Free songs
Home / सम्पादकीय / पहाडमा सूचना मार्ग

पहाडमा सूचना मार्ग

नेपाल भू–बनोटको हिसाबले विविधतायुक्त देश हो। प्राकृतिक सुन्दरताका दृष्टिले हेर्दा विविधता राम्रो पनि छ तर पूर्वाधार विकास र आर्थिक–सामाजिक विकासका हिसाबले यही विविधताकै कारण नेपालका हिमाली र पहाडी क्षेत्र धेरै पछाडि परेका छन्। भौतिक पूर्वाधार निर्माणमा निकै समस्या हुने भएपछि राष्ट्रिय सञ्जालमा जोडिन पहाडी जिल्लाहरुलाई निकै समस्या छ। २०६२÷०६३ को परिवर्तनपछि बनेका सरकारले पहाडी क्षेत्रको विकासका लागि छुट्टै लोकमार्गको रुपमा मध्यपहाडी लोकमार्ग स्थापना शुरु गरेपछि धेरै पहाडी जिल्लाको मुहार फेरिन थालेको छ। पूर्वको पाँचथरदेखि पश्चिम दार्चुलासम्म समेट्ने यो सडकलाई सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा अघि बढाएको छ। झण्डै एक हजार सात सय किलोमिटर रहेको यो सडक कालोपत्रे सम्पन्न भएपछि पहाडी तथा केही हिमाली जिल्लाको जनजीवन सहज बनाउन नयाँ आयाम नै थपिने छ। यसै सन्दर्भमा सरकारले मध्यपहाडी लोकमार्गमा राष्ट्रिय सूचना मार्ग पु¥याउने उद्देश्यसहित अप्टिकल फाइबर गाड्न शुरु गरेको छ।

हुन त यो अहिले नै तय गरिएको योजना होइन। अहिलेसम्म यो योजना सम्पन्न भइसक्नुपर्ने थियो। नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७३ असोज १२ गते निर्माण सम्झौता भए पनि बल्ल अहिले यसको शिलान्यास गरिएको छ। अप्टिकल फाइबर बिछ्याउन दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउँछ भने प्राधिकरणले मध्यपहाडी पूरै लोकमार्गमा फाइबर बिछ्याउने योजनाअन्तर्गत झण्डै १० अर्ब रकम खर्च गर्दैछ। त्यसका लागि योजनालाई तीन खण्डमा विभाजन गरिएको छ। यो कामका लागि प्रदेश १, २ र ३ मा नेपाल टेलिकम, गण्डकी प्रदेश र ५ मा युटिएल तथा प्रदेश ५ र कर्णाली प्रदेशमा स्मार्ट टेलिकमले जिम्मेवारी पाएका छन्। आर्थिक वर्ष ०७२÷७३ कोे नीति तथा कार्यक्रममै ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अप्टिकल फाइबरको सञ्जाल देशव्यापी विस्तार गर्ने घोषणा गरिएको भए पनि तीन वर्षपछि यो काम अघि बढ्दैछ।

तोकिएको समयमा काम नहुनु दुःखद कुरा नै हो, ढिलै भए पनि यो काम सम्पन्न भयो भने पहाडी क्षेत्रका नागरिकलाई राष्ट्रिय सूचना सञ्जालमा जोड्न सकिनेछ। सूचना प्रविधिको उच्चतम प्रयोग नै आज समाज विकासको एउटा आधार बन्न पुगेको छ। त्यसैले अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गरेर पहाडी जिल्लालाई राष्ट्रिय सूचना मार्गमा जोड्न सकिए यो महत्वपूर्ण काम हुनेछ। इन्टरनेटका माध्यमबाट हुने सूचनाको आदानप्रदान, ब्यापार र दैनिक जीवनसँग जोडिएका पक्षलाई सहज बनाउन सकिनेछ। हामीले भू–बनोट नै परिवर्तन गर्न सक्दैनौं तर त्यहाँको जनजीवन बदल्न सक्छौं। इन्टरनेटको त के कुरा भयो र, अहिले पनि कैयन ठाउँमा राम्रोसँग फोन नै टिप्दैन। सूचना प्रविधिका कारण सरकारी सेवाहरुमा चुस्तता ल्याउनुका साथै शिक्षा र स्वास्थ्यमा पनि कायापलट गर्न सकिन्छ। उच्च गतिको इन्टरनेट भयो भने दुर्गम जान नसक्ने विज्ञहरुबाट भिडियोमै शिक्षा लिन सकिने छ भने इ–मेडिसिनको माध्यमबाट विशेषज्ञ जाँच गाउँमै गर्न सकिन्छ।
मुलुकलाई साँच्चै समृद्धितर्फ लैजान भौतिक विकास तीब्ररुपमा गर्नु जरुरी छ भने त्यसको लाभ प्रत्यक्षरुपमा स्थानीय समुदायलाई दिने गरी योजना बनाउनुपर्छ।

अहिले तीन तहको सरकार बनाउनुको अर्थ पनि यही नै हो। संघीय सरकारले ठूलो परियोजनामार्फत तीब्र विकासलाई जोड दिने र स्थानीय सरकारले विकासलाई जनताको जीवनसँग जोड्ने अनि दुबै तहबीचको समन्वयको काम प्रदेशले गर्ने नै हामीले अंगिकार गरेको संघीयताको मर्म हो। त्यसैले संघीय सरकारले जतिसक्यो धेरै विकासको भेल बगाउनुपर्छ भने स्थानीय सरकारले विकासलाई जनताको जीवनसँग जोड्नुपर्छ। अब पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग र राष्ट्रिय सूचना मार्ग पुगेसँगै त्यसबाट स्थानीय समुदायलाई के लाभ दिने, त्यसको योजना स्थानीय सरकारहरुले बनाउनुपर्छ। मध्यपहाडी मात्र होइन, कुनै पनि पूर्वाधार विकासलाई जनताको जीवनसँग जोड्ने अभियानको थालनी गर्न स्थानीय सरकारहरु गम्भीर गृहकार्यमा जुट्न जरुरी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top