Free songs
Home / सम्पादकीय / जोखिममा महिला स्वास्थ्य

जोखिममा महिला स्वास्थ्य

नेपालमा सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिइएको छ। यही कानुनी आधारमा टेकेर गर्भपतन गराउने महिलाको संख्या दिनानुदिन
बढ्दोछ। नेपाल परिवार नियोजन संघ दाङमा विगत दुई वर्षमा एक हजार दुई सय ३८ जनाले गर्भपतन गराएका छन्। दाङमा परिवार नियोजन संघ बाहेक अन्यत्र पनि गर्भपतन गराउने मान्यताप्राप्त स्वास्थ्य संस्था छन्। यसको मतलब जिल्लाभरको तथ्यांक लिने हो भने यो संख्या अझ धेरै हुन आउँछ। यसबाहेक असुरक्षितरुपमा गर्भपतन गराउनेको संख्या पनि उत्तिकै धेरै रहेको जानकारहरु बताउँछन्। अनिच्छित गर्भले महिलाको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा ल्याउने दुष्परिणामबाट बच्न गरिने गर्भपतनले उनीहरुको स्वास्थ्यमा पारिरहेको प्रतिकूल असरका बारेमा पर्याप्त जानकारी प्रवाह हुन भने सकेको छैन।

नेपालमा गर्भपतनको स्थितिसम्बन्धी एउटा अध्ययनले एक वर्षमा तीन लाख २३ हजार महिलाले गर्भपतन गराएको देखाएको छ। त्यसमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गर्छन्। सो अध्ययन अनुसार प्रतिवर्ष एक लाख ८६ हजार एक सय ४४ महिलाले असुरक्षित गर्भपतन गराउँदै आएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २० करोड ८० लाख गर्भवती हुने गरेकामध्ये ५४ प्रतिशतले गर्भपतन गराउने गरेका छन्। तीमध्ये ४९ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन्। प्रतिवर्ष ४७ हजार महिलाको मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको छ भने ५० लाख महिला विश्वमा असुरक्षित गर्भपतनको जटिलताका कारण विभिन्न रोगबाट ग्रस्त हुने गरेका छन्। नेपालमा कुल मातृ मृत्युदरमध्ये सात प्रतिशत महिला र किशोरीको मृत्यु असुरक्षित गर्भपतनका कारण हुँदै आएको मानिन्छ छ। यी नतिजाहरूले हामीलाई सुरक्षित गर्भपतनको सेवाका क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने देखाएको छ।

बलात्कारको कारण वा सामाजिक मान्यता र परम्पराविपरीत गर्भ रहन गएको छ भने, गर्भधारण गरिरहनु आमाको स्वास्थ्यका लागि खतराजनक छ भने, जन्मने बच्चा शारीरिक र मानसिकरूपमा विकलाङ्ग हुने सम्भावना भएमा गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ। त्यस्तै बच्चाको संख्या पुगिसकेको छ भने, बच्चा जन्माउने इच्छा नै छैन भने, बच्चाको लालन–पालन गर्ने जिम्मेवारी लिने वा सघाउनेवाला छैन वा भए पनि इच्छुक छैन भने पनि गर्भपतन गराएको पाइन्छ। तर गर्भपतनको विषय जहिले पनि विवादित बन्दै आएको छ। गर्भपतनलाई लिएर महिलालाई लाञ्छना लगाउनेसम्मको काम हुने गरेको छ। अधिकारको दुरुपयोगको रुपमा परिभाषित गर्ने प्रचलन पनि छ। तर गर्भपतनको अधिकारको उपयोग मानसिक र शारीरिक दुबैरूपमा पीडादायी हुने, यसको उपयोगले महिलाको ज्यान जोखिममा पर्ने मात्र होइन, मृत्यु समेत हुनसक्छ भन्ने कुरा कमै मात्र चर्चा हुने गर्छ। त्यस्तै गर्भपतनलाई हलुकारुपमा लिने, परिवार नियोजनको साधनको विकल्पको रुपमा लिने प्रचलन पनि उत्तिकै छ।

गर्भपतनलाई अझै पनि धेरैले नकारात्मक रुपमा मात्र लिने गर्छन्। तर विकसित मुलुकमा महिलाको विकासका लागि गर्भपतन स्वाभाविक मानिन्छ। यसलाई सकारात्मकरुपमा लिने गरिन्छ। सुरक्षित गर्भपतन महिलामा निहीत अधिकार पनि हो। कुनै पनि बेला अनिच्छित गर्भ रहेमा र त्यसले आफ्नो काम, करिअर या स्वास्थ्यमा नकारात्मक असर पार्ने देखिएमा सुरक्षित बाटो अपनाएर महिलाले त्यो गर्भ त्याग्न सक्छन्। प्रतिकूल समयमा बच्चा जन्मिएमा उनीहरुको स्याहारमा समस्या आउन सक्छ। महिलाको भविष्य निर्माणको महत्वपूर्ण समय खेर जान सक्छ। उनीहरुको सशक्तिकरणमा बाधा पुग्न सक्छ। सुरक्षित गर्भपतनले महिलाहरूको गुणस्तरीय जीवनलाई बढाउन मद्दत नै पुग्छ। त्यसैले गर्भपतनलाई नकारात्मकरुपमा मात्र लिन जरुरी छैन। साथै सबैले हेक्का राख्नुपर्ने विषय भनेको गर्भपतनलाई हलुकारुपमा लिनुहुँदैन भन्ने नै हो। गर्भपतनले निम्त्याउने स्वास्थ्य जटिलताबारेको अनभिज्ञता, पारिवारिक दबाब आदिले पनि कैयौं महिला गर्भपतन गर्न बाध्य भएका उदाहरण छन्। जथाभावी गर्भपतनले शरीरमा असर गर्छ। सुरक्षित तरिकाले गरे पनि कसैलाई रक्तस्राव हुने, पाठेघरमा संक्रमण हुने, महिनाबारीमा गडबडी हुनेजस्ता समस्या देखिन सक्छ। गर्भपतनको समस्या रोक्न परिवार नियोजनको प्रभावकारी साधनहरूको उपलब्धता, गर्भपतनसम्बन्धी ज्ञान, कानुनी सहजता र सुरक्षित गर्भपतन सेवाको उपलब्धता नै सबैभन्दा उत्तम उपाय हो। जहाँ तहीँ असुरक्षित तरिकाले गरिने गर्भपतन रोक्न पर्याप्त अनुगमन, नियमन बढाउनु पनि उत्तिकै जरुरी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top