Free songs
Home / फिचर समाचार / सोसल वर्कको सिकाइ

सोसल वर्कको सिकाइ

दुर्गालाल केसी

महिमा कर्माचार्यको १२ कक्षासम्मको पढाइ कक्षामै बित्यो । किताव पढ्यो, परीक्षा दियो, यतिमै काम सकियो । पढाइका लागि ठूलो कष्ट व्यहोर्नुपरेको थिएन । दुई वर्षयता भने उनको पढाइ बिल्कुलै फरक छ । शहरको सुविधासम्पन्न कोठामा बसेर मात्रै पढाइ नहुने भयो ।
पुसको चिसोमा उनी घर छोडेर दाङको ग्रामीण भेगमा पुग्नुपर्ने भयो । एक साताको बसाइमा आवश्यक पर्ने बन्दोवस्तीका सबै सामान बोकेर उनी पहिलोपटक दाङ पुगिन् । दाङको ग्रामीण भेग तुलसीपुर उपमहानगरपालिका–१ भमकेमा शिविर बनाएर बसिन् । समूहमा खाना पकाउने, आफै भाँडा माझ्ने, भुइँमै सिलिपिङ व्यागमा सुत्ने अनि विभिन्न गाउँमा पसेर मानिसहरुसँग कुराकानी गर्ने ।


बनेपा नगरपालिका–७ गोदामचोक काभ्रेकी २१ वर्षीया महिमा समाज सेवा कसरी गर्ने भन्ने व्यवहारिक ज्ञान हासिल गर्न गाउँ–गाउँ पुगिरहेकी हुन् । स्नातक तहमा सोसल वर्क अर्थात सामाजिक कार्य पढ्न थालेपछि उनको सिकाइ कितावमा सीमित हुन पाएन । ‘यसअघि कोठामा सीमित हुँदा ज्ञानको दायरा साँघुरो थियो । अहिले समाज बुझ्न सजिलो भएको छ’– सामाजिक कार्यमा स्नातक दोस्रो वर्ष अध्ययनरत महिमाले भनिन्– ‘नयाँ ठाउँमा कसरी घुलमिल हुने, जीवनमा आइपर्ने समस्याहरु कसरी समाधान गर्ने जस्ता व्यवहारिक सीपहरु सिक्न पाइएको छ ।’

सूर्यविनायक नगरपालिका–३ ठिमी भक्तपुरकी २० वर्षीया सुजिता श्रेष्ठले केही समय स्नातक तहमा कानून पढिन् तर उनको मन त्यसमा अडिन सकेन । दुःखी गरिवहरुको सेवा गर्ने रुचि भएकी श्रेष्ठ कानून छोडेर सामाजिक कार्य पढ्न थालिन् । ‘म कानूनका लागि उपयुक्त छैन भन्ने लाग्यो । मेरो रुची नै समाज सेवातिर थियो’– उनले भनिन््– ‘त्यसपछि काम गर्दै सिक्दै गरिने पढाइतिर लागें । अहिले गाउँ–गाउँ पस्दा निकै नौलो अनुभव भइरहेको छ ।’

महिमा र सुजिता जस्ता भक्तपुरको खोपा कलेजमा स्नातक दोस्रो वर्षमा सामाजिक कार्य अध्ययनरत ९० विद्यार्थीहरुले एक साता गाउँमा विभिन्न काम गरेर सामाजिक कामको व्यावहारिक अनुभव गरेका छन् । दाङलगायत पश्चिम तराईमा रहेको कम्लरी प्रथाबारे जान्ने अवसर पाए । मुक्त कम्लरीसँग छलफल गरेर कम्लरीका संघर्ष र सफलताका कथाहरु थाहा पाए ।

भक्तपुर राधेराधेका २३ वर्षीय विशाल बस्नेतले शुरुमा सजिलो हुन्छ भन्ने सुनेर सामाजिक कार्य पढ्न थाले । बिबिए पढ्दापढ्दै बीचमै छोडेर सामाजिक कार्यमा भर्ना भए । पछि उनले सोचेभन्दा फरक पाए । ‘शुरुमा पढ्न सजिलो हुन्छ भनेर मात्र लागें । अहिले बुझ्दै जाँदा जीवनमा ठूलो परिवर्तन आइरहेको छ’– उनले भने– ‘पहिले नयाँ मानिसहरुसँग बोल्न पनि गाह्रो लाग्थ्यो । अहिले अरुको अन्तर्वार्ता लिन, समस्या समाधानका लागि बहस गर्न कुनै अप्ठेरो लाग्दैन ।’

पनौती नगरपालिका–८ मल्पी काभ्रेका १९ वर्षीय बसन्त खत्रीको नेपाली सेनामा जागिरे भएर देशको सेवा गर्ने लक्ष थियो । त्यसमा उनले सफलता पाउन सकेनन् । त्यसपछि उनले उपयुक्त ठाने सामाजिक कार्य । स्वयंसेवीरुपमा काम गर्ने रहरका साथ पढाइ थालेका खत्री अहिले गाउँ पसेर व्यावहारिक सिकाइ गरिरहेका छन् । ‘नयाँ ठाउँमा पुगेर विभिन्न नयाँ विषयमा खोज अनुसन्धान गर्ने, मानिसहरुका समस्या सुन्ने र समाधानका लागि प्रयास गर्ने’– उनले भने– ‘यो साह्रै रमाइलो सिकाइ भइरहेको छ ।’


गाउँ पुगेर बालश्रम, महिला हिंसा, घरेलु हिंसा, लैंगिक असमानता जस्ता विषयमा विभिन्न प्रश्नहरु बनाएर सर्वेक्षण गर्ने गरेको भक्तपुर नगरपालिका–१० महालक्ष्मी टोलकी १९ वर्षीया रिना पहिजुले बताइन् । पहिलोपटक घरबाहिर निस्केर जीवनका महत्वपूर्ण सिकाइहरु भइरहेको उनले बताइन् । सूर्यविनायक भक्तपुरकी १९ वर्षीया सुमी जोशीले १२ कक्षा पढ्दासम्म घरको पसलमा बसेर समय बिताइन् । कलेज बाहेकको समय पसलमा बसेर परिवारलाई सघाउँथिन् । कलेज र घरबाहेक उनी कतै पनि गएकी थिइनन् । बिबिएस गाह्रो लागेपछि उनी छोडेर सामाजिक कार्यतिर लागिन् । ‘यो त अनौठो पढाइ रहेछ । पहिलोपटक घर छोडेर गाउँ पस्नुप¥यो’– उनले भनिन्– ‘आजसम्म घर छोड्नुपरेको थिएन । अहिले बल्ल जीवनमा के के गर्नुपर्दोरहेछ भन्ने सिक्न थालिएको छ ।’

 

समाज सेवा सिक्न गाउँ पसेपछि उनीहरुले जीवनमा के कस्ता कामहरु गर्नुपर्छ भन्ने व्यावहारिकरुपमा भोगिरहेका छन् । भक्तपुर सिपाडोलकी १९ वर्षीया सलोनी थापाले समाज बुझ्न पाइन् । ‘समाजमा कस्ता समस्या हुन्छन् । समाज कसरी बनेको छ । के कस्ता संस्कृति छन् भन्ने बुभ्mन थालिएको छ’– उनले भनिन्– ‘आजसम्म हामीले भविष्यमा भोग्नुपर्ने समस्याहरु नै बुझ्न पाएका थिएनौं । अहिले खास जीवन र समाज बुझ्न पायौं ।’

भक्तपुर सानोठिमीकी २० वर्षीया सगुन लामिछानेले समाज बुझ्दै गएपछि अब आफै केही समाज सेवाको काम गर्ने योजना बनाइरहेकी छन् । ‘समाजमा धेरै समस्याहरु छन् । समाज सेवा गर्ने मानिसहरु कम छन्’– उनले भनिन्– ‘अब पढाइ सकेपछि केही सेवामूलक कामको शुरुवात गर्ने लक्ष लिएको छु ।’ चाँगुनारायण नगरपालिका–८ ताहाथली भक्तपुरकी २० वर्षीया सविना कार्कीले पहिलोपटक घर छोड्नुपर्दा अनौठो महसुस गरिन् । कलेज जाने पढ्ने मात्रै सोचिरहेकी कार्कीले समाज सेवा सिक्न अभ्यास नै गर्नुपर्छ भन्ने सोचेकी थिइनन् । ‘समाज सेवामा आइपर्ने कठिनाइहरु अहिलेदेखि नै सिक्नुपर्ने रहेछ’– उनले भनिन्– ‘यो जीवनकै महत्वपूर्ण सिकाइ भइरहेको छ ।’

धुलीखेल–४ काभ्रेका २१ वर्षीय सुशान्त घिमिरे घरमा हुँदा अबेरसम्म सुत्थे, आफै भाँडा माझ्नुपर्दैनथ्यो । अहिले समाज सेवा सिक्न ग्रामीण क्षेत्रमा पुगेपछि बिहानै उठेर काममा लाग्नुपर्छ ।

‘भाँडा आफै माझ्नुपर्छ, बस्ने, सुत्ने ठाउँ भने जस्तो छैन’– उनले भने– ‘यसले समाजमा मानिसहरुको जीवन कठिन पनि छ भन्ने थाहा भएको छ । भोलि जीवनमा यस्ता समस्या पनि आउन सक्छन् भन्ने सिकाइ भएको छ ।’


चाँगुनारायण दुवाकोट भक्तपुरकी २१ वर्षीया सविना प्रधानाङगले पहिलोपटक घरबाहिर निस्कदा शुरुमा अनौठो महसुस गरिन् । काम नै थालेपछि भने उनले घरबाहिरको संसार बुझन् पाइन् । ‘आजसम्म घरबाहिरको समाज नै थाहा थिएन । गाउँ बस्तीको जीवनशैली थाहा थिएन’– उनले भनिन्– ‘वास्तविक समाज बुझ्ने अवसर मिलेको छ । यसले केही काम गर्ने ऊर्जा मिलेको छ ।’

वनेपा–११ भैसेपाटी काभ्रेका २० वर्षीय सिर्जन धौगोडाले समाज बुझ्दै गएपछि अब आफ्नै गाउँमा रहेको क्लवलाई समाज सेवामा समर्पित गर्ने योजना बनाएका छन् । ‘स्वयंसेवीरुपमा काम गर्ने अवसर पाएपछि समाज बुझ्न सहयोग मिल्यो । यसले समाज सेवा गर्न प्रेरणा मिलेको छ’– उनले भने– ‘अब पढाइपछि गाउँमै गएर केही नयाँ स्वयंसेवी काम थाल्छु ।’

सामाजिक कार्य गरेर सिकिने विषय भएकाले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै व्यावहारिक अभ्यासमा जोड दिने गरिएको शिक्षिका नानी थापाले बताइन् । ‘सामाजिक काम गरिरहेका संघसंस्थाहरुसँग भेटघाट गरी कसरी यस्तो काम गर्न सकिन्छ भन्नेबारे सिकिरहेका छन्’– उनले भनिन्– ‘समाज कस्तो छ भन्ने बुझ्न विद्यार्थीहरु निकै उत्सुक छन् । शहरमा सुविधासम्पन्न अवस्थामा बसेका विद्यार्थीहरुले ग्रामीण भेगमा पुगेर वास्तविक समाज बुझेका छन् ।’ सामाजिक कार्यको पढाइमा अहिले युवा पुस्ताको आकर्षण बढेको र सोअनुसार सिक्न पनि खोजिरहेको उनले बताइन् । फिल्डमा कलेजका सामाजिक कार्य विभागका इञ्चार्ज कमिनिका न्याइच्याइ, फिल्ड निर्देशक सुन्दर श्रेष्ठ, शिक्षिका सुनिता गैसे र सुशीला ग्वाचाले विद्यार्थीहरुलाई कसरी सामाजिक काम गर्ने भन्नेबारे मार्गनिर्देश गरेको फिल्ड क्याम्प संयोजक सुजिता श्रेष्ठले बताइन् ।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top