Free songs
Home / फिचर समाचार / पर्यटकहरु झरनाको सौन्दर्यमा रमाउँछन्

पर्यटकहरु झरनाको सौन्दर्यमा रमाउँछन्

के.बी मसाल

आजभोलि फुर्सदको समयमा भ्रमण गर्ने योजना प्रायः धेरैमा हुन्छ । पर्यटन विकासको लागि यो राम्रो पक्ष हो । प्रदेश नम्वर पाँच दाङको पुरन्धारा अहिले ग्रामीण पर्यटनको गन्तब्य बन्दै गएको छ । बबई गाउँपालिकाको पुरन्धाराको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधतामा पर्यटकहरु रमाउने गरेका छन् । पुरन्धारा झरना, सिमसार, कृषि र प्राकृतिक वातावरणसँग पर्यटन जोडिएको छ ।

बबई गाउँपालिका जिल्ला सदरमुकाम घोराहीदेखि ४६ किलोमिटर पश्चिममा पर्दछ । भौगोलिक संरचनाले हावापानी, जनजीवन, वन वनस्पति र वन्यजन्तु तथा सांस्कृतिक विविधताको कारणले गर्दा ग्रामीण पर्यटकहरु घुमफिर गर्नको लागि र पिकनिक खानको लागि पनि पुरन्धाराको झरनामा पुग्ने गर्दछन् । पुरन्धारा पर्यटनको लागि प्रकृतिले प्रदान गरेको बरदान हो भन्दा पनि हुन्छ । जैविक विविधता, वन जंगल पुरन्धाराका प्राकृतिक निधिहरु हुन् भने संस्कृति, जाति तथा रहनसहनसमेत पर्यटनका लागि आकर्षक पक्षहरु हुन् ।

पुरन्धारा छहरा बबई गाउँपालिकाको वडा नं. ५ मा रहेको छ । यो झरना कालापानी खोलाको ४५ मिटर उचाइबाट झर्ने गर्दछ । बबई नदीको किनार र जंगलबीच रहेको झरनाको प्राकृतिक सुन्दरताले गर्दा पर्यटकहरु रमाउँछन् । गाउँपालिकाको केन्द्र हापुरेबाट झरना १० किमी पश्चिममा घना जंगल र बबई नदी किनारमा रहेको छ । पुरन्धाराको झरना वरपर सिमल, चिउरी, टिक, वर, पिपल, बेल, कुसुम, क्यामुना, सतिसाललगायतका रुख विरुवाले पर्यटकहरुलाई रमणीय बनाइदिएको छ । वन जंगल, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण पुरन्धाराको झरना दाङ जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । पर्यटकको चहलपहल बढ्न थालेपछि झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

पुरन्धाराको झरना हेर्न पर्यटकहरु स्वस्फूर्तरुपमा जाने गर्दछन् । पर्यटकहरु झरनामा पुग्दा छुट्टै आनन्द मात्र होइन, झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन् । सुन्दर प्राकृतिक मनोरम दृश्य झरनाबाट झरेको पानीको फोहोराबाट आउने शीतलता, पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ । शहर बजारको चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि पुरन्धारा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरण पुरन्धाराको झरनामा छ । शनिवार र बिदाको दिनमा समूह समूहमा सयौं आन्तरिक पर्यटक पुरन्धारामा पिकनिक खान पुग्छन् ।

पहाडको बीच भागबाट झरेको छ झरनाको पानी । वरिपरि हरियाली ४५ मिटर माथिबाट झरेको झरना हेर्दै आहा कस्तो राम्रो भन्ने पर्यकहरुको जमात बढेको छ । झरना देख्नासाथ जो कोहीलाई एक चोटि भए पनि झरनाको फेदीसम्म जाउँ जस्तो लाग्छ । गर्मीको समयमा त्यहाँ पुग्ने पर्यटकलाई निकै शीतलता दिन्छ । बबई नदीको तिरमा झरझर गर्दै झरना झरेको छ । पहाडको बीच भागबाट झरेको छ झरनाको पानी । सबैको मन आफूतिरै तान्छ झरनाले । अनि त्यतिकै कोही फर्कनै सक्दैनन् । कोही झरनासँग सेल्फी लिन थाल्छन् त, कोही झरनाको पानीसँगै रमाउँछन् ।

प्रकृतिले दिएको उपहार हो पुरन्धाराको झरना । पुरन्धाराको झरनालाई पर्यटकहरुले फरक–फरक तरिकाले बुझ्छन् । झरना हेर्न मात्र नभई झरना क्षेत्र वरपर रहेका जडीबुटी, बनजंगल, चूरे पहाड़, चराचुरुंगी र जनावरहरु पनि पुरन्धारा पुग्ने पर्यटकहरुको लागि अर्को आकर्षकको विषय बन्न पुगेको छ । कोइली, मैना, सुगा, ढुक्कुर, लुइँचे, हुटिट्याउँ, हुइचिल, जुरेली, भद्रायो, चिल, बाज, गिद्ध, धनेश, कालिजलगायतका चराहरु वनमा देख्न सकिन्छ ।

पुरन्धारा जाँदा पर्यटकहरुले गैरीगाउँ भन्दा उत्तर करिव सात किमीको दूरीमा रहेको अर्को धागे झरना पनि अवलोकन गर्न सकिन्छ । महाभारत पर्वतबाट चट्टानसँग ठोक्किएर बनेको झरना टाढाबाट हेर्दा सेतो धागोको आकृतिमा देखिन्छ । त्यसैले यो झरनालाई स्थानीय भाषामा धागे झरना भन्ने गर्दछन् । ऐतिहासिक धागे झरनाको महत्व बढ्न थालेपछि पर्यटनको लागि गाउँपालिकाले शिवालय, पानीको पोखरी र पिकनिक स्पट निर्माण गरिदिएको छ । धागे झरनासम्म मोटर मार्गसमेत पुगेको छ । धागे झरना हेर्न जाने पर्यटकहरुले प्राकृतिक झरना मात्र होइन वन, चराचुरुङ्गी र ग्रामीण वस्तीको बारेमा अध्ययन गर्न सक्छन् । बबई गाउँपालिका दाङ जिल्लाको विविध संस्कृतिको धनी मानिन्छ । बबई गाउँपालिकामा परम्परादेखि बसाइ सर्ने क्रममा सल्यान, रुकुम र जुम्लासम्मका मानिसहरुको वसोबास छ । त्यसैले गर्दा विभिन्न जिल्लाको भाषा र संस्कृतिको पर्यटकहरुले अध्ययन गर्न सक्छन् । जुम्लाको डेउडा, रुकुमको मयुरनाच र सल्यानको टप्पा नाचको दृष्य पनि कुनै पर्व र उत्सवमा पुग्ने पर्यटकहरुले देख्न सक्छन् ।

पुरन्धारामा झरना मात्र होइन, ऐतिहासिक पानी घट्ट पनि पर्यटकहरुले देख्न सक्छन् । यो प्रविधि नदेखेका पर्यटकहरुको लागि घट्ट महत्वपूर्ण मानिन्छ । ट्वाङखोलाको पानी र एउटै कुलोबाट हंसपुर गाउँमा सात स्थानमा घट्ट सञ्चालन भएका छन् । घट्टबाट बग्ने पानीले मिल सञ्चालन भएको छ । घट्ट र मिल सञ्चालनबाट बगेको पानीले घट्टेखोला, पतेरी, धनुवास, सीतापुर र रातामाटाको जमिनमा सिंचाई भएको छ । ग्रामीण वस्तीमा यस्तो वहु–उद्देश्यीय कृषि विकासको पूर्वाधार देख्न पाउँदा पुरन्धाराको झरना हेर्न जाने पर्यटकहरु आकर्षित हुने गरेका छन् । तरेली परेको पुरन्धाराको हंसपुर गाउँको वस्ती, वस्ती तल हरियाली वनजंगल र बबई नदीको किनार रमणीय वातावरण पुरान्धाराको विशेषता हो ।

प्रचार–प्रसार हुन नसकेको पुरन्धाराको अर्को झरना हो मथुरेकोटको । यो झरना चेटिखोलाको शीरमा पर्दछ । महाभारत पर्वतको श्रृंखलामा पर्ने यो छहरामा पुग्नको लागि गैरीगाउँदेखि दुई कि.मी. उत्तर पैदल यात्रा गर्नुपर्दछ । हापुरे, गैरीगाउँ हँुदै दाङ र सल्यानको सिमानामा पर्ने महाभारत पर्वतको ठाँटीखोला गाउँको बाटो हुँदै सल्यान जाने घोरेटो बाटोमा पर्ने मथुरेकोटको झरना प्राकृतिक हो । यो झरना वरपर घना जंगल रहेको छ । महाभारत पर्वतको खारा र अखेला गाउँ नजिकको यो झरनाको प्राकृतिक आनन्दसँगै पुरन्धारा आसपासका ऐतिहासिक सम्पदाको समेत अवलोकन गर्न सकिन्छ ।

बबई गाउँपालिकाको सबैभन्दा अग्लो चुचुरो तितेको लेक हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण तितेलेक महाभारत पर्वत श्रृंखलामा पर्दछ । पैदल यात्रामा रमाउने पर्यटकहरुलाई तिते लेकको यात्रा रमाइलो हुन्छ । गैरीगाउँबाट धागे झरना हुँदै अखेला, चिमिरे भएर सल्यान जिल्लाको काभ्रा रामबजार पुगिन्छ । चिमिरेबाट सल्यान जिल्लाको खैराबाङ मन्दिरलगायत दर्जनौं रमणीय गाउँहरु र उत्तरतिरका हिमालहरु समेत देख्न सकिन्छ । अखेला पश्चिम स्याला, ओखरा, तल्लो स्याला र उत्तरतिर चिमिरे पर्दछ । यो क्षेत्रमा मगरजातिको बाक्लो वस्ती छ ।

पुरन्धाराको झरना मात्र होइन पर्यटकहरुको लागि गंगामाला बज्यूको मन्दिर पनि अध्ययन अनुसन्धानको लागि अर्को धार्मिक सम्पदा रहेको छ । हापुरेमा रहेको गंगामाला बज्यूको मन्दिर च्याँटीखोलाको पश्चिम किनारमा रहेको छ । यस मन्दिरको ऐतिहासिक शिला, ताम्रपत्र जस्ता प्रमाणहरु मन्दिरसँग नभए पनि यो मन्दिर ऐतिहासिक मानिन्छ । करीव सय वर्ष अगाडि सल्यान जिल्लाको रामपुर कालीमाटीमा रहेको ऐतिहासिक मन्दिरबाट घण्ट र शिला ल्याएर मन्दिर स्थापना गरिएको हो । खोज अनुसन्धान गर्ने पर्यटकहरुको लागि गंगामाला बज्यूको मन्दिर अध्ययनको सम्पदा बन्ने गरेको छ ।

बबई गाउँपालिका सल्यान र बाँके जिल्लासँग जोडिएको छ । दाङ उपत्यकाका सबै खोला र झरनाको पानी बबई नदीमा मिसिएर पुरन्धाराको गंगटे हुँदै सल्यान जिल्लाको दमदुवाली भन्ने ठाउँमा पुगेपछि सल्यानबाट बग्दै आउने शारदा नदी र बबई मिसिएर बाँके जिल्लाको निकुञ्जमा प्रवेश गर्दछ । पुरन्धाराको झरना हेर्न जाने मानिसहरुको लागि बबई नदीको जलसम्पदामा समेत आनन्द लिन सकिन्छ । बबई नदी बेलासपुर गाउँदेखि नागवेली आकारमा गल्छी बन्दै बगेको छ । यसरी गल्छी बनेर बग्दा बेलासपुर नजिक गौताल, सिमठाना तिल्लुवारीमा पनि ताल बन्दै आँपखोली, झारगजेरी, कालितरामा समेत बबईको पानी ताल बन्दै बगेको छ । तालको पानीमा पाइने माछा, डल्फिन, घडियाल, ओत जस्ता पर्या–पर्यटनका लागि महत्वपूर्ण मानिने जलचर प्राणी देख्न पाउँदा पर्यटकहरु दंग पर्दछन् । अर्कोतर्फ तालमा पौडिरहेका हाँसका बथान हेरेर पर्यटकहरु आनन्दित हुने गर्दछन् ।

कुनै बेला पुरन्धाराको नाम सुन्ने बित्तिकै मानिसहरु डराउँथे । द्वन्द्वको समयमा पश्चिम दाङ घर भनेपछि हेर्ने र बुझ्ने दृष्टिकोण नै भिन्न बनाउने गर्दथे । द्वन्द्व समाप्त भइसकेपछि आजकल त्यो बुझाइ कथा मात्र बनेको छ । बबई गाउँपालिकामा विकास निर्माणका काम हुन थालेका छन् । गाउँपालिकाले अहिले बगाले, चौतारी, बगरपुर, हुरुम, जलुके हुँदै कालितारा, ढोलपुर, उल्का बजार, चरकमटिया, खिलतपुर, गैरीगाउँ, गुरुङ चौतारी भएर हंसपुर जोड्ने ४३ किलोमिटरको चक्रपथको काम समेत शुरु गरेको छ । जनयुद्धको समयमा घटना घटेका गाउँहरु आजभोलि ग्रामीण पर्यटकीयस्थल बनेका छन् । गाउँ–गाउँमा सडक निर्माण गर्ने होड चलेको छ । पुरन्धारा भ्रमणमा जाने ग्रामीण पर्यटकहरुको संख्या पनि बढ्न थालेको छ ।

पश्चिम दाङको लागि विकासको बाधक बनेको सडक हो । यो सडक खण्डको निर्माण कार्य २०४८ सालदेखि शुरु भएको थियो । पञ्चायती शासकहरुले समेत बेवास्ता गर्दै आएका सडकहरु लामो समयसम्म बन्न सकेका थिएनन् । खोला, नालाका पुलहरुको समस्या झनै अर्को समस्या थियो । तर अहिले तुलसीपुर–सुर्खेत सडक पक्की बन्न लागेको छ । दाङ–सुर्खेत एक सय १७ किलोमिटर सडक स्तरबृद्धिका लागि काम थालनी भएको छ । तुलसीपुरदेखि सल्यान कालीमाटीसम्म ६८ किलोमिटर र सल्यान कालीमाटीदेखि सुर्खेतको बोटेचौरसम्मको १७ किलोमिटर सडकको स्तरोन्नतिका लागि कामको थालनी भएको छ । दाङ–सुर्खेत सडक स्तरोन्नति भएपछि दाङबाट सुर्खेत पुग्न महेन्द्र राजमार्गबाट भन्दा करिव ९० किलोमिटर सडकको दूरी कम हुनेछ ।

भ्रमणको लागि जाने ग्रामीण पर्यटकहरुले प्राकृतिक सौन्दर्य अवलोकन गर्न मात्र नभएर समग्र बबई गाउँपालिकाको जनजीवन, भाषा, संस्कृति र जनयुद्धको समयमा घटना घटेका गाउँहरुको बारेमा पनि अध्ययन गर्न रुचि राख्छन् । पुरन्धारा भ्रमणमा पुग्ने पर्यटकको पहिलो रोजाइ नै झरना हेर्ने हुन्छ । हापुरे बजार द्वन्द्वकालका लागि ऐतिहासिक स्थल मानिन्छ । द्वन्द्वकालमा हापुरे गाउँ मुलुकभित्र मात्र नभएर देश विदेशमा समेत चर्चा परिचर्चा भएको स्थल हो । विगत दश वर्षे द्वन्द्वमा तत्कालीन माओवादीसँग तेस्रो चरणको वार्ता ०६० साउन ३२ गते दाङको हापुरेमा भएको थियो । हापुरेमा वार्ता भएको घरलाई अहिले पनि त्यहाँ पुग्ने पर्यटकहरुले आफ्नो क्यामेरामा कैद गर्दछन् ।

अहिले ग्रामीण पर्यटकीय स्थल र पर्यटकहरुको संख्या बृद्धि गराउन होमस्टेको प्रचलन बढेको छ । एउटा मानिस कुनै उद्देश्यले गाउँमा पुग्दा बस्नेखानेको सुविधा पाउन सक्यो भने त्यो सुविधाले अरु पर्यटकहरु गाउँमा पुग्न सक्छन् । आफ्नो गाउँमा भएको ऐतिहासिक प्राकृतिक, धार्मिक वा अन्य कुनै किसिमको सम्पदाको अवलोकन गराउन पर्यटकहरुको खोजीमा लाग्ने ग्रामीण वस्तीहरुले पहिला होमस्टेको विकास गर्न जरुरी छ । पुरन्धारा गाउँ होमस्टे सञ्चालन गर्न सकिने उपयुक्त स्थल मानिन्छ । पर्यटनको विकास गर्नको लागि स्थानिय बासिन्दाहरुमा कला, संस्कृति र सीपको विकास हुन जरुरी छ । जुन सीपले आयआर्जन गर्न सकोस्, अर्थात उनीहरुले उत्पादन गरेका वस्तुहरु पर्यटकहरुले किन्न सकून् । अनि मात्र हुन्छ पर्यटनको विकास ।

जीवनलाई अनुभवहरुको संगालो पनि भनिन्छ । त्यसको लागि भ्रमण अत्यन्तै महत्वपूर्ण हुन्छ । भ्रमण खुला विश्वविद्यालय पनि हो । अझ आफ्नो मन मिल्ने साथीहरु र घरपरिवारका सदस्यहरुसँग गरिएको भ्रमणबाट धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । पढेर भन्दा पनि आफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन । जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द आउँछ । भ्रमणलाई मनोरञ्जनका रुपमा मात्रै लिइनुहुँदैन । कुनै पनि नयाँ–नयाँ स्थानहरुमा पुग्नासाथ आफूलाई रुचि लागेका क्षेत्रहरुका बारेमा कुनै पनि ऐतिहासिक वा पुरातात्विक महत्वका क्षेत्रहरुका सन्दर्भमा जानकारी लिने बानी बसाल्ने हो भने भ्रमणले सार्थकता पाउँछ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top