलाई जागरुक बनाउन पाइन्छ। नागरिकका आवाज बोल्ने सशक्त माध्यम बनेर सत्तालाई स्वेच्छाचारी हुनबाट रोक्न पाइन्छ। सत्तालाई जनपक्षीय कामका लागि दबाब दिन पाइन्छ। जनपक्षीय काम नगर्ने जुन कुनै शासकलाई ढलाउन पनि पाइन्छ। तर यी सबै काम शान्तिपूर्णरुपमा हुनु र गरिनु पनि उत्तिकै आवश्यक छ। युद्धको निशानामा कतिञ्जेल निर्दोष नागरिकहरुको जीवन वलि चढाउने ? सत्तालाई झुकाउन नागरिकको वलि दिने राजनीति अब बन्द गरिनुपर्छ। शान्तिपूर्ण माध्यमबाट जनताको बीच जानुको विकल्प छैन। जनता तर्साएर होइन, जनताको साथ लिएर मात्र जनपक्षीय राजनीति सम्भव छ। जनताको साथ हासिल गरेर आफ्नो राजनीति स्थापित गर्ने उपाय हत्या हिंसाको राजनीतिबाट सम्भव छैन। इतिहास हेरेर मात्र पुग्दैन, आजका नागरिकको मनोभावना बुझेर राजनीति नगर्ने कुनै पनि राजनीतिक दलको भविष्य छैन भन्दा फरक पर्दैन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top