Free songs
Home / सम्पादकीय / महिला खेलाडीलाई सम्मान

महिला खेलाडीलाई सम्मान

पछिल्लो समयमा खेल क्षेत्रमा नेपाली महिलाको सहभागिता बढ्दै गएको छ। क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै महिलाहरुले विभिन्न खेलमा प्रतिस्पर्धा मात्र गरिरहेका छैनन् उनीहरुले राम्रो प्रदर्शन गरेका छन्। जीत हासिल गरेका छन्। केही दिन पहिले नेपाली राष्ट्रिय महिला फूटबल टोलीले भारतविरुद्ध उसकै भूमिमा ऐतिहासिक जीत हासिल गरेको थियो। भारतको भुवनेश्वरमा भएको हिरो गोल्डकप फूटबलमा भारतको टिमविरुद्ध पाएको २–१ को जीत नेपाली महिला फूटबल इतिहासमै पहिलो थियो। यही वर्ष विश्वमै पहिलोपटक आयोजित नेत्रहीन महिला क्रिकेटमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय टी–२० श्रृंखला जितेर नेत्रहीन महिला क्रिकेट टोलीले नेपालको शीर उँचो बनाएको थियो। खेल क्षेत्रमा महिलाले गरेको प्रगतिको चर्चा गर्दा अस्ति मात्र भएको प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधि दाङले हात पारेको छ। आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको छनोट खेलमा रुपन्देही र बाँकेलाई पराजित गर्दै दाङले उपाधि हात पारेको हो। यी त केही उदाहरण मात्र हुन्। यी उदाहरणले खेल क्षेत्रमा महिलाको सहभागिता बढ्दै मात्र गएको छैन, अन्तर्राष्ट्रियस्तरमा समेत खेल जितेर देशको नाम राख्ने काम गरेका छन् भन्ने देखाउँछ।

खेल क्षेत्रमा बामे सर्दै गरेका महिला खेलाडीले पनि लैङ्गिक विभेदको सामना गर्नुपरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले युएईविरुद्धको टी–२० श्रृंखलामा विजय हासिल गरेकै दिन नेत्रहीन महिला टोलीले पनि पाकिस्तानमा ऐतिहासिक श्रृंखला जितेको थियो। नेपाली राष्ट्रिय टोलीको चर्चा चुलिरइँदा नेत्रहीन महिलाहरुले हासिल गरेको सफलता आम मानिसले थाहा पाउनेगरी चर्चासम्म गरिएन। युएइमा सम्पन्न टी–२० र एक दिवसीय श्रृंखला जितेर स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा रातो कार्पेट नै ओछ्याइएको थियो। खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष नै विमानस्थल पुगेर व्यक्तिगत दश दश हजार पुरस्कार प्रदान गरे। यसैगरी सरकारले जनही पाँच लाख दिने निर्णय पनि ग¥यो। तर गएको हप्ता थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको उपविजेता बन्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा न कुनै खेल पदाधिकारी विमानस्थल पुगे, न त क्रिकेटसँग सम्बद्ध व्यक्ति नै विमानस्थलमा उपस्थित भए। नेपाली राष्ट्रिय क्रिकेट टोली युएइबाट श्रृंखला जितेर स्वदेश फर्केकै दिन पाकिस्तानबाट पनि दृष्टिविहीन महिला क्रिकेट टोली अर्काे श्रृंखला जितेर स्वदेश फर्किएको थियो। दृष्टिविहीन महिला खेलाडीहरुलाई राष्ट्रिय खेलकूद परिषदले जनही एक÷एक लाख र प्रशिक्षक तथा व्यवस्थापकलाई जनही रु. ५० हजार दिन सिफारिस गरे पनि अहिलेसम्म त्यो रकम खेलाडीले पाउन सकेका छैनन्। अस्ति मात्र नेपालगञ्जमा जीत हासिल गरेको दाङको महिला क्रिकेट टिमले आफूहरु उपेक्षित भएको गुनासो गरेका छन्। जर्सी समेत नपाएको उनीहरुको गुनासोले महिला खेलाडीका लागि हामीले के कति साधन स्रोत खर्चेका रहेछौं भन्ने देखाएको छ। जिल्लाको, क्षेत्रको र देशकै प्रतिनिधित्व गरेर खेल खेल्ने खेलाडीहरुलाई अरु सहयोग, सुविधा दिनु त कता हो कता खेल्दा लगाउने जर्सी समेत नपाउने अवस्था हुनु भनेको लाजमर्दो अवस्था हो।

महिला सशक्तिकरण, लैंङ्गिक विभेदको अन्त्य, समानतामूलक समाजको स्थापना र हरेक नागरिकले समानरुपमा व्यवहार पाउनुपर्ने सामाजिक अवस्था ल्याउन हामी धेरैले धेरै शब्द खर्चेका छौं। तर हाम्रा व्यवहार सच्चिएका छैनन्। वास्तवमै महिला सशक्तिकरणको कुरा, महिलाको आत्मविश्वास बढाउने कुरा र महिलाप्रतिका पुरातन गलत मान्यता परिवर्तनका लागि पनि खेल क्षेत्रमा महिलाको सहभागिताले महत्वपूर्ण भूमिका खेल्छ। महिलालाई परम्परागत लैंङ्गिक भूमिकामै सीमित गर्ने गलत सामाजिक परम्पराविरुद्ध चुपचाप नयाँ मान्यता स्थापित गर्छ। तीनै तहका सरकारले यी कुरालाई कम आँक्नु हुन्न। त्यस्तै समग्र खेल क्षेत्रको विकासभित्र खेलाडीको आत्मसम्मान, खेलेर बाँच्न सकिने वातावरण निर्माण, विना भेदभाव अवसर र सहयोग उपलब्ध हुनुपर्छ। परम्परागत लैङ्गिक भूमिकाभन्दा माथि उठेर आफ्नो जिल्ला र देशलाई नै गौरवबोध गर्ने अवसर प्रदान गर्ने महिला खेलाडीलाई हाम्रो सम्मान।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top