Free songs
Home / सम्पादकीय / पहाडी जिल्लामा सहज सडक

पहाडी जिल्लामा सहज सडक

पाँच नम्बर प्रदेश सरकारले प्रदेशका पहाडी जिल्लालाई सडक सञ्जालमा जोड्ने गरी नयाँ मार्ग निर्माणको तयारी थालेको छ। प्रदेश सरकारले नीति कार्यक्रम र बजेटबाटै अघि सारेको ‘आश्रित–कृष्णसेन मार्ग’ निर्माण शुरु गर्ने तयारी गरेको हो। पाल्पादेखि रोल्पासम्म निर्माण गरिने यो सडक निर्माण भएपछि गण्डकी प्रदेशदेखि कर्णाली प्रदेशसम्मलाई जोड्न सकिने भएको छ। जीवराज आश्रित र कृष्णसेन इच्छुकको नामबाट ‘आश्रित–कृष्णसेन मार्ग’ निर्माण यसै आर्थिक वर्षबाट थालिने प्रदेश सरकारले जनाएको छ। यो आर्थिक वर्षमा पाँच करोड मात्रै बजेट रहेकाले विस्तृत अध्ययन र मोड सुधारका काम गरिने प्रदेश सरकारले जनाएको छ। पाल्पाको रामपुरलाई जिरो किलोमिटर मानेर थालिने यो सडकको रुट रामपुर–आर्य भञ्ज्याङ–तानसेनको बाइपास–हार्थोक–छहरा–तीनगिरे–घुम्ती–नरपानी–चुजाठाँटी–खगंला–बिजुवार–नदीपारिबाट भिङ्ग्री–स्वर्गद्वारीकोखाल–होलेरी–दहवन–निगालपानी रहेको छ। निगालपानीबाट कपुरकोट झार्ने वा पाथीहाल्ना हुँदै थारमारे जोड्ने भन्नेमा छलफल चलिरहेको छ। पहाडी क्षेत्रमा महत्वपूर्ण सडक निर्माण हुन नसकिरहेको बेला यो योजनाले थोरै भए पनि पहाडी जिल्लालाई सम्बोधन गर्नेछ।

अहिले प्रादेशिक संरचना बने पनि विकासका दृष्टिले मूल्यांकन गर्दा यो क्षेत्रमा साविक राप्तीकै आँखाबाट हेर्नु उपयुक्त हुन्छ। साविक राप्तीका पाँच जिल्ला नयाँ संविधान जारी भएसँगै छ जिल्लामा बाँडिए। रुकुम विभाजन भएर पूर्व र पश्चिम भएपछि साविक राप्तीका छ जिल्लामध्ये दाङ, रोल्पा, प्युठान र रुकुमपूर्व पाँच नम्बर प्रदेशमा गए भने सल्यान र रुकुमपश्चिम कर्णाली प्रदेशमा गए। अब यी छ जिल्लाको विकास गर्ने फरक प्रदेशको दायित्व बनेको भए पनि पृष्ठभूमि बिर्सनुहुँदैन। दाङबाट पूर्वपश्चिम महेन्द्र राजमार्ग सञ्चालनमा छ। पछिल्लो राजनीतिक परिवर्तनसँगै थपिएको मध्यपहाडी लोकमार्गले रुकुम खण्डलाई मात्रै १२४ किलोमिटर छोएको छ, अहिले दुई जिल्ला बनेको रुकुमपूर्वमा ५७ र रुकुमपश्चिममा ६५ किलोमिटर मध्यपहाडी लोकमार्ग पर्दछ। विकासका लागि सडक मेरुदण्ड मानिन्छ, त्यसमा पनि राष्ट्रिय मार्गले जोड्नु अझ महत्वपूर्ण मानिन्छ। साविक राप्तीका दाङ र रुकुमलाई राष्ट्रिय मार्गले छोए पनि सल्यान, प्युठान र रोल्पालाई छुन सकिरहेको छैन। यो सन्दर्भमा प्युठान, रोल्पा र सल्यानलाई छुने गरी आउने नयाँ सडक योजनाले साविक राप्तीमा पहाडी क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नेछ।

विकासमा क्षेत्रीय सन्तुलनको अति नै आवश्यक पर्दछ। अब सडक निर्माण गर्नुपर्ने लक्षित क्षेत्र भनेको पहाडी र हिमाली क्षेत्र नै हो। तराईका धेरै ठाउँमा सडक पुगेको छ। भएका सडकको स्तरोन्नति र कालोपत्रे गर्ने दायित्व चाहि सकिएको छैन। तर, नयाँ सडक निर्माण गर्ने भनेको पहाडी क्षेत्रमै हो। त्यसो त नयाँ प्रादेशिक संरचनाको प्रशासनिक सुगमता पनि जरुरी छ। कम्तिमा प्रदेशभरिका नागरिक सहजरुपमा प्रदेश राजधानीसम्म पुग्न सकून्, त्यसका लागि प्रदेशका हरेक जिल्ला सके राष्ट्रिय, नभए प्रादेशिक सडक सञ्जालले जोडिनुपर्छ। अहिले यस क्षेत्रमा केही रणनीतिक सडक निर्माण भइरहेका छन्। मध्यपहाडी लोकमार्गले पहाडी तथा हिमाली क्षेत्रको जीवन बदल्न थालिसकेको छ। दाङको घोराहीदेखि रोल्पा–रुकुमहुँदै डोल्पा जोड्ने सहिद मार्ग पनि अर्को रणनीतिक महत्वको सडक हो। डोल्पाको मरिम नाकासम्म यो सडक पु¥याउँदा कोइलाबास–लमही–घोराहीहुँदै यो सडक त्रिदेशीय सडकको रुपमा स्थापित हुने सम्भावना छ, यद्यपि यसका लागि धेरै समय लाग्न सक्छ। यो वर्षदेखि शुरु भएको मदन भण्डारी लोकमार्ग पनि प्युठान दाङ हुँदै अघि बढ्दैछ। यसले दाङलाई आफ्नै प्रदेश र गण्डकी प्रदेशका पहाडी जिल्ला तथा कर्णालीसँग सहजरुपमा जोड्ने छ। यी सबै सडकलाई शीघ्र निर्माण गर्न सके यो क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। त्यसमा पनि मुख्य सडकले जोड्न नसकेका पहाडी जिल्लामा बाहै्र महिना चल्ने सडक अपरिहार्य भइसकेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top