Free songs
Home / सम्पादकीय / पार्टी एकता र चुनौती

पार्टी एकता र चुनौती

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच पार्टी एकता भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको लामो समयपछि सो पार्टीको एकता प्रक्रिया करिव–करिव टुंगिएको छ। सबै जिल्लामा नेतृत्व चयन गरिएपछि गाउँ तहसम्मका कमिटीहरु क्रमशः चलायमान बन्ने परिस्थिति बनेको छ। थुप्रै प्रतिकूलताका बाबजुद पनि एउटा मापदण्ड बनाएर जिल्ला नेतृत्व चयन गरिएको छ। यसप्रति विरोध र आलोचनाका स्वरहरु सुनिएका छन्। खासगरी एउटै व्यक्तिलाई दोहोरो तेहोरो जिम्मेवारी दिइने र कतिपय योग्य व्यक्ति जिम्मेवारीबिहीन हुने स्थिति देखिएको छ। यस्तो अवस्थामा उचित र विवेकपूर्ण निर्णय गरेर जिम्मेवारी बाँडफाँड गर्ने कुरामा नेतृत्व चुकेको छ। राज्य सञ्चालन र पार्टी सञ्चालन गर्दा दिइने जिम्मेवारी सम्बन्धमा उचित नीति निर्माण गर्न नसक्दा नै यस्तो समस्या आएको हो।

वि.सं. २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपालमा कम्युनिष्ट पार्टी गठन भएको पनि अहिले सात दशक पूरा भइसकेको छ। यस बीचमा विभिन्न शान्तिपूर्ण र हिंसात्मक आन्दोलनहरु भए र यी आन्दोलनहरुमा कम्युनिष्ट घटकहरुको महत्वपूर्ण योगदान रह्यो। त्यसैको प्रतिफल निरंकुश राजतन्त्रको अन्त्य भइ गणतन्त्र स्थापना भयो। हाम्रो गणतन्त्रको स्वरुप लोकतान्त्रिक, समावेशी, समतामूलक, समाजवाद उन्मुख हुने समेत स्वीकार गरिसकिएको छ। यति महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुपर्ने चुनौतीका सन्दर्भमा दुई ठूला कम्युनिष्ट पार्टीको एकतालाई जनताले निर्वाचनमार्फत् अनुमोदन गरिसकेका छन्। तर एकीकृत भएको नेकपा र उसको नेतृत्वमा बनेको सरकारले यी ऐतिहासकि कार्यभार एवं जिम्मेवारी पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न यतिबेला उठेको छ। जनस्तरमा केही आशंकाहरु उब्जिएका छन्। यी कार्यभारहरु पूरा गर्न सकिएन भने पार्टी एकता हुनु र दुई तिहाई बहुमतको सरकार बन्नुको खासै अर्थ रहेनछैन। यसमा पार्टीका नेता कार्यकर्ता पंक्ति गम्भीर भएको पाइदैन।

टुटफुटबाट गुज्रिएको कम्युनिष्ट आन्दोलनलाई एकताको प्रक्रियामा ल्याउनु निसन्देह ठूलो उपलब्धि हो। जिल्ला नेतृत्व चयन भएसँगै अब जनवर्गीय संंगठन, मोर्चा, पेशागत संगठन र प्रवास कमिटीको एकता मात्र टुंगिन बाँकी छ। यो भनेको एकता प्रक्रिया करिव–करिव टुंगोमा पुगिसकेको अवस्था हो। दुई पार्टीबीचको एकता प्रक्रिया तुहिने आशंका एउटा कोणबाट गरिदै आएको थियो। अब यस्ता आशंकाहरुको कुनै अर्थ छैन। अहिले गठन भएका सबै कमिटीहरु तदर्थ नै हुन्। वडा टोलदेखि केन्द्रसम्मका कमिटीहरु आउँदा दिनमा निर्वाचित भएर आउँदा एउटा विधि र प्रक्रिया व्यवस्थित ढंगले स्थापित गर्न सक्नुपर्ने हुन्छ। त्यसैले अहिले देखिएका समस्याहरु अस्थायी प्रकृतिकै हुन्। आउँदा दिनमा विधि र प्रक्रियालाई ठीकढंगले पालना गर्न गराउन सकियो भने धेरै समस्या हल भएर जान सक्छन्।

विश्वभरि नै कम्युनिष्ट आन्दोलन रक्षात्मक बन्दै गएको बेला नेपालमा भने बिल्कुलै भिन्न परिस्थिति आएको छ। जनताले कम्युनिष्ट पार्टीलाई दुई तिहाई नजिकको बहुमत दिएका छन्। केन्द्र, प्रदेश, स्थानीय गरी तीनवटै तहका सरकारमा कम्युनिष्टहरुको वर्चस्व छ। यति ठूलो बहुमत प्राप्त गर्दा पनि सोचेअनुरुप काम हुन सकिरहेको छैन। जनताले सुशासनको अनुभूति गरेका छैनन् । राहत महसुस गरेका छैनन्। भ्रष्टाचार घट्नुको साटो बढ्न थालेको छ। पार्टीका  नेता र जनप्रतिनिधिहरुमाथि प्रश्न चिन्ह उठेका छन्। कम्युनिष्ट आचरण, चरित्र र व्यवहारबारे तलदेखि माथिसम्म कुनै मापदण्ड छैन। सैद्धान्तिक प्रशिक्षण शून्यप्रायः छ।

यसले सैद्धान्तिक, वैचारिक विचलन ल्याउन सक्छ, ल्याइसकेको छ। त्यसैले नवगठित नेकपाले यी सबै पक्षमाथि विचार पु¥याएर पार्टी संगठनलाई चुस्तदुरुस्त र कमी कमजोरीबाट मुक्त राख्ने गरी योजना बनाउन सक्नुपर्छ। सम्पत्तिको लोभ लालचमा फसेका, अबैधानिक कारोवारमा लिप्त रहेका, समाजमा बदनाम भइसकेका पात्र र चरित्रलाई बोकेर कम्युनिष्टको राजनीति गर्छु भनेर कुनै तहको नेतृत्वले सोचेको छ भने त्यो मूर्खता मात्र हुनेछ। जनतामा आएको चेतना र जागरणका कारण पनि त्यो अब सम्भव देखिन्न।

दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताले थुप्रै अवसरहरु सिर्जना गरेको छ र चुनौतीहरु पनि थपिएका छन्। अहिले प्राप्त भएको अवसरलाई ठीकढंगले उपयोग गर्न सक्नुमै यसको सफलता अन्तर्निहीत छ। चरम सत्तामोह, स्वार्थकेन्द्रित दृष्टिकोण, सच्चिन, सुध्रिन आवश्यक नठान्ने प्रवृत्तिले नेकपालाई गाँज्न सक्छ। यस्ता कुरामा नेतृत्वमा बस्नेहरुले ध्यान पु¥याउन सक्नुपर्छ। पार्टी गुट, उपगुटको अखाडा बन्यो भने त्यो पार्टी नभएर झूण्डमा परिणत हुन्छ। नेकपाले त्यो नियति भोग्न नपरोस् भनेर यति बेला भन्नैपर्ने हुन्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top