Free songs
Home / अन्तर्वार्ता / कृतिकर्मीहरुको दायित्व खबरदारी गर्नु हो

कृतिकर्मीहरुको दायित्व खबरदारी गर्नु हो

 

जीवन शर्मा
जनवादी गायक

 

(जीवन शर्मा नेपालको जनवादी सास्कृतिक आन्दोलन र गीत संगीतको क्षेत्रमा एउटा स्थापित नाम हो । २०४३ सालमा गठन भएको रक्तिम सा“स्कृतिक अभियानको संस्थापक अध्यक्ष भएदेखि निरन्तर नेतृत्व गर्दै आउनुभएको थियो । उहा आवद्ध पार्टी नेकपा (मसाल) बाट कारवाहीको चर्चा चलेलगत्तै रक्तिम सा“स्कृतिक अभियानको अध्यक्षबाट पनि केही समयअघि राजीनामा दिएपछि उहा चर्चाको विषय बन्नु भएको छ । आफ्नो सांगीतिक अभियानको दौरानमा दाङको हापुरेमा आएको अवसरमा उहासग प्रमोद धितालले गर्नुभएको कुराकानी यहा प्रस्तुत गरिएको छ । – सम्पादक

रक्तिम परिवारको थोरै पृष्ठभूमि र नेपालको जनपक्षीय साँस्कृतिक आन्दोलनको क्षेत्रमा यसले खेलेको भूमिकाको बारेमा बताइदिनुस् न ।

२०४३ चैत २६ गते हामीले रक्तिम परिवारको स्थापना गरेको हो । त्यस समयदेखि यता अहिलेसम्मका जति पनि परिवर्तनका कुराहरु भए, सबै–अवस्था र मोडहरुमा रक्तिम अभियानले देश र समाजलाई अगाडि बढाउनको लागि, सामाजिक रुपान्तरणको लागि धेरै कामहरु गर्दै आयो । कहिले गीति नाटकहरु तयार पा¥यो, कहिले गीत–संगीतहरुको माध्यमबाट काम ग¥यो । पञ्चायती कालरात्रिको समयमा भूमिगत जिन्दगी बिताउन पनि बाध्य भइयो । त्यही निरन्तरतामा बत्तीस वर्ष पार भइसक्यो । यो अवधिमा हामीले नेपाली समाजलाई सुसूचित गर्नको लागि, एउटा नयाँ सन्देश दिनको लागि र यसलाई सामन्तवादको जुवाबाट मुक्त गर्नको निम्ति साँस्कृतिक फाँटबाट सबभन्दा बढि काम ग¥यौं ।

पुरानो व्यवस्थालाई अन्त्य गरेर नयाँ निर्माणको लागि पनि पहिलो आक्रमण पुरानो संस्कृतिमाथि गर्नुपर्ने र पुरानो व्यवस्थाले पनि आफूलाई टिकाइराख्नको लागि निरन्तर नयाँ संस्कृतिमाथि आक्रमण गरिराखेको हुन्छ । साँस्कृतिक संघर्ष अरुभन्दा बेसी विशिष्ट र सूक्ष्म पनि हुँदोरहेछ । परिवर्तनको यात्रा पनि यसैबाट शुरु हुँदोरहेछ । यहाँसम्म आइपुग्दा नयाँ संस्कृति निर्माणको यात्रा कत्तिको सार्थक भएको पाउनुहुन्छ ?

नयाँ संस्कृति खास गरेर विकास भएकै छैन । राजनीतिक परिवर्तन भयो । राजनीतिक रुपमा मानिसहरु सचेत पनि भए । तर साँस्कृतिक चेतना जहाँको त्यही रह्यो । सामन्तवादले प्रचार गरेको, दिमागभित्र घुसाइदिएका संस्कारहरु यथावत नै रहे । जबसम्म संस्कृति, साहित्य र कलाले टेवा दिदैन राजनीति अधुरो हुन्छ । त्यो कतिबेला ढल्छ थाहा हुँदैन । राजनीतिले संस्कृतिलाई मजबुत पार्नुपर्ने हो, त्यतातिर ध्यान गएन नेपालमा । त्यसकारण अहिले नयाँ संस्कृति भन्नुस्, लोक संस्कृति भन्नुस या जनसंस्कृति भन्नुस्, मजबुत भएर आउनुपथ्र्यो देशमा । यो पक्षलाई पन्छाएर राजनीतिक वृत्तले उही पुरानो संस्कृतिलाई पुरानो साहित्य र कलालाई प्रोत्साहित गर्दै गयो । जनसंस्कृति या सर्वहारावर्गीय संस्कृतिलाई बेवास्ता गर्दै जान थाल्यो । जसले गर्दा ठूला–ठूला हण्डरहरु खानु परिराख्या छ राजनीतिक वृत्तले ।

वस्तुगतरुपमा प्रतिक्रियावादी व्यवस्थाको प्रभााव र वर्चश्व आफ्नो ठाउँमा होला, नयाँ संस्कृतिको निर्माण जुन हदसम्म हुनुपथ्र्र्यो त्यो नहुनुको कारण कम्युनिष्ट आन्दोलनले साँस्कृतिक पक्षलाई महत्वपूर्ण एजेण्डाको रुपमा आत्मसात गर्न नसकेकै कारणले हो भन्न सकिन्छ ?

हो, त्यो भन्दा ठीकै होला । राजनीतिक परिवर्तन भयो । त्यसअनुरुपम जस्तो खालको साँस्कृतिक रुपान्तरणको खाँचो थियो, त्यतापट्टि ध्यान गएन । त्यता ध्यान नजाँदा के भइदियो भन्दाखेरि नयाँ राजनीति पनि विरोधी संस्कृतिको भूमरीभित्र प¥यो । अनि त्यो पुरानो संस्कृतिले नयाँ राजनीतिका मूल्य, मान्यता, संस्कृतिहरु सबै गायब पारिदियो । अहिले पनि त्यही क्रम जारी छ, चलिराख्या छ । हुनुपथ्र्यो के भन्दाखेरि राजनीतिक परिवर्तन सँगसँगै त्यसलाई टेवा दिने, टिकाउने नयाँ संस्कृतिको विकास हुनुपथ्र्यो । त्यो भएन ।

यतिखेर बजारको माग भन्दै लोक संस्कृति र गीत संगीतको नाउँमा लोककै हुर्मत लिने गरी विकृत संस्कृतिलाई व्यापक बनाउने काम भइराखेको छ । यसो हुँदै जाँदा यसले पार्ने प्रभाव कस्तो देख्नुहुन्छ र जनपक्षीय संस्कृतिकर्मीहरुले यसको विरुद्धमा खेल्नुपर्ने भूमिका के हुन्छ ?

लोक संस्कृतिलाई विकृत पारेर पस्किने जुन प्रवृत्ति छ, त्यसलाई पनि राज्यबाट नियन्त्रण गर्नुपर्छ । मुख्य समस्या कहाँनेर देखिन्छ भने सरकार परिवर्तन भयो देशमा । व्यवस्था पनि परिवर्तन भएकै हो । तर राज्यसत्ता परिवर्तन भएको छैन । त्यही आधारमा नयाँ सरकार बनेको छ । त्यसले चाहेर पनि राज्यसत्ताले नयाँ संस्कृतिलाई प्रोत्साहित गर्न सक्दैन । जनताको कला, साहित्य र संस्कृतिलाई व्यापक रुपमा राज्यले नै प्रोत्सान गरिदिने हो भने त जनविरोधी संस्कृति त आफै पाखा लाग्थ्यो नि त । त्यसो नभएर पुरानो संस्कृतिलाई टेवा दिने राज्यसत्ता कायम छ । राज्यसत्ता एउटा चिज हो तर सरकार अर्को चिज हो । सरकार नै राज्यसत्ता होइन ।

तपाइ एउटा सचेत कलाकार हुनुको नाताले सचेत कलाकारको स्वतन्त्र विवेक र सांगठनिक प्रतिबद्धताबीचको तालमेललाई कसरी मिलाइराख्नुभएको छ ?

यी तालमेलहरु कहिले मिल्छन् कहिले मिल्दैनन् । कहिले काहीं असन्तुलित भएर जान पनि सक्छन् । सधैंभरि एकानासले मिल्छ भनेर जान पनि सकिदैन । तपाईं रुसको इतिहासमा हेर्नुस् या चाइनाको इतिहासमा, कलाकारहरु अलि बढी बहिर्मुखी हुँदारैछन् । मनका कुराहरु बाहिर लैजान्छ उसले । उसको विचार प्रवाहको निम्ति अलि ठूलो प्रकारको पाइप हुनुपर्छ । ठूलो पाइप भयो भने सजिलै उसका विचारहरु जनताको बीचमा जान्छन् । साँघुरो भयो भने अड्किन्छ, अटेसमटेस हुन्छ र सन्तुलन बिग्रिन्छ ।

परिस्थिति बदलियो । राजनीति र हिजोका राजनीतिक पार्टीहरु बदलिए । जे गरिन्छ ती सबैलाई मनखुशी सैद्धान्तिकीकरण गर्ने या अर्को शब्दमा भ्रष्टीकरण पनि बढ्दै गएको छ । साँस्कृतिक आन्दोलनलाई अगाडि बढाउने कोणबाट आन्दोलनको एउटा अगुवा हुनुको नाताले कसरी सोचिराख्नुभएको छ ?

परम्परागत राज्यसत्ताकै जगमा अहिलेको व्यवस्था र सरकार छ । तर धेरैमा राज्यसत्ता बदलियो भन्ने भ्रम छ । त्यही सेना, त्यही प्रहरी र त्यही कर्मचारीतन्त्र कायम छ । त्यसको सोचाइ, दृष्टिकोण र संस्कार कहाँ फेरिएको छ ? उही हो । जम्माजम्मी फरक के हो भने विगतमा एकथरी मानिसहरुको त्यसले सेवा गथ्र्यो । फेरि नयाँ मानिसहरु आए त्यसपछि उनीहरुको सेवा गर्छ । महेन्द्रको पालामा पञ्चायती व्यवस्थालाई सेवा गर्ने पनि यही व्यूरोक्रेसी हो । बहुदलकालका विभिन्न खालका सरकारहरुको समर्थन र सेवा गर्ने पनि यही व्यूरोक्रेसी हो । गणतन्त्रपछाडि पनि राज्यसत्ताको कुन अंग परिवर्तन भएको छ र ? राज्य संयन्त्र ज्यूँ का त्यूँ उही छ । तर राजनीतिक व्यवस्था र सरकार चाहिँ परिवर्तन भएको छ, यत्ति हो । पञ्चायती व्यवस्थाको ठाउँमा, बहुदलीय व्यवस्था आयो । फेरि त्यसको ठाउँमा संघीय गणतन्त्रात्मक व्यवस्था आयो । तसर्थ राज्य संयन्त्र महत्वपूर्ण कुरा रै’छ । त्यो परिवर्तन नभएसम्म र देशमा साँस्कृतिक परिवर्तन नभएसम्म, सोंच र वर्गीय धरातलमा परिवर्तन नआएसम्म जुनसुकै व्यवस्था र सरकार आओस्, उत्पीडित जनताको निम्ति केही पनि गर्न सकिदैन ।

यो अवस्थामा जनपक्षीय संस्कृतिकर्मीहरुको दायित्व के हुन जान्छ ?

हामीले अब दुईवटा काम गर्न जरुरी छ । एकातिर वर्तमान सरकार र नेतृत्वका नराम्रा कामहरुलाई खबरदारी गर्नुपर्छ । अर्कोतिर प्रतिक्रियावादी राज्यसत्ताको खोइरो पनि खन्ने हो । हाम्रो काँधमा दुईवटै जिम्मेवारी छन् । यो जनताकै राज्यसत्ता चाहिँ होइन भन्ने कुरामा पनि हामी सजग हुनुपर्छ । कतिपयलाई व्यवस्था र सरकार परिवर्तन भएपछि पूरै सत्ता परिर्तन भयो कि भन्ने लाग्न सक्छ । भएभरका अपेक्षाहरु पूरा गर्न यो सत्ताले दिन्न भन्ने कुरा थाहा नहुन सक्छ । राज्यसत्ता त लुकेर बस्या छ । उसले कहाँनेर के गर्ने भन्ने योजना बनाएर बस्या छ । सरकारलाई एकै रातमा उडाइदिन पनि सक्छ । सेना, पुलिस, कर्मचारीतन्त्र र न्यायपालिका कस्सिए पछि के हुँदैन ? त्यसकारण यो राज्यसत्ता हाम्रो होइन । जुन कुरा जनताका कला संंस्कृतिकर्मीहरुले आफ्नो क्षेत्रबाट बुझाउन जरुरी छ । सरकारले गरेका राम्रा कामहरुलाई समर्थन गर्नुपर्छ । राम्रा कामहरुलाई प्रोत्साहित गर्न पनि जरुरी छ ।

समाज बिगार्न र सपार्नमा कला साहित्यको भूमिका कति महत्वपूर्ण हुन्छ ? के मनोरञ्जनको नाउँमा जस्ता गीत गाए पनि हुने हो ?

गीत भनेको आफ्ना विचारलाई, भावनाहरुलाई व्यक्त गर्ने एउटा माध्यम हो । गीतले प्रभाव पार्दैन भन्ने कुरा होइन, बरु त्यसले गहिरोसँग प्रभाव पार्दछ । त्यसैले गीत गाउने मान्छेहरुले देश र जनताप्रति जिम्मेवार भएर गाउनुपर्छ । लेख्नेहरुले पनि त्यसरी नै लेख्नुपर्छ । साहित्य, कलाका विविध विधाहरुको हकमा त्यही कुरा लागु हुन्छ ।

अहिले भर्खरै यहाँलाई पार्टीबाट कारवाही गरेको कुरा बाहिर आएको छ । यहाँले रक्तिम साँस्कृतिक अभियानको अध्यक्षबाट राजीनामा दिएको कुरा पनि समाचारमा आएको छ । सम्मेलनको पूर्वसन्ध्यामा राजीनामा दिने कुरा र कारवाहीको कुरा अन्तरसम्बन्धित छ या अरु केही हो ?

रक्तिम साँस्कृतिक अभियानको २०४३ सालदेखि २०७५ सालसम्म नेतृत्व गर्दै आएको हो । एउटै व्यक्तिले जिन्दगीभरि नेतृत्व गरिरहनुपर्छ भन्ने मेरो मान्यता होइन । जुन ढंगले अहिलेसम्म क्रान्तिकारी आन्दोलनको एउटा साँस्कृतिक अभियानको रुपमा यसलाई विकसित ग¥यौं, त्यसपछि मैले यसबाट राजीनामा दिएको छु । अब हेर्दै जाऔं के–के हुन्छ । रक्तिम अभियानको केन्द्रीय अध्यक्षलगायत सबै जिम्मेवारीबाट मैले राजीनामा दिएको छु, बाँकी कुराहरु सार्वजनिक बहसमा नलैजाऔं ।

जीवनको विश्वविद्यालयबाट यहाँले सिकेको सबैभन्दा महत्वपूर्ण पाठ के होला ?

त्यो सबैभन्दा महत्वपूर्ण पाठ म गीत मार्फत भन्छु–
समयसँग सम्झौता होइन संघर्ष गर संघर्ष
आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष

सुख र दुःखको द्वन्दले जीवनको बाटो खन्दछ
हजारौं चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ

आकासमा उड्छ बादलु चट्याङ बोकी विचित्र
जति महान छ जीवन यात्रा त्यति नै वाधा त्यही भित्र

विशाल छ लक्ष्य अनन्त दुःखको महासागर
जानु छ टाढा अजंगका दुःखका पहाड नाघेर ।

जिन्दगी भनेको संघर्ष हो । यसलाई पीरको पोको बनाउने होइन । हजारौं चोट खाएर एउटा पत्थर मूर्ति बन्छ । त्यो चोट सहन तयार हुनुपर्छ । जिन्दगीमा चोट आइरहन्छन्, सहेर आफूलाई खार्ने क्षमता हुनुपर्छ ।

यहाँका आगामी योजनाहरु केही छन् भने भनिदिनुहुन्छ कि ?

म त्यस्तो वृहत् योजना बनाएर हिड्ने मान्छे होइन । सामान्य र स्वाभाविकरुपमा हिडिराख्ने मान्छे हो । जे–जे अगाडि आइपर्छन्, ती कुराहरुलाई बेहोर्दै जानुपर्छ भन्ने मान्यता हो । २०४३ सालदेखि अहिलेसम्म हजारौं हजार प्रतिभाहरुलाई मैले विभिन्न जिल्लामा गएर प्रशिक्षित गरिरहेको छु । विभिन्न साँस्कृतिक शिविरहरु राखेर, कलाका शिविरहरु राखेर, मादल बजाउनेदेखि लिएर केही शब्दहरु कोर्न सिकाएर प्रशिक्षित गर्ने, तालिम दिने नयाँ–नयाँ कलाकारहरुलाई अगाडि बढाउने काम गर्दै आएको छु । कैयौं कलाकारहरु यही बाटोमा सक्रिय छन् अहिले पनि, कतिपयका आफ्ना विविध कारणले अन्य क्षेत्रमा पनि सक्रिय भएको देख्छु । मेरो जिन्दगीको पाटो र यात्रा यसरी नै अगाडि बढिरहेको छ । यसरी नै अगाडि बढ्ने सोचाइ छ ।

आयआर्जनको लागि यहाँले व्यक्तिगत या पारिवारिक रुपमा कुनै पेशा व्यवसायहरु पनि अंगाल्नुभएको छ कि ?

मेरो कुनै पेशा या व्यवसाय छैन । यही गीत गाउँदै र जनतालाई सुसूचित गर्दै हिड्ने हो । जस्तो म यहाँ आएँ बसें तपाईंले बाटो खर्च हालिदिनुुहुन्छ, भोलि अर्को ठाउँ पुग्छु । यसरी नै यात्रा चलिराछ । र अर्को पक्ष के हो भने मैले सबैको स्थिति देख्छु, कला र साहित्यको फाँटमा लागेका मानिसहरुको वास्तविक रुपमा जो लागेको छ, तिनीहरुको जिन्दगी लथालिंग नै हुन्छ । एउटा सच्चा हृदयको कलाकार म्यानेजर हुनसक्दैन । म्यानेजमेन्ट भनेको छुट्टै कला हो । साहित्य र संगीत भनेको छुट्टै कला हो । मलाई त्यस्तो लाग्छ र त्यही अवस्थामा म पनि छु ।

अन्त्यमा यहाँको कुनै थप सन्देश ?

नेपाली समाज अगाडि बढेकै छ । देशको अवस्था सबैलाई थाहा छँदैछ । राम्रो होस् भन्ने सबैले चाहनुप¥यो । यही हो ।

 

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top