Free songs
Home / सम्पादकीय / भ्रष्टाचार नियन्त्रण गर्न बलियो संयन्त्र आवश्यक

भ्रष्टाचार नियन्त्रण गर्न बलियो संयन्त्र आवश्यक

ट्रान्सपरेन्सी इन्टरनेशनलले भर्खरै सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक’ अनुसार नेपालमा भ्रष्टाचार व्याप्त छ र यो अझै घट्न सकेको छैन। ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका एक सय असी देशको भ्रष्टाचार सूचकांक प्रकाशित गर्दा नेपाल एक यस चौविसौं स्थानमा परेको छ। गत वर्ष नेपाल एकसय बाइसौं स्थानमा रहेकोमा दुई देशले आफ्नो स्थितिमा सुधार गर्दा नेपालले यो स्थान पाएको हो। यसले नेपालमा भ्रष्टाचारको अवस्था भयावह देखाउँछ। सुशासन र पारदर्शिताका कुरा धेरै भए पनि नेपाली समाज, राजनीति र राज्य संयन्त्र भ्रष्टाचारबाट जकडिएको प्रष्ट भएको छ।

भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले गत वर्ष झैं यस वर्ष पनि एक सय पूर्णाङ्कमा ३१ अंक ल्याएको छ। ट्रान्सपरेन्सीको प्रतिवेदनअनुसार नेपालमा सुशासनका दृष्टिले कुनै प्रगति हुन नसकेको अवस्था छ। लामो राजनीतिक द्वन्द्व र अस्थिरताबाट गुज्रिएको हाम्रो मुलुक दुई तिहाई बहुमत प्राप्त सरकार गठन भएपछि पनि पुराना विकृतिहरुमा चुर्लुम्म डुबेको देखिनु दुःखद कुरो हो। विगतको तुलनामा केही सुधारका संकेतहरु देखिनुपर्ने हो, तर त्यस्तो संकेत देखिन सकेको छैन।

संघ, प्रदेश र स्थानीय तहको निर्वाचन र तिनै तहमा नयाँ सरकार गठनपछि पुरानै गलत प्रवृत्तिले निरन्तरता पाइरहे भने विकास र समृद्धिको राष्ट्रिय लक्ष पूरा गर्न सकिने छैन। प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने कुरा पटक–पटक गरे पनि भ्रष्टाचार घट्न नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले प्रष्ट पारेको छ। राजनीतिकर्मी र कर्मचारी सबैभन्दा बढी भ्रष्ट भएको रिपोर्ट आउनुलाई अझ गम्भीररुपमा लिन जरुरी छ। सबैभन्दा बढी जिम्मेवार र इमानदार बन्नुपर्ने तप्का नै सबैभन्दा भ्रष्ट भयो भने विकास, समृद्धि र सुशासन प्राप्त हुने आशा गर्न सकिन्न। अहिले त्यही अवस्था देखिएको छ। यसले नेकपा नेतृत्वको दुई तिहाई मत प्राप्त सरकार र दलमाथि नै प्रश्नचिन्हहरु उठ्नेछन्।

प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया र सबैभन्दा कम भ्रष्टाचार हुनेमा डेनमार्क रहेका छन्। दक्षिण एशियामा अफगानिस्तानको सबैभन्दा खराब हालत देखिन्छ। गरिवी र अभावमा जकडिएका, युद्ध र हिंसाले आक्रान्त बनेका, राज्यका अंगहरु भ्रष्टाचारले ग्रसित भएका मुलुकहरु सुशासनको सूचकांकमा कमजोर देखिएका छन्। यसलाई त्यति बढी अस्वाभाविक मान्नुहुँदैन। तर नेपालजस्तो राजनीतिक स्थिरताको बाटोमा अगाडि बढेको, आर्थिक समृद्धि र विकासलाई मूल एजेन्डा बनाएको मुलुकमा सुशासन खस्किएको प्रतिवेदन आउनुले राम्रो भविष्यको संकेत गर्दैन। यसलाई जिम्मेवार तहबाट गम्भीरतापूर्वक लिइनुपर्छ र आउँदा दिनमा कमजोरी सच्याएर जान सक्नुपर्छ।

नेपालमा नीति निर्माण तहमा नै भ्रष्टाचार हुँदै आइरहेको छ। यो क्रम अहिले पनि नरोकिनु ठूलो बिडम्बना हो। ठूला–ठूला नेताहरु तिनका छोराछोरी, नातागोता र आफन्तजन नै भ्रष्टाचारमा सरिक भएका समाचारहरु आइरहेका छन्। भ्रष्टाचार रोक्नुपर्ने राजनीतिक नेतृत्व आफै भ्रष्ट भयो भने सुशासन हराएर जान्छ। कर्मचारीतन्त्र र न्यायालयमा समेत ठूलो समस्या देखिएको छ। अहिले धेरै ठाउँमा विचौलियातन्त्र हावी छ।

नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने संस्था र कानुन नै नभएको होइन। भ्रष्टाचार नियन्त्रण गर्ने संस्था आफै भ्रष्टाचारबाट ग्रसित भएपछि कसरी सुशासन कायम हुनसक्छ ? कानुन कमजोर छ, भएको कानुनलाई अझ कमजोर बनाइएको छ। विगतमा न्यायालय कतिसम्म विवादित भयो र न्यायमूर्तिहरुले के कस्ता चरित्र देखाए, त्यो पनि सार्वजनिक भइसकेको छ। समग्रमा भन्नुपर्दा भ्रष्टाचार मुलुकको साझा शत्रु हो। यसलाई नियन्त्रण गर्न बलियो र स्वतन्त्र संयन्त्र आवश्यक छ। ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनबाट पाठ सिक्न सक्नुपर्छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top