Free songs
Home / अन्तर्वार्ता / प्राज्ञिक अध्ययनले मात्र भाषा जोगाउन कठिन छ

प्राज्ञिक अध्ययनले मात्र भाषा जोगाउन कठिन छ

उदय आले, अनुसन्धानकर्ता

गढवा गाउँपालिका–६ निवासी उदय आलेले विगत एक दशकदेखि भाषा, साहित्य, कला, संस्कृति, परम्पराको खोज अनुसन्धान गरिरहनुभएको छ । कुसुण्डा र थारु जातिको भाषा, कला, साहित्य, संस्कृतिको अध्ययन अनुसन्धान गरिरहनुभएका उदय आलेसँग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । – सम्पादकगढवा गाउँपालिका–६ निवासी उदय आलेले विगत एक दशकदेखि भाषा, साहित्य, कला, संस्कृति, परम्पराको खोज अनुसन्धान गरिरहनुभएको छ । कुसुण्डा र थारु जातिको भाषा, कला, साहित्य, संस्कृतिको अध्ययन अनुसन्धान गरिरहनुभएका उदय आलेसँग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक

मातृभाषाको अवस्था कस्तो छ ?

धन्यवाद आभास, विश्वभर अहिले सात हजार भाषा रहेको तथ्यांक पाइन्छ । आधाभन्दा बढी भाषाहरु संकटापन्न अवस्थामा रहेका छन् । यसको अर्थ हो लोपोन्मुख अवस्थामा पुगेका छन् । बि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा एक सय २६ जातजाति र एक सय २३ भाषा रहेको देखाउँछ । भाषा परिवारको आधारमा नेपालमा बोलिने भाषाहरूलाई ः आग्नेसियाली, भोट–वर्मेली परिवार, द्रविड र भारोपेली परिवार गरी चार भाषा परिवार र कुसुण्डा भाषालाई अवर्गीकृत वा एकल भाषा भनी उल्लेख गरिएको छ । व्यक्तिको बोली फुट्दादेखि नै आमा–बाबुले बोल्न सिकाइ परिवारमा बोलिने पहिलो भाषालाई मातृभाषा भनिन्छ । नेपालका धेरैजसो भाषाहरु कथ्यमा मात्र सीमित छन् । केही सीमित भाषाको मात्र लिपि र कथ्य र लेख्यमा विकास भएको छ । भाषालाई विचार र भावना व्यक्त गर्ने माध्यम मात्र हो भनी बुझ्नु भएन । मानवले अहिलेसम्म प्राप्त गरेको अमूल्य सम्पत्तिमध्ये भाषा एक हो । प्रत्येक भाषा र संस्कृतिमा जीवन र विश्व जगतलाई बुझ्ने चिन्तन, दृष्टिकोण, ज्ञानको भण्डार र सीप रहेको हुन्छ । भाषाले इतिहास बोकेको हुन्छ । भाषा जातीय चिनारीको प्रमुख आधार हो । यतिबेला प्रत्येक भाषाभाषीले भाषाबाहेक भेषभूषा, चालचलन, रीतिरिवाज, परम्परा, रहनसहन गुमाउँदै गइरहेका छन् । दुःखका साथ भन्नुपर्छ नेपालमा केही मातृभाषाहरु अत्यन्तै लोपोन्मुख र संकटको अवस्थामा रहेका छन् । जसलाई समयमा संरक्षण गर्न आवश्यक छ । ती भाषाहरुलाई अभिलेखीकरण गर्न सकिएन भने इतिहासमा मात्र सीमित हुनेछन् ।

मातृभाषाको विकासका निम्ति ठोस कदम चालिएका छैनन् । यसको विकासका निम्ति के गर्नुपर्ने आवश्यक देख्नुहुन्छ ?

राज्यले समानरुपमा सबै भाषालाई प्राथमिकताका साथ अवसर दिनुपर्ने हो । नीतिगतरुपमा केही पहल गरे पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । प्राथमिक तहसम्म मातृभाषामा पठनपाठन गर्ने गराउने घोषणा गरे पनि पूर्णरुपमा लागु हुन सकेको छैन । मातृभाषा संरक्षणका लागि स्पष्ट नीति र भाषा विकासका लागि पूर्ण रुपमा कार्यान्वयन गर्नैपर्छ । जबसम्म दैनिक जीवनमा भाषाको प्रयोग हुँदैन तबसम्म भाषा संरक्षणको सम्भावना न्यून रहन्छ । आफ्नो भाषा बोल्ने मातृभाषीहरुले हो । त्यसैले मातृभाषीहरुले भाषा पुस्तान्तरण र प्रयोग गर्न विशेष ध्यान दिनैपर्छ । नेपालमा बोलिने केही भाषाहरुको प्राज्ञिक अध्ययन भइरहेको छ र शब्दकोश निर्माणका साथै व्याकरण पनि लेखिएका छन् । प्राज्ञिक अध्ययनले मात्र भाषा जोगाउन कठिन छ । भाषा प्रयोगको अवसर सिर्जना नगर्दासम्म भाषा लोप हुँदै जान सक्छ । शैक्षिक, प्रशासनिक, व्यापारिक, सञ्चार आदि क्षेत्र र दैनिक जीवनमा भाषाको प्रयोग हुन थाल्यो भने मात्र भाषा संरक्षण र विकास हुँदै जान्छ ।

लामो समयदेखि कुसुण्डा जातिबारे अध्ययन अनुसन्धान गरिरहनु भएको छ । यस जातिबारे केही पृष्ठभूमि र भाषाबारे बताइ दिनुस् न ?

नेपालको पहाडी क्षेत्रमा भ्रमणशील जीवन बिताएका कुसुण्डा जाति भर्खर मात्र गाउँमा बसोबास गर्न थालेका छन् । लोपोन्मुख अवस्थामा रहेका कुसुण्डा जाति आदिवासी जाति हो । हाल यिनीहरु तनहुँ, गोर्खा, कपिलवस्तु, प्युठान, रोल्पा, दाङ देउखुरी र सुर्खेत जिल्लामा बसोबास गरिरहेका छन् । कुसुण्डाको कुल जनसंख्या एक सय ५० जनामा दुईजना मात्र पूर्ण वक्ता जीवित रहेका छन् । यी दुईजना पूर्ण वक्ता पनि फरक ठाउँमा बस्ने भएकाले कुसुण्डा भाषा दैनिक जीवनमा प्रयोग हुँदैन । कुसुण्डा भाषाको अध्ययन अनुसन्धान हुँदै आइरहेको छ । तर कुसुण्डा जाति छरिएर बसेका कारण भाषाको प्रयोग हुन सकिरहेको छैन । नेपालमा बोलिने कुनै पनि भाषा परिवारअन्तर्गत सम्बन्ध नगाँसिएको एक महत्वपूर्ण सम्पदा हो । पुस्तान्तरण हुन नसकेको यो भाषा लोपोन्मुख अवस्थामा पुगिसकेको छ ।

लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा संरक्षणका निम्ति भाषा आयोगले भाषा पुस्तान्तरण कक्षा सञ्चालन गरेको छ । यस्तो कार्यक्रमबाट भाषा संरक्षण होला त ?
भाषा आयोगले यसपूर्व ‘शब्द संकलन, वर्ण निर्धारण र भाषा इतिहास लेखन’को अनुसन्धानात्मक काम गरिसकेको छ । त्यस कार्यमा डा. बाबुराम आचार्य, टीकाराम उदासी र मैले संयुक्तरुपमा पूरा गरेका थियौं । अहिले भाषा आयोगले एक वर्षको पाठ्यांश तयार गरी प्रारम्भिक चरणको कक्षा सञ्चालन भइरहेको छ । यो ९० घण्टाको कक्षा हो । प्रशिक्षकको रुपमा मैले कुसुण्डा भाषा पढाइरहेको छु । सुर्खेत, दाङ र प्युठान जिल्लाका गरी २० जना कुसुण्डा बालबालिका र प्रौढहरु सहभागी छन् । ९० घण्टाको कक्षापश्चात भाषिक साक्षरताको अपेक्षा गरिएको छ । भाषा कक्षापश्चात भाषा प्रयोग निरन्तरताको खाँचो देखिएको छ । तर यो समुदायको बसाइका कारण निकै जटिलता छ । प्रारम्भिक चरणका सहभागीहरुलाई लमही नगरपालिकाले खाने व्यवस्था गरिदिएकाले केही सहज भएको छ । दयनीय आर्थिक अवस्था र शैक्षिक स्थिति कमजोर रहेका कुसुण्डा आफैले केही गर्न सक्ने अवस्था छैन ।

कुनै एक व्यक्ति विशेषको पहलमा मात्र कुसुण्डा भाषा संरक्षण हुन सक्ने स्थिति छैन । त्यसो त मैले अध्ययन अनुसन्धानपश्चात कुसुण्डा भाषाको शब्दकोश प्रकाशन गरिसकेको छु । शब्दकोशले मात्र कुसुण्डा भाषाको संरक्षण र विकास हुन सक्दैन । शब्दकोश, व्याकरण र लिखित सामग्रीहरु सहयोगी स्रोत मात्र हुन् । कुसुण्डा भाषा दैनिक जीवनमा प्रयोग गर्नका लागि एकै ठाउँमा बस्नुपर्ने अवस्था देखिएको छ । पछिल्लो समय नेपाल कुसुण्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डा, ग्रामीण विकासका विद्यार्थी प्रेम कालाथोकी, कानुनका विद्यार्थी अर्नव चौधरी, लोकगायक सचेत विरही भण्डारीलगायत केही अन्य साथीहरुका बीच एकीकृत ‘कुसुण्डा ग्राम’का लागि छलफल भइरहेको छ । कुसुण्डा ग्रामका लागि स्थानीय निकायदेखि राज्यले चासो दिन र सहयोग गर्न आवश्यक छ । ‘कुसुण्डा ग्राम’ले पर्यटन र अनुसन्धानकर्ताका लागि सहज पहुँच हुनुका साथै दैनिक जीवनमा कुसुण्डा भाषाको प्रयोग बृद्धि भई संरक्षणमा टेवा पुग्नेछ ।

पछिल्लो समय के विषयमा अनुसन्धान गर्दै हुनुहुन्छ ?

अध्ययन, अनुसन्धान र लेखनमा नै व्यस्त छु । थारु जातिको अनुसन्धानात्मक तयारीपश्चात दङ्गौरिया र देउखुरीया थारु भाषाको व्याकरण तयार गर्दैछु । थारुहरुको सामाजिक र सांस्कृतिक जीवनमा देखा परिरहेको परसंस्कृतिकरणको प्रभाव अध्ययन गरिरहेको छु । साथै थारु जातिमा हराउँदै गइरहेको आदिवासीय परम्परागत सीप अध्ययन गरिरहेको छु । यस अतिरिक्त केही बाँकी रहेका लघु अनुसन्धानको काम पूरा गर्दैछु । कुसुण्डा भाषाको शब्दकोश प्रकाशनपश्चात पनि कुसुण्डा भाषा अध्ययन गरिरहेको छु । डा. टिम बोड्ट र मैले कुसुण्डा भाषाको भाषा वैज्ञानिक अनुसन्धान गर्ने तयारी गरिरहेका छौं । जुन केही समयपछि शुरु गर्दछौं ।

कुनै पनि भाषा, साहित्य, कला, संस्कृति, समाज स्थिर रहँदैन । समयसापेक्ष परिवर्तन भइरहेको हुन्छ । आधुनिकीकरणपश्चात मानव जीवनमा देखा परेका परिवर्तनले हाम्रो जस्तो विकासोन्मुख देशको मौलिकता जोगाउन निकै चुनौती देखिएको छ । भूमण्डलीकरणले विश्वका शक्तिशाली भाषा, साहित्य, कला, संस्कृतिको दबदबा बढ्दै गएको छ । यस्तो अवस्थामा राज्य तहबाटै भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकास गर्न स्पष्ट नीति र मार्गनिर्देशन आवश्यक छ । यो राज्यको जिम्मेवारी पनि हो । साथै हामी अनुसन्धानकर्ता र स्रष्टाहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने आख्यान र गैरआख्यानका कृतिहरु तयार गर्न आवश्यक छ ।

अनुसन्धानात्मक पुस्तक के आउँदैछ ?

केही नयाँ र केही पुराना अध्ययनलाई निरन्तरता दिइरहेकाले नयाँ पुस्तक प्रकाशनको तयारी गरेको छैन । बरु थारु व्याकरण अङ्ग्रेजी भाषामा भएकाले नेपाली र थारु भाषामा पनि तयार गर्ने कि भन्ने छलफल हुँदैछ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top