Free songs
Home / सम्पादकीय / सहमतीय संस्कृतिको खाँचो

सहमतीय संस्कृतिको खाँचो

यतिबेला सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको आरोप प्रत्यारोप संसदमा मात्र नभएर सडकमा, सार्वजनिक कार्यक्रममा पनि देखिन थालेको छ। नेपाली कांग्रेसलाई कमजोर प्रतिपक्षको रुपमा चित्रित गर्ने काम भइरहेको बेला कांग्रेस अब सरकारविरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत देखिएको छ। पार्टी संगठनलाई एकताबद्ध र संगठित गर्ने उद्देश्यका साथ उसले जनजागरण अभियान चलाइरहेको छ। यो अभियानमार्फत् उसले सरकारमाथि दबाब र खबरदारी बढाउन खोजेको छ। संवैधानिक अंगहरुलाई कमजोर बनाउँदै लगेको, प्रेसलाई नियन्त्रित गर्न नयाँ कानुन बनाउन थालेको, अदालतमाथि हस्तक्षेप बढाएको विषयलाई कांग्रेसले जोड दिएर उठाउन खोजेको छ। यसो गर्दा नागरिक समुदाय र प्रेस जगत एजेण्डाका हिसावले आफू नजिक आउने उसको बुझाइ छ।

दुई तिहाईको बहुमतमा रहेको सरकारलाई प्रतिपक्षको विरोध वा अवरोधले तत्काल कुनै असर गर्दैन। तर यसले पार्ने दीर्घकालीन प्रभावलाई सत्तापक्षले नजरअन्दाज गर्न मिल्दैन। संसदीय व्यवस्थामा आजको प्रतिपक्ष भोलिको सत्तापक्ष हुनसक्ने भएकोले यी दुई पक्षको सम्बन्ध सन्तुलित र मर्यादित हुन जरुरी छ। हुन त विगतको इतिहास कोट्याउने हो भने पटक–पटक संसदीय मर्यादा तोड्ने र गलत नजिर स्थापित गर्ने काम हुँदै आएको हो। तर विगतका त्रुटिलाई सच्याउनेतिर नलागेर त्यसलाई निरन्तरता दिन खोज्नु गलत प्रवृत्ति हो। यसमा विशेष गरेर सत्तामा बस्नुको नाताले सत्तापक्ष बढी जिम्मेवार र गम्भीर हुनैपर्ने हुन्छ।

संसदमा प्रतिपक्षले उठाएका विषयवस्तुहरु सत्तापक्षलाई मन नपर्न सक्छन्। तर त्यत्तिकै आधारमा त्यसलाई ‘निम्छरा’ वा ‘कुण्ठा’ भनेर होच्याउन मिल्दैन। संसदमा उच्चस्तरको बौद्धिक क्षमता देखाउन सक्ने प्रदीप गिरीस्तरका व्यक्तित्वहरु कमै होलान् तर सांसद भनेका सांसद नै हुन् । निर्वाचित भएर आएका हुन्। तिनका भनाइहरु आ–आफ्नो क्षमताअनुरुप नै प्रस्तुत हुने गर्दछन्। त्यसैले संसदीय अभ्यासका क्रममा संसदभित्र उठेका विषववस्तुलाई होच्याउने गरी प्रस्तुत हुनु उचित हुँदैन। अनावश्यकरुपमा दम्भ र अहंकार प्रदर्शित गर्दा जनतामा राम्रो सन्देश जाँदैन।

नेपालमा सहमतीय राजनीतिक संस्कृतिको अझै विकास हुन सकेको छैन। त्यसैको परिणाम दलहरुबीचको आन्तरिक एकता समेत कमजोर बन्दै गएको छ। राजनीतिमा सिद्धान्त, निष्ठा हराउँदै जाने र वैचारिक बिचलन बढ्दै जाँदा यस्ता समस्याहरु देखापर्ने गर्दछन्। दलहरु विचार र दृष्टिकोणविहीन हुन थालेका हुन् भने यसमा पुनर्विचार गरेर सुधारको थालनी गरिहाल्नुपर्छ। लोकतन्त्रको सौन्दर्य नै विचार, अभिव्यक्ति र संगठनको स्वतन्त्रता हो। तर हामीले अझै यसलाई ठीकढंगले बुझ्न र बुझाउन सकिरहेका छैनौं।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्युदय धेरै शक्तिहरुको साझा संघर्ष र एकताबद्ध प्रयासबाट सम्भव भएको हो। त्यसैले विगतको संघर्षशील इतिहास र त्यसको मर्मलाई कसैले भुल्नुहुँदैन। यो बेला राजनीतिक शक्तिहरु बीच निर्वाचनमा बाहेक अन्य विषयहरुमा प्रतिस्पर्धी व्यवहार देखाउनुपर्ने कुनै आवश्यकता छैन। गरिवी, अभाव र बेरोजगारी हाम्रा साझा शत्रु हुन्। आर्थिक विकास र समृद्धि साझा लक्ष हो। राजनीतिकरुपमा कसैले कसैप्रति शत्रुतापूर्ण व्यवहार देखाउनुपर्ने अवस्था देखिन्न। मिलेर जानुपर्ने बेलामा राजनीतिक शक्तिहरुले द्वन्द्व बढाउने व्यवहार देखाउनु उचित हुँदैन। त्यसैले अहिले देखिएको तिक्तता सम्वाद र सहमतिमार्फत् अन्त्य गर्नेतर्फ लाग्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top