Free songs
Home / सम्पादकीय / श्रमिक महिला दिवसको शुभकामना

श्रमिक महिला दिवसको शुभकामना

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको चर्चा फेरि शुरु भएको छ । भोलि आठ मार्चका दिन विश्वभर यो दिवसलाई सम्झिइनेछ । महिला अधिकार आन्दोलन उठानको हिसाबले विश्वभरका महिलाहरुले गौरव गर्ने दिन हो यो । अन्तर्राष्ट्रियरुपमा श्रमिक महिलाहरुले उठाएको समानताको झण्डामुनि गोलबन्द हुँदै महिलाहरुले आफ्ना आवाज मुखरित गर्न थालेको पनि औपचारिकरुपमा एक सय नौ वर्ष पुगिसकेको छ । निरंकुशकालमा लुक्दै छिप्दै र २०४६ पछि खुलारुपमा नेपाली महिलाहरुले आठ मार्चलाई संघर्षको प्रतीकको रुपमा ग्रहण गर्दै मनाउँदै आएका छन् । समानताका लागि नेपाली महिलाहरुले गरेका संघर्षबाट प्राप्त गरेका उपलब्धिहरु व्यावहारिकरुपमा महिलाहरुको जीवनसम्म पुग्न अझै धेरै काम हुन बाँकी नै छ ।

आठ मार्च औद्योगिक क्षेत्रका मजदुर महिलाहरुले आफ्नो हकको लागि अमेरिकाको न्यूयोर्क शहरबाट आवाज उठाएको दिन हो । यसको आफ्नै संघर्षशील इतिहास छ । समान कामको समान ज्याला, १८ घण्टा कामको समय घटाएर १० घण्टा बनाउन र मातृशिशु सुरक्षालगायत माग राखेर डेढसय वर्ष भन्दा पहिले नै अमेरिकाको सुर्ती कारखानाका मजदुर महिलाहरुले आवाज उठाएका थिए । त्यस्तै मताधिकार पाउन, पढ्न पाउन, सुत्केरी विदालगायतका अधिकार पाउन पनि महिलाहरुले निकै संघर्ष गरेका छन् । यस सन्दर्भमा कुरा गर्दा न्याय र समानताका लागि संसारभरका महिलाहरूले आठ मार्चलाई श्रमिक महिलाहरूको अधिकारको आन्दोलनको गौरवगाथा बोकेको दिनको रूपमा स् मरण गर्दै आइरहेका छन् ।

हाम्रो सन्दर्भमा पनि थुप्रै आन्दोलन भए । विभेदयुक्त सामन्ती शासनको अन्त्यको आन्दोलनदेखि महिला अधिकारका आन्दोलन पनि भइरहेका छन् । जहानिया राणा शासन, निरंकुश पञ्चायती शासन हुँदै देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ । फर्केर हेर्दा, आन्दोलनको स् वरूपमा परिवर्तन आयो होला, राजनीतिक परिवर्तनसँगै सरकार परिवर्तन भए होलान्, राजनीतिक पार्टीका नारा पनि परिवर्तन भए होलान् । तर महिलाका भोगाइ भने अझै परिवर्तन भएका छैनन् ।

महिलामाथि गरिने विभेद उस् तै छन् । हिजो र आजलाई तुलना गरेर धेरै परिवर्तन भएको भन्न सकिएला, तर आजलाई हेरेर मिहीनरुपले तुलनात्मक अध्ययन गर्ने हो भने महिलाप्रतिको विभेदको खाडल पुरिएको छैन । महिलाकोे श्रमको गणना नहुँदा उनीहरुले परिवार, समाज र सिंगो देशमा पु¥याएको योगदानको कदर हुन सकेको छैन । ज्यालामा असमानता मात्रै होइन, कुनै पनि क्षेत्रमा श्रमिक महिलाको न त सामाजिक सुरक्षा छ न कानुनी सुरक्षा नै । महिलाहरूको कामको मान्यता र मूल्यमा रूपान्तरण भएको छैन ।

त्यसो त महिला समानताको पक्षमा केही हुँदै नभएको पनि होइन । समान कामको समान ज्याला हाम्रो संविधानले नै ग्यारेन्टी गरेको छ । श्रम ऐनले संबोधन गरेको छ । पैतृक सम्पत्तिमा समान हक, राज्यसंयन्त्रमा सहभागिताको हक र सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो संविधानले समानुपातिक समावेशीताको सिद्धान्तलाई आत्मसात गरेको छ । लैंगिक विभेदको अन्त्यको विषय सबैले बोल्नैपर्ने विषय भएको छ । कतिपय कानुनहरु बन्ने क्रममा छन् भने कतिपय बनिसकेका छन् ।

हामीकहाँ मुख्य समस् या भनेको बोली र व्यवहारबीच तालमेल नहुनु नै हो । कानुन छन्, तर कानुनी शासन छैन । विधिको शासन फगत कागजी प्रक्रियामा सीमित छ । बढ्दो दण्डहीनताले त्रास फैलाएकै छ । त्यसैले आठ मार्च मनाइरहँदा सोलोडोलो रुपमा होइन, अबका संघर्षका प्राथमिकता के हुन् भन्ने कुरामा महिलाहरुले स् पष्ट मार्गचित्र कोर्न सक्नुपर्छ । लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार नारा तय गरेर यस वर्षको आठ मार्च मनाइ“दैछ । समृद्धिको चर्चा गरिरहँदा दूरदराजका सीमान्तकृत महिलाहरुलाई नबिर्सिएर काम गर्नु अबको आवश्यकता पनि हो । प्राप्त उपलब्धिको जगमा टेकेर महिलाको जीवनबाट सबैखाले निरंकुशता हटाउनेखालका विषयमा बहस अनि अभियान चलाउनुपर्छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस औपचारिकतामा सीमित नहोस् । लैंगिक समानताका अभियन्ताहरुलाई आठ मार्चले जोश, जाँगर र ऊर्जा दिन सकोस् । आठ मार्चको सन्दर्भले सबैमा लैंगिकमैत्री सोचको विकासको सन्देश दिन सकोस् । हाम्रो पनि सबैलाई शुभकामना ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top