Free songs
Home / सम्पादकीय / लोकतन्त्रका तेह्र वर्ष

लोकतन्त्रका तेह्र वर्ष

आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस। २०६३ साल वैशाख ११ गते आजकै दिन १९ दिने जनआन्दोलन उत्कर्षमा पुगेको थियो। २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शाही घोषणामार्फत बहुदलीय प्रजातन्त्र अपहरण गरी शासन सत्ता आफ्नो हातमा लिएपछि राजनीतिक दल र आम लोकतन्त्रवादी सचेत नागरिक एकताबद्ध भएर आन्दोलनमा उत्रिएका थिए। तत्कालीन माओवादी र सात दलबीच २०६२ मंसिर ७ गते १२ बुँदे समझदारी भएपछि सोही वर्षको चैत २४ गतेदेखि शुरु भएको संयुक्त जनआन्दोलन वैशाख ११ गते उत्कर्षमा पुगेको थियो। भर्खरैको पुस्ताका लागि यो घटना नौलोजस्तो लागे पनि थोरै पाको पुस्ताका लागि यी घटना आँखै वरिपरि नाचिरहेको हुनुपर्छ। सायद यो आन्दोलनमा सहभागी नहुने निकै कम हुनुपर्छ। जनताले रगत पसिना बगाएर लोकतन्त्र स्थापना भएपछि आजसम्म के–के राजनीतिक घटनाक्रम भइरहेका छन् ? जनताको आर्थिक–सामाजिक जीवनमा कस्तो परिवर्तन आइरहेको छ ? लोकतन्त्र दिवससँगै आज समीक्षा गर्नुपर्ने ज्वलन्त प्रश्न यिनै हुन्।

राजनीतिक घटना हेर्ने हो भने निकै ढिला गरी भए पनि संविधान जारी भएको छ। लोकतन्त्र स्थापनापछि माओवादी बिद्रोही शान्तिपूर्ण राजनीतिमा आउनु, संविधानसभाको चुनाव हुनु, संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको ऐतिहासिक घोषणा हुनु, आठ वर्ष समय गुजारेर भए पनि संविधानसभाबाट संविधान बन्नु, नयाँ संविधानमार्फत राज्यपुनर्संरचना गरी संघीयता कार्यान्वयनमा आउनु, धर्मनिरपेक्षता, समावेशी समानुपातिक सिद्धान्त अवलम्बन गर्नु र तीनै तहका निर्वाचनमार्फत संविधान कार्यान्वयनमा जानु आजसम्मका मुख्य राजनीतिक उपलब्धि हुन्। संरचनागतरुपमा भन्ने हो भने मुलुकमा आमूल परिवर्तन नै भएको हो।

यसलाई जोगाउँदै जनताको जीवन रुपान्तरण र देशको समृद्धि अबको बाटो हो। तर, यो काम त्यति सजिलै भइहाल्ने देखिन्न। एकातिर फेरि पुनरुत्थानवादीहरु सल्बलाउन थालेका छन् भने अर्कोतिर हिजो परिवर्तनको नेतृत्व गरेका राजनीतिक शक्तिहरुको सोच, चिन्तन र शैली तद्अनुकूल विकास हुन सकेको छैन। संरचना फेरिए पनि त्यसलाई जनताको पक्षमा कार्यान्वयन गर्ने शक्तिहरुको सोच, चिन्तन र शैली बदलिएन भने उपलब्धिले बहुसंख्यक जनताको जीवन रुपान्तरण नगर्न सक्छ। अहिले लोकतन्त्र त छ तर यो सीमित राजनीतिक नेता कार्यकर्ताको पहुँचभन्दा बाहिर आउने होइन कि भन्ने चिन्ता बढेको छ। नेताहरुको जीवन बदलिने तर जनताको आर्थिक सामाजिक जीवनमा कुनै फेरबदल नहुने हो भने यसले लोकतन्त्रमाथि प्रश्न उठाउनेहरुलाई स्थान दिनसक्छ।

अहिले एकातिर घोर दक्षिणपन्थी शक्तिहरु प्राप्त उपलब्धि उल्ट्याउन चाहन्छन् भने अर्कोतिर कुनै पनि उपलब्धि प्राप्त नै भएको छैन, भनिएका जति सबै भ्रम हुन् भन्ने सोच विस्तार गर्न खोजिदैछ। पहिलो प्रवृत्ति त लोकतन्त्रको वैरी नै हो भने दोस्रो प्रवृत्तिले पनि मुलुकलाई सही दिशा सक्दैन। प्राप्त उपलब्धिलाई नजरअन्दाज गर्ने र नयाँ उपलब्धिका लागि निरन्तर संघर्ष मात्र गरिरहने सोचले पनि तत्काल जनताको चाहना पूरा गर्न सक्दैन। स्पष्ट हुनुपर्ने सवाल के हो भने संरचनागतरुपमा परिवर्तन भएको साँचो हो तर संरचना चलाउने शक्तिहरु विचलनउन्मुख देखिएको पनि अर्को साँचो हो। त्यसैले अहिले शान्तिपूर्ण राजनीतिक गतिविधिबाटै तमाम बेथितिविरुद्ध प्रहार गर्दै प्राप्त उपलब्धिको रक्षा र थप विकासका लागि अघि बढ्नु नै सबै प्रवृत्तिका शक्तिको हितमा छन्। अहिले शक्तिहरुमा रहेका दलहरु थप एकताबद्ध हुँदै हिजो आन्दोलनको बेला जनतासँग गरिएका बाचा र आफ्ना एजेण्डाप्रति गम्भीर र प्रतिबद्ध हुनुपर्छ। त्यस्तै कुनै उपलिब्ध नै भएको छैन भनेर गैरसंवैधानिक गतिविधिउन्मुख शक्तिहरु पनि यही संविधानभित्रैबाट बेथिति र विसंगतिविरुद्धका सामाजिक अभियान चलाएर अघि बढ्नसक्ने राजनीतिक मैदान खाली नै छ। आज लोकतन्त्र दिवस मनाइरहँदा कम्तिमा हिजो लोकतन्त्रका लागि रगत पसिना बगाएका सबै शक्तिहरु मुलुक र मुलुकवासीप्रति थप जिम्मेवार बन्न आवश्यक छ। अब समृद्धि समृद्धि मात्र भनेर हुँदैन, कसका लागि र कस्तो समृद्धि गरिदैछ, यो पनि स्पष्ट गरेर जनतालाई साथमा लिएर अघि बढ्नुपर्छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top