Free songs
Home / सम्पादकीय / प्रदूषणको भयावह रुप

प्रदूषणको भयावह रुप

आज संसारभरि विश्व स्वास्थ्य दिवस मनाइ“दैछ। प्रत्येक वर्ष अप्रिल ७ मा यो दिवस मनाइन्छ। स्वास्थ्यमा विश्वव्यापी पहुँच ः सबैलाई सबैतिर भन्ने नाराका साथ आज यो दिवस मनाइ“दैछ। यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले सन् २०१९ का लागि दशबुँदे विश्वव्यापी स्वास्थ्य संकट र चुनौती सार्वजनिक गरेको छ। जसमा पहिलो बुँदामा वायु प्रदूषण र जलवायु परिवर्तन रहेको छ। वायु प्रदूषणकै कारण विश्वमा वर्षेनि झण्डै दश लाखको ज्यान जाने गरेको छ। नेपालमा प्रदूषणका कारण वर्षेनि ३५ हजारको ज्यान जाने गरेको तथ्यांक छ। फोक्सो, मुटु र मस्तिष्कजन्य रोगको प्रमुख कारण नै वायु प्रदूषण मानिएको छ। केही समयअघिसम्म काठमाडौंको वातावरण प्रदूषित रहेकोमा अहिले देशभरिकै नाजुक हुन थालेको छ। दाङको पनि पर्यावरण पनि चिन्ताजनक अवस्थामा छ। वायु प्रदूषणका कारण नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नेपालमा वर्षेनि दुई खर्ब ८० अर्ब रुपैयाँको नोक्सानी हुने गरेको अध्ययनहरुले देखाएका छन्। त्यसैले विश्व स्वास्थ्य संगठनले दिएको चेतावनीप्रति नेपाल बढी नै सचेत बन्नुपर्ने आवश्यकता छ।

अन्तर्राष्ट्रिय अध्ययनहरु नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र रहेकोे देखाएका छन्। ‘इन्भाइरोमेन्ट पर्फमेन्स इन्डेक्स २०१८’ ले वायु प्रदूषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा रहेको देखाएको छ। बढ्दो सवारी चापसँगै प्रदूषणको ग्राफ उकालो लागिरहेको र वायुको स्तर खस्कदो अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ। संसारमै वातावरण प्रदूषण बढेको देशमा नेपाल, भारत, बुरुण्डी, बंगलादेश देखिएका छन्। विकास निर्माण बढेपछि प्रदूषण बढेको केहीले तर्क गर्दछन्, जो सरासर गलत छ। फ्रान्स, डेनमार्क, माल्टा र स्वीडेन विश्वमै वायु प्रदूषणको गुणस्तर राम्रो हुने मुलुक हुन्, जो सबै धनी देशमा पर्दछन्। उद्योग धन्दाको विकास भएकै कारण प्रदूषण बढेको मान्ने हो भने या भोलि विकास नै नहुने स्थिति आउँछ या त विकासको पर्यायको रुपमा प्रदूषणलाई स्वीकार गर्नुपर्ने हुन्छ। त्यसैले प्रदूषण बढेको विकासका कारण होइन बरु विकास संरचना निर्माण गर्दा प्रदूषण नियन्त्रणमा ध्यान नदिएको साँचो हो।

धेरैको अध्ययनले के देखाएका छन् भने यदि विकसित देशमा नेपालको जस्तो प्रदूषण बढ्थ्यो भने हरेक दिन साइरन बजाएर नागरिकलाई बाहिर नजान सचेत गराइन्थ्यो। यसबाट के बुझ्नुपर्छ भने नेपालमा हरेक वर्षजसो बढ्दै गएको प्रदूषण रोक्नु प्राथमिक एजेण्डा बनिसकेको छ। विकास निर्माण अन्य देशमा पनि हुन्छन् तर धुलोधुवाँ नियन्त्रण पनि निर्माणकै एउटा हिस्साको रुपमा रहन्छ। नेपालमा बीसौं वर्ष पुराना गाडी गुडेकै छन्। अन्य देशबाट विस्थापित भएका उपकरण यहाँ ल्याएर चलाइन्छ। कैयौं विकसित देशमा विद्युतीय सवारी साधन चलाउने होड चलेको छ। उनीहरुले बजारभित्रकै कतिपय सडक गाडी निषेधित क्षेत्र छन्, जहाँ पैदलयात्रु र साइकल मात्रै चल्छन्। मानव वस्तीको बीचमा सिमेन्ट उद्योग सञ्चालन गर्ने देशको अग्रपंक्तिमा सम्भवतः नेपाल नै पर्छ। प्राकृतिक स्रोत साधनको दोहनलाई ठूलो उद्योगधन्दाको रुपमा स्थापित गर्ने र त्यसबाट आउने राजश्वले देश चलाउन खोज्ने कालीदास प्रवृत्तिमा पनि हामी नै अगाडि छौं। ग्रामीण क्षेत्रमा दाउरा र गुइ“ठा बाल्ने प्रवृत्तिमा कमी आएको छैन।

त्यसैले नेपालमा प्रदूषण नियन्त्रण निकै चुनौतीको विषय छ। यो सामान्य अभियानबाट सच्चिने अवस्थामा छैन। राज्यले गहिरो अध्ययनपछि निकै जोडबल गर्नुपर्ने अवस्था छ। पछिल्लो समयमा केही सुधारका प्रयास नभएका पनि होइनन्। अहिले देशभरि बीस ठाउँमा प्रदूषण गुणस्तर मापनकेन्द्र स्थापना गरिएको छ। काठमाडौंका सात ठाउँ र काठमाडौंबाहिर दाङसहित १३ स्थानमा केन्द्र स्थापना गरिएको छ। दाङको रामपुरमा स्थापना गरिएको यो केन्द्रले दैनिकजसो घोराही क्षेत्रको प्रदूषण अवस्था अध्ययन गरिरहेको छ, जसको नतिजा काठमाडौं रत्नपार्कको भन्दा फरक छैन। वर्षेनि ३५ हजारको ज्यान लिने र झण्डै तीन खर्बको क्षति हुने प्रदूषण नियन्त्रण अब राज्य र आम नागरिकको प्राथमिकतामा पर्ने कि नपर्ने ? प्रदूषण नियन्त्रण राज्यका कुनै इकाई वा गैरसरकारी संस्थाको भर परेर मात्र हुँदैन, सिंगो राज्य र आम नागरिकले प्राथमिक एजेण्डा बनाउनुपर्छ। विश्व स्वास्थ्य संगठनले त्यत्तिकै यसलाई विश्वको पहिलो चुनौतीमा राखेको होइन भन्ने कम्तिमा सबैले बोध गर्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top