Free songs
Home / सम्पादकीय / जरासम्म नपुगेको पार्टी एकता

जरासम्म नपुगेको पार्टी एकता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताले अझै पूर्णता पाएको छैन। पार्टी एकता प्रक्रिया शुरु भएर निर्वाचन सम्पन्न भई झण्डै दुई तिहाइ जनमत प्राप्त गरेर सरकार बनाएको एक वर्ष पुगिसक्दा पनि एकता टुंगिन सकेको छैन। ४४१ केन्द्रीय समिति, दुई अध्यक्ष, नौ सदस्यीय सचिवालय, स्थायी समिति, प्रदेश समिति र स्थानीय तहका पदाधिकारी चयन भए पनि एकता त्योभन्दा अघि बढ्न सकेको छैन। एकता निकै ढिलाढालारुपमा भइरहेको छ। एकता प्रक्रियामा ढिलाइ हुँदा एकातिर सो पार्टीको आन्तरिक गतिविधि ठप्पप्रायः छ भने अर्कोतिर यसले सरकार सञ्चालनमा समेत असर पुगिरहेको छ। कुनै दलको आन्तरिक गतिविधिले जनतासँग प्रत्यक्ष असर नपुगे पनि सरकार सञ्चालनमा आउने समस्याले भने जनतासँग प्रत्यक्ष असर पुग्ने गरेको छ। एकता प्रक्रियामा ढिलाइ हुनु एकप्रकारले भन्दा जनमतको अपमान पनि हो। जनताको ठूलो पंक्तिले नेकपाको पक्षमा मतदान गर्नुको अर्थ एकता प्रक्रियाको समर्थन पनि थियो। मुलुक लामो समयदेखि राजनीतिक संक्रमणबाट गुज्रिरहेको बेला कुनै दलहरु बलिया भएर स्थिर सरकार बने भने मुलुक अघि बढ्ला भन्ने जनताको मुख्य चासो र सरोकारको विषय थियो।

अहिले पार्टी एकता तल्लो तहमा पुग्न सकिरहेको छैन। त्यसैले नेकपाका स्थानीय नेता कार्यकर्ता पूर्ण बेरोजगारजस्ता देखिन्छन्। सत्तारुढ दलकै नेता बेरोजगार बन्दा सरकारका स्थानीय गतिविधिमा समस्या आउनु स्वाभाविक हो, त्यसबाहेक कैयन विकृति र विसंगति पनि बढ्ने गरेका छन्। पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका कार्यकर्ता आ–आफ्नै पृष्ठभूमिबाट आएका छन्। यसमा अझ लामो युद्धबाट आएका पूर्वमाओवादी कार्यकर्ता व्यवस्थापनको सवाल पनि ठूलै समस्याको विषय रहेको थियो। कार्यकर्ता व्यवस्थापनको जिम्मेवारी पूरा नहुँदै एकता प्रक्रिया शुरु भए एकता बीचमै अलपत्र पर्दा तल्लो तहका कार्यकर्ता अझ बढी अन्योलमा देखिन्छन्। आफूहरुको व्यवस्थापनको कार्यक्रम त परै जाओस्, आफूहरुसम्म एकता प्रक्रिया नै नपुगेपछि कार्यकर्ता अन्योलमा पर्नु स्वाभाविक छ। यसको परिणाम उनीहरु कतै न कतै आर्थिक गतिविधिमा जोडिने र त्यसबाट हरेक खालका नतिजा आउने खतरा पनि उत्तिकै छ। यसले अन्ततः समाजमा नकारात्मक असर नै पर्ने हो।

थोरै नीतिगत पाटो हेर्ने हो भने नेपालमा राजनीतिक दल निर्माणको अवस्था राम्रो छैन। देशकै पुराना दलदेखि भर्खरै बनेका दलहरुको आन्तरिक अवस्था राम्रो छैन। देशको ठूलो दल नेकपाले लामो समयसम्म पनि एकता प्रक्रिया नटुंग्याउने, अर्को ठूलो दल कांग्रेस गुटहरुको महासंघजस्तो देखिने र हुँदाहुँदा नयाँ वैकल्पिक राजनीतिक धार बनाउने घोषणा गरेका दलहरुसमेत छोटो अवधिमै विभाजन हुने घटनाबाट नेपालमा राजनीतिक दल निर्माण र सञ्चालनको अभ्यास राम्रो छैन भन्न सकिन्छ। कम्तिमा सरकार सञ्चालन गरिरहेको एउटा स्थापित दल राम्रोसँग सञ्चालन हुँदा अन्य दलहरुका लागि पनि अनुशरणयोग्य हुने थियो। यसमा ठूला मानिएका दलहरुले सोच्नैपर्छ। राजनीतिक दल संविधानकै अंग भएकाले यिनीहरुको सही परिचालन संविधान र समग्र राजनीतिक प्रक्रियाकै सवाल पनि हो। त्यसैले नेकपाले आफ्नो एकता प्रक्रिया जतिसक्दो चाँडो टुंग्याएर पार्टीलाई तल्लोस्तरसम्म पु¥याउने, आफ्ना कार्यकर्ताको सही व्यवस्थापन र परिचालन गर्ने तथा सरकार सञ्चालन थप प्रभावकारी बनाउन पार्टी परिचालनको योजना बनाउनुपर्छ। यसो गर्दा समृद्धि र स्थायित्वको आशामा नेकपालाई मतदान गरेका जनताको सम्मान हुनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top