Free songs
Home / सम्पादकीय / वैदेशिक रोजगारीका समस्या

वैदेशिक रोजगारीका समस्या

देशभित्र रोजगारीको सम्भावना र आफ्नो भविष्य नदेखेपछि अहिले लाखौं नेपाली युवाहरुको आशाको गन्तव्य विदेश बनेको छ। राम्रो क्षमता र योग्यता भएकाहरु युरोप, अमेरिका, अष्ट्रेलिया, जापानजस्ता मुलुकमा पुग्छन्। यसरी जानेहरु विदेशमा रमाएरै बसेका उदाहरण थुप्रै छन्। कतिले त त्यही देशको नागरिक बनेर आफ्नो मुलुकलाई ब्र्सििसकेका हुन्छन्। तर सस्तो श्रम बजार मानिएको खाडी मुलुकमा जानेहरु र दक्षिणको छिमेकी मुलुकमा गएर कुल्ली र दरवान बन्नेहरुको कथाब्यथा कहालीलाग्दो छ।

वैदेशिक रोजगारीबाट केही रकम रेमिट्यान्समार्फत् देशमा भित्रिए पनि अन्ततः यसले नकारात्मक प्रभाव नै पार्दछ। आफ्नो देशका नागरिकहरुलाई वैदेशिक रोजगारीमा पठाएर कुनै पनि मुलुक विकास र समृद्धितर्फ अगाडि बढ्न सकेको उदाहरण पाइन्न। नेपाल त्यसको अपवाद हुन सक्दैन। तर यहाँ अझै पनि देशभित्र रोजगारीका अवसर सिर्जना हुन नसक्दा दिनहुँ सयौंको संख्यामा नेपाली युवाहरु विदेश गइरहेका छन्। यसरी जानेहरु दलालबाट ठगिएका घटना प्रशस्तै सुनिन्छन्। कति त त्यहाँ जीवन गुमाएर बन्द बाकसमा आइरहेका हुन्छन्।

अहिले अव्यवस्थितढंगले भइरहेको वैदेशिक रोजगारीलाई तत्काल रोक्ने र त्यसलाई व्यवस्थित गर्ने काम समेत हुन सकिरहेको छैन। कम्तिमा वैदेशिक रोजगारीमा जानेहरु दलालहरुको चंगुलमा नपरुन्, आर्थिकरुपमा नठगियून्, उनीहरुले गर्ने काम र पाउने सेवा सुविधा निश्चित होस् भन्ने कुरामा ध्यान दिन जरुरी छ। यसमा ध्यान नदिदा वैदेशिक रोजगारीमा जाने कतिपयले घर खेत गुमाएका छन्।

वैदेशिक रोजगारीले नेपाली समाजमा जटिल सामाजिक समस्यासमेत निम्त्याएको छ। श्रीमान–श्रीमतीको सम्बन्ध विच्छेद र पारिवारिक विघटनका घटनाहरु बढ्न थालेका छन्। पारिवारिक विघटनलगायतका घटनाहरुले सम्बन्धित सन्तान तथा दरसन्तानहरुमा नकारात्मक प्रभाव पार्नुका साथै गम्भीर सामाजिक समस्याहरु सिर्जना गर्छ। यस दृष्टिले पनि वैदेशिक रोजगारीलाई प्रोत्साहित हैन, निरुत्साहित गर्न जरुरी छ। यसमा राज्यको नीति के हो, प्रष्ट हुन जरुरी छ।

देशभित्र रोजगारीका नयाँ–नयाँ अवसरहरुको सिर्जना नगरेर तत्कालै वैदेशिक रोजगारीलाई बन्द गर्न सक्ने अवस्था हुँदैन। उद्योगधन्दा, कलकारखानाहरु खोलेर वा उत्पादनमूलक कामहरु सिर्जना गरेर नै रोजगारी बढ्छ। अहिले उत्पादनशील श्रमशक्तिको अभावमा कृषि उत्पादन घट्दै गएको छ। जमिन बाँझो हुने क्रम बढ्दैछ। मुलुक खाद्यान्नमा मात्र हैन फलफूल तरकारीमा समेत परनिर्भर बनेको छ। यस्तो स्थिति अन्त्य गर्न सकिन्छ, गर्नुपर्छ तर मुखले हैन, व्यवहारमै ठोस योजना बनाएर अगाडि बढ्न सक्नुपर्ने हुन्छ।

नेपाली जनताको श्रम, पसिना र मेहनतबाटै मुलुक बन्ने हो। यसका लागि विदेशी भूमिमा हैन, देशभित्रै पसिना बगाएर बाँच्नसक्ने स्थिति सिर्जना गर्न आवश्यक छ। त्यसैले रेमिट्यान्सको लोभमा वैदेशिक रोजगारीलाई बढावा दिएर हैन, देशभित्रै युवाहरुलाई उत्पादनमूलक काममा लगाएर मात्रै समृद्धिको यात्रा तय गर्न सकिनेछ। युवाहरुलाई विदेश पठाएर समृद्ध नेपाल बन्दैन। युवा उमेरमा विदेशमा बिताएर बुढेसकालमा स्वदेश फर्किएको नागरिकले राष्ट्रका लागि योगदान गर्ने ठाउँ नै रहँदैन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top